प्रतिनिधि सभाको सभामुख चयन गर्न निर्वाचन कार्यक्रम सार्वजनिक

Published

माघ १२ गते प्रतिनिधि सभाका सभामुख चयन गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ।

सङ्घीय संसद्‌ सचिवालयद्वारा सोमवार जारी निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते प्रतिनिधि सभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गराउनुपर्ने हुन्छ।

निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताक्रम अनुसार माघ ७ गते नै सूची प्रकाशन गरिने संसद्‌ सचिवालयले जनाएको छ।

त्यसपछि माघ १२ गते सभामुख पदका लागि निर्वाचन गरिने कार्यक्रम तय गरिएको छ।

सूचना

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्वाचनको मिति र समय निर्धारण गरेपछि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको संसद्‌ सचिवालयले जनाएको छ।

यसअघि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार तय नगरेका कारण रिक्त सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक हुन सकेको थिएन।

गत पुसको पहिलो साता बसेको प्रतिनिधि सभाको बैठक त्यसयता सूचनाकै भरमा सर्दै आएको थियो।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न नसक्दा संसद् बैठक प्रभावित हुँदै आएको थियो।

नेकपाको सचिवालय बैठकले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय आइतवार गरेसँगै निर्वाचन प्रक्रिया अगाडि बढेको हो।

सभामुख र उप-सभामुख फरकफरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण निर्वाचन प्रक्रिया अगाडि बढाउन उप-सभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने थियो।

उपसभामुखबाट राजनीनामा दिनुपूर्व शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभामा सम्बोधन गरेकी थिइन्।

सम्बोधनका क्रममा उनले सभामुख चनयका लागि मार्ग प्रसस्त गर्न आफू उपसभामुखबाट हट्ने निर्णयमा पुगेको घोषणा गरिन्।

उनले "सभामुख चयनको ठोस आधार प्रस्तुत भएपछि राजीनामा दिने कुरा अभिलेखित गराउन" सम्बोधन गरेको उल्लेख गरेकी छिन्।