कांग्रेस जिल्ला सभापतिहरू भन्छन्, ‘देउवाले विधिविधान मिचे’

Published

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका असन्तुष्ट समूहका जिल्ला सभापतिहरूले पार्टीका सभापति शेरबहादुर देउवाले विधिविधान मिचेको आरोप लगाएका छन्।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आव्हान गरेको भनिएको जिल्ला सभापतिहरूको भेलामा झण्डै ४५ जिल्लाका पार्टी सभापतिहरूको सहभागिता रहेको बताइएको छ।

सानेपास्थित पार्टीको मुख्यालयमा डाकिएको भेलामा भने देउवा निकट ठानिएका जिल्ला सभापतिहरू उपस्थित रहेनन्।

पार्टीको केन्द्रीय कार्यसमितिले गत साता बहुमतका आधारमा पार्टीको १४ औँ महाधिवेशन आगामी २०७७ फागुनमा गर्ने निर्णय गरेको थियो।

पार्टी सभापति देउवाले भने आफूले बाध्य भएर बहुमतीय प्रणालीबाट महाधिवेशनबारे निर्णय गर्नुपरेको भन्दै पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताउँदै आएका छन्।

उनले पार्टीलाई अनिर्णयको बन्दी बन्न नदिनका लागि आफूले त्यस्तो निर्णय गर्नुपरेको बताएका छन्।

दुईदिन चल्ने उक्त भेलाले पार्टीलाई सच्चिनका लागि मौका तथा दबाव दिने सभापतिहरूले बताए।

उनीहरूसँगको कुराकानीका आधारमा कमल परियारले तयार पारेको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि