तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'बुद्धको इतिहाससँग जोडिएको' प्राचीन पोखरीमा वडा कार्यालय बनाइँदै
- Author, माधव नेपाल
- Role, बीबीसी न्यूज नेपाली, बुटवल
- Published
पश्चिम नेपलाको रूपन्देहीम जिल्लामा गौतम बुद्धको इतिहाससँग जोडिएको मानिने एउटा प्राचीन पोखरी मासेर तिलोत्तमा नगरपालिकाले धमाधम भवन निर्माणको काम अगाडि बढाएको छ।
तत्कालीन मक्रहर गाउँ विकास समिति वडा नं ६ मा रहेको उक्त पोखरीमा अहिले नगरपालिकाको वडा नं ११ मा पर्छ।
पोखरी रहेको स्थानमा वडा कार्यालय बनाउन सुरु गरिएको वडाध्यक्ष मुक्तिराम चौधरीले बताए।
वडा कार्यालय बनाउन पोखरीको झन्डै आधा भागमा कङ्क्रिटको ढलान गरिसकिएको छ। पिलर ठड्याउने बनाउने तयारी पनि हुँदैछ।
वडाध्यक्ष चौधरीले भने, "पोखरी मास्न त मन थिएन, तर त्यो ठाउँ सबैको पायक पर्ने भएकोले पोखरीमै भवन बनाउने निर्णय गरिएको हो।"
उक्त पोखरी एक बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको थियो।
बाँकी पोखरीलाई नमुना बनाउने
पोखरीको संरक्षण गर्ने भन्दै नगरपालिकाले गत वर्ष मात्र वरिपरि पर्खालले घेरेको थियो ।
नगरप्रमुख वासुदेव घिमिरे भन्छन्, "पोखरी मास्ने योजना भएको भए नगरपालिकाले लाखौँ रुपैयाँ खर्च गरेर पर्खाल बनाउने थिएन। तर सबै वडावासीलाई पायक पर्ने ठाउँ भएकोले वडा कार्यालय त्यहीँ बनाउने निर्णय गर्यौँ।"
"भवन बनाएर बचेको पोखरीको भागलाई नमुना किसिमले संरक्षण गर्नेछौँ।"
तर उनले पोखरी मासेर कस्तो नमुना पोखरी बनाउने भन्ने बारे केही खुलाएनन्।
वडाध्यक्ष चौधरीका अनुसार पानीको सतहमुनिबाट उठाइने पिलरमा भवन बनाइनेछ भने भवनसम्म पुग्न त्यहाँ एक पक्की पुल पनि बनाइनेछ।
'मायादेवीको बास'
उक्त पोखरी कहिले र कसले बनाएको हो भन्ने विषयमा कुनै अभिलेख छैन।
पोखरीनजिकै कुमारवर्ती नाम गरेको एउटा मन्दिर छ।
कपिलवस्तुको तिलौराकोटबाट माइत मानिने रूपन्देहीको देवदह जाँदा सिद्धार्थ गौतमकी आमा मायादेवी कुमारवर्तीमा बास बसेको किंवदन्ती अहिले पनि प्रचलित छ।
मन्दिरमा मायादेवीको मूर्ति र एउटा प्राचीन इनार छन्।
'एक गाउँ, एक पोखरी'को नारा दिँदै काम अगाडि बढाइरहेको प्रदेश नं ५ को सरकारले विद्यमान पोखरी मास्ने तिलोत्तमा नगरपालिकाको निर्णयबारे कुनै प्रतिक्रिया दिएको छैन।