तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लोकल कुखुराको झोल र भातको व्यापारबाट काँचुली फेरेको धानखोलाका मजदुर बस्तीको कथा
- Author, माधव नेपाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
बाटो खनेर जीविकोपार्जन गर्न दशकौँअघि तराई झरेका कामदारहरूले पानी पर्दा ओत लाग्न र रातमा सुत्नका लागि बनाएका साना झुपडीहरूको एक बस्ती थियो धानखोला कुनैबेला।
गैँती र बेल्चा खियाएर तिनीहरूले बनाएको महेन्द्र राजमार्ग अर्थात् पूर्व पश्चिम राजमार्ग जसरी अहिले पक्की र फराकिलो बन्दै गएको छ धानखोलाका झुपडीहरूले पनि काँचुली फेर्दै पक्की र अग्ला हुँदै गएका छन्।
कुनैबेलाका ती मजदुरहरू आर्थिक रूपमा सबल बन्दै जानुको श्रेय जान्छ राजमार्ग हुँदै यात्रा गर्नेहरूलाई पुर्याइएको विशेष सेवा- यहाँ पाइन्छ धेरै नेपालीहरूको प्रिय खाना लोकल कुखुराको झोल र लोकल चामलको भात।
राजमार्ग हुदै यात्रा गर्नेहरूका लागि धानखोला लोकप्रिय विश्रामको थलोमा परिणत भइसकेको छ धानखोला।
जीविकोपार्जनका लागि पूर्व-पश्चिम राजमार्ग बनाउन तराई झरेका कामदारहरूले पानी पर्दा ओत लाग्न र रातमा सुत्नका लागि बनाएका साना झुपडी धेरै नेपालीहरूको प्रिय खाना लोकल कुखुराको झोल र लोकल चामलको भात।
बस्ती भन्दा केही तल रङसिङ खोला त छ।
धान कतै देखिँदैन न देखिन्छ धानफल्ने खेत नै। तर बस्तीको नाम हो धानखोला।
पूर्व-पश्चिम राजमार्गको कपिलवस्तु र दाङ जिल्लाको सीमामा पर्ने धानखोला त्यही राजमार्ग बनाउन विभिन्न भेगबाट जम्मा भएका कामदारहरूले बसालेको एउटा सानो बस्ती हो।
झुपडीबाट महल
उमेरले सात दशक पुग्नै लागेका कामी तामाङले पुरानो धानखोला सम्झँदै भने, "यहाँ हामी आउँदा केही थिएन। हामी बाटो खन्नेहरूले नै झुपडी बनाएर बस्न सुरु गर्यौँ। बस्दा बस्दा यतैको भयौं, घरतिर फर्किएनौँ। अब त बूढो भईयो यतै त मर्ने होला नी।"
तामाङ गोर्खाबाट त्रिशुली तरेर पोखराको बाटो हुँदै बाटो खन्ने काम खोज्दै यहाँ आएका थिए।
"म आउँदा त मुग्लिनको बाटो नै थिएन, नारायणघाटमा पुल पनि थिएन पैदल हिँड्दै पोखरा पुगेर पोखरा हुँदै यहाँ आएको हो।"
सानो झुपडीबाट अहिले दुई तले पक्की घर बनाएर होटल चलाएका तामाङले यतै घरजम गरे र उनलाई साथ दिन आएकी थिइन्, माया तामाङ ।
उनी भन्छिन्, "एक दुई पटक यहाँबाट पतिको घर गोर्खा गएका थियौँ तर सासु ससुरा बितेपछि यतै फर्कियौँ।"
लोकल कुखुराको स्वाद
३५ वर्षीय कृष्ण लिम्बु यहीँ जन्मिएका हुन् तर उनका बुवा भने बाटो खन्ने काम खोज्दै पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट यहाँ झरेका थिए ।
लिम्बु धानखोलालाई पहिलेको परिचयले भन्दा अहिलेको परिचयले बढी चिनाउन चाहन्छन्।
उनी भन्छन् "यहाँको विषेशता भनेको लोकल कुखुराको मासु हो त्यही मासु खान दिनको ५ सय देखि १ हजार यात्रीहरू यहाँ रोकिन्छन्।"
धानखोलेहरू आफैँ लोकल कुखुरा पाल्छन्।
वरपरका गाउँहरूबाट लोकल कुखुरा बिक्री गर्ने बजार समेत बनेको छ, धानखोला।
राजमार्गको किनारमा रहेको धानखोलामा प्राय यस्तै कामदारहरूका करिब ३० वटा घर छन् र ती सबै घरमा प्राय: होटल नै चलेका छन् अहिले। जुन होटलहरू यो बाटो हुँदै यात्रा गर्नेहरूका लागि खानपीनको मुख्य गन्तव्य बनेका छन्।
पसीनाको कर्म
यी कामदार भने अलग अलग जिल्लाबाट यहाँ आएका हुन्। कृष्ण लिम्बुका अनुसार ताप्लेजुङ, गोर्खा, सिन्धुपाल्चोकदेखि रोल्पा र प्युठानका मानिसहरू यहाँ छन्।
हिजोका कामदार धेरैजसो आज होटलका मालिक भएका छन्।
पूर्व पश्चिम राजमार्गको यो खण्ड २०२९ सालमा बनाउन सुरु गरिएको थियो र २०४१ सालमा पश्चिमको कोहलपुरसँग जोडिँदै गर्दा राजमार्ग किनारमा यस्ता धेरै बस्ती पनि विकास भएका छन्।
तर आफ्नै पसिना बगाएर बनाएको बाटोको लाभ भने धानखोलाबासीले जस्तो अरूले विरलै लिएका होलान्।
नेपालका कैयौँ ठाउँमा जस्तै जग्गाको स्वामित्व भने धानखोलामा पनि समस्याका रूपमा रहेको बताइन्छ।