तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टेलर स्वीफ्टले पुरुषको भेषमा बनाइन् नयाँ भिडिओ
आफ्नो नयाँ गीतको म्यूजिक भिडिओमा टेलर स्वीफ्टले सिगार पिउने र वयस्क मनोरञ्जन स्थलहरू चहार्ने पुरुषको भूमिका खेलेकी छन्।
'द म्यान' अर्थात पुरुष शीर्षकको सो गीत उनको सातौँ एल्बम 'लभर'मा समावेश छ जुन उनले गत वर्ष 'बिग मशिन' कम्पनीसँगको सम्झौता तोडेपछिको पहिलो एल्बम हो।
सङ्गीत उद्योगमा रहेका पुरुषहरूमाथि भिडिओ लक्षित छ।
विशेषगरी गत वर्ष स्वीफ्टका सबै पुराना गीतहरूको अधिकार किनेका स्कूटर ब्राउनतर्फ उक्त भिडिओ लक्षित भएको बताइएको छ।
सो भिडिओको निर्देशक, निर्माता र मालिक स्वीफ्ट भएको कुरामा जोड दिइएको छ।
भिडिओमा प्रमुख पात्र भूमिगत रेलको भित्तामा शौचालय गर्न रोकिन्छ। त्यो भित्तामा 'बिग मशिन'ले निर्माण गरेका स्वीफ्टका पुराना छ अल्बमका नामहरू रङ्ग्याएको देखिन्छ।
सो भित्तामा एउटा पोस्टर टाँसिएको छ जसमा लेखिएको छ: "हराइरहेको छ। फेला परेमा टेलर स्वीफ्टलाई फिर्ता गर्नु होला।" त्योसँगै "स्कूटर निषेध" संकेत छ।
गएको जुनमा ३० करोड अमेरिकी डलरमा 'बिग मशिन' किनेपछि ब्राउनमाथि आफ्नो साङ्गीतिक इतिहासलाई ध्वस्त पार्न खोजेको स्वीफ्टले आरोप लगाउँदै आएकी छन्।
गएको नोभेम्बरमा स्वीफ्टले 'ब्राउन' र 'बिग मशिन'का संस्थापक स्कट बोर्चेटाले अमेरिकन म्यूजिक अवार्ड्समा आफ्ना पुराना गीतहरूको रिमिक्स गाउन रोक्न खोजेको दाबी गरेकी थिइन्।
उनीहरूले त्यो दाबी अस्वीकार गरेका थिए र स्वीफ्टले रिमिक्स गाएकी थिइन्।
ब्राउनले आफ्नो परिवारलाई धम्की आएको भन्दै स्वीफ्टसँग आफूविरुद्ध नबोल्न अनुरोध गरेका थिए।
अमेरिकन म्यूजिक अवार्ड्समा गीत गाउँदा उनले आफ्ना पुराना अल्बमहरूको नाम लेखिएको जेलमा लाउने जस्तो सेतो शर्ट लगाएकी थिइन्।
सो अवार्ड्समा उनले छवटा पुरस्कार हात पारेकी थिइन्।
बिलबोर्ड अवार्ड्समा दशकको गायक पुरस्कार लिएपछि उनले ब्राउनको नामै लिएर उनले आफूमाथि भएको व्यवहार पुरुष सर्वेसर्वा हुने भन्ने घातक धारणाको परिभाषा रहेको बताएकी थिइन्।
सो गीतमा भएका शब्दहरू यस्ता छन्:
म सकेजति छिटो कुद्नबाट थाकेकी छु,
सोचिरहेछु म पुरुष भए छिटो पुग्न सक्थेँ कि,
र म उनीहरू ममाथि जाइलागेको देखेर दिक्क छु,
किनभने म पुरुष भएको भए म पुरुष हुन्थेँ।