नेपाली सेनाले टुँडिखेलमा कार्यक्रम गर्दा 'दिउँसो दुई घण्टाजति सबै उडान प्रभावित हुने'

Published

महाशिवरात्रि र सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गर्न लागेको सैनिक हवाई प्रस्तुतिका कारण शुक्रवार केही समय आन्तरिक र बाह्य उडानहरू प्रभावित हुने नागरिक उड्डयन अधिकारीहरूले बताएका छन्।

यसबारे आफूहरूले नेपाली सेनासँग छलफल गरेको र शुक्रबार अपराह्ण कम्तीमा दुई घण्टासम्म विमानस्थलको सेवा प्रभावित हुन सक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक निर्देशकले बीबीसीलाई बताए।

बर्सेनि महाशिवरात्रिका दिन नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाउँछ। त्यस क्रममा टुँडिखेलमा हवाई प्रदर्शनसहित विभिन्न झाँकी प्रस्तुत गरिन्छ।

यसै साता उक्त प्रदर्शनीको तयारी गर्दा अन्तर्राष्ट्रिय विमानस्थलको सेवा ठप्प भएपछि त्यसलाई लिएर सेनाको आलोचना भएको थियो।

कस्तो प्रभाव पर्छ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अपरेशन निर्देशक सुरेशमान सिंहका अनुसार सेना दिवसमा नेपाली सेनाले गर्ने हवाई प्रदर्शनका कारण शुक्रबार दिउँसो उडानहरू प्रभावित हुने बीबीसीलाई बताए।

उनले भने, "उहाँहरूको कार्यक्रम भनेको कमसेकम पौने दुई घण्टादेखि दुई घण्टासम्म चल्छ। हामीलाई चाहिने अनुसारको मौसम अहिले छैन, सम्भवत: शुक्रवार पनि यस्तै हुन्छ होला। त्यही भएर बाधा पर्छ, उडानमा विलम्ब हुन्छ।"

उनले उक्त कार्यक्रमका कारण विमानस्थल बन्द नभए पनि अन्तर्राष्ट्रिय र घरेलु उडानहरू प्रभावित हुने बताए।

"उहाँहरू(नेपाली सेना) को जहाजको अवस्थितिअनुसार अरू जहाजको आवतजावत निर्धारण हुन्छ। त्यही भएर विमानहरू उड्न वा अवतरण गर्न सक्छन् कि सक्दैनन् भनेर म अहिल्यै भन्न सक्दिनँ," सिंहले भने।

उनका अनुसार पाँच किलोमिटरभन्दा बढी दुरीसम्म देखिने स्थिति अर्थात् 'भिजिबिलिटी' भए कम समस्या हुनछ। तर बिहीवारसम्म ३.५ किलोमिटरभन्दा बढी भिजिबिलिटी थिएन।

सैनिक दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन्।

प्रधानमन्त्री तथा अन्य उच्चपदस्थ अधिकारीहरू पनि उक्त कार्यक्रममा सहभागी हुने गरेका छन्।

कार्यक्रममा नेपाली सेनाले आफ्ना विभिन्न झाँकी र विपद् व्यवस्थापन तथा उद्दार, शान्ति सेना र राष्ट्रिय सुरक्षासँग जोडिएका प्रस्तुतिहरू देखाउने बताइएको छ।

के भन्छ नेपाली सेना?

नेपाली सेनाले सैनिक दिवसमा आयोजना हुने कार्यक्रमका कारण विमानस्थलको सेवा प्रवाह प्रभावित नहोस् भनेर नागरिक उड्डयन अधिकारीहरूसँग सल्लाह गरेको प्रतिक्रिया दिएको छ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे भन्छन्, "समारोहमा प्रयोग गरिने तीनवटा हेलिकोप्टर हामीले हाम्रो लगनखेलस्थित राजदल ब्यारेकमा राखेका छौँ। त्यसले विमानस्थलको सेवालाई प्रभावित पार्दैन।"

"यदी भिजिबिलिटी तीन किलोमिटरभन्दा कम भयो भने तीनवटा स्काई ट्रक नउडाउने भनेर हामीले भनेका छौँ। हाम्रो कार्यक्रमका कारण आधा घण्टाजति अन्तराष्ट्रिय विमानस्थलको उडान अवतरण प्रभावित हुन्छ कि भन्ने ठानेका छौँ।"

यसअघि सेनाले मङ्गलवार बिहान गरेको अभ्यासका कारण झन्डै तीन दर्जन आन्तरिक उडानहरू रद्द भएका र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विवरणहरू आएका थिए।

उडानको चाप कति?

सन् २०१९ को तथ्याङ्कअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै औसतमा दैनिक ८९ वटा अन्तराष्ट्रिय उडान अवतरण गर्छन् भने त्यही सङ्ख्यामा अन्तर्राष्ट्रिय उडान गर्ने विमान बाहिरिन्छन्।

आन्तरिक टर्मिनलबाट दैनिक २५० भन्दा बढी उडान र अवतरण हुने अधिकारीहरू बताउँछन्।

सन् २०१९ मा दैनिक अन्तराष्ट्रिय उडान भर्नेको औसत सङ्ख्या ११,३८३ र आन्तरिक उडान प्रयोग गर्नेको सङ्ख्या ८,७३५ रहेको अधिकारीहरू बताउँछन्।

यो पनि पढ्नुहोस्