तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जेएनयूमा भएको झडपमा विद्यार्थीहरू घाइते, नेपाली विद्यार्थी 'सुरक्षित'
भारतको राजधानी दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा मुखुन्डो लगाएका केही मानिसले विद्यार्थीहरूमाथि आक्रमण गरेपछि प्रहरी प्रवेश गरेको छ।
आइतवार राति भएको घटनामा झन्डै २० जना विद्यार्थी घाइते भएको बताइएको छ।
जेएनयूमा नेपाल तथा अन्य दक्षिण एशियाली मुलुकका विद्यार्थीहरू पनि अध्ययनरत छन्।
त्यहाँ कानुन तथा सुशासन विषयमा विद्यावारिधि गरिरहेका नेपालका अम्बिकाप्रसाद जोशीका अनुसार त्यहाँ भएका डेढ दर्जन नेपालीहरूको अहिलेसम्म सकुशल छन्।
"हाम्रो एउटा समूह छ र हामी एकअर्काको सम्पर्कमा छौँ। अहिलेको अवस्था ठिक छ, तर कति बेला के हुन्छ भन्ने कुरा यसै भन्न सकिने अवस्था भने छैन," जोशीले भने।
तर दिल्लीस्थित नेपाली दूतावासले आफूसँग नेपाली विद्यार्थीबारे कुनै सूचना नभएको बीबीसी नेपाली न्यूजलाई बताएको छ।
भारतीय टेलिभिजनमा देखाइएको दृश्यमा मुख छोपेका मानिसहरूको समूहले लट्ठी प्रहार गरेको र विद्यार्थी सङ्गठणका नेताको टाउकोबाट रगत बगिरहेको देखिन्छ।
आक्रमणको कारण थाहा हुन सकेको छैन।
भारतमा केही हप्ताअघि जारी गरिएको विवादास्पद नागरिकता कानुनको विरोधमा उक्त विश्वविद्यालयका विद्यार्थीहरू सक्रिय रूपमा सहभागी हुँदै आएका छन्।
विश्वविद्यालयको छात्रावासको शुल्क वृद्धि भएपछि त्यहाँ हिंसात्मक झडप पनि भएको थियो।
विद्यार्थी सङ्गठनले सत्तारूढ भारतीय जनता पार्टीको भातृसङ्गठन अखिल भारतीय विद्यार्थी परिषद्को संलग्न भएको आरोप लगाएको छ।
तर अखिल भारतीय विद्यार्थी परिषद्ले आफूहरूमाथि वामपन्थी समूहले आक्रमण गरेको र त्यस क्रममा केही मानिस घाइते भएको दाबी गरेको छ।
विश्वविद्यालयका एक कर्मचारीका अनुसार आइतबार राति लट्ठी र ढुङ्गा बोकेका मानिसहरूले विद्यार्थी तथा शिक्षकहरूमाथि आक्रमण गरेका थिए।
"ती ढुङ्गा साना थिएनन्। ती ठूला ढुङ्गाले हाम्रो टाउको फुटाउन सक्थे," प्राध्यापक अतुल सूदले एनडीटीभीलाई भने।
"म छेउमा लडेँ। केही बेरपछि बाहिर निस्कँदा गाडीहरू पूर्ण रूपमा ध्वस्त भएको देखेँ। ध्वस्त हुनेमा मेरो गाडी पनि थियो।"
सूदका अनुसार आक्रमण हुँदा विश्वविद्यालयमा झन्डै ५० जना शिक्षक र २०० विद्यार्थीहरू एउटा भेलामा थिए।
उनका अनुसार विश्वविद्यालयमा पहिला त्यस्तो किसिमको आक्रमण कहिल्यै भएको थिएन।
भारतका शिक्षामन्त्री रमेश पोखरियाल निशङ्कले उक्त घटना "अत्यधिक चिन्ताजनक र दुर्भाग्यपूर्ण" भएको भन्दै त्यसको निन्दा गरेका छन्।
उनले विद्यार्थीहरूलाई विश्वविद्यालयको गरिमा कायम राख्न र शान्ति कायम गर्न आह्वान गरेका गरेका छन्।
अर्थमन्त्री निर्मला सीतारमणले हिंसाको दृश्यलाई "डरलाग्दो" भनेकी छन्। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले आक्रमणलाई "जघन्य कार्य" भन्दै त्यो प्रजातन्त्रका लागि लाजमर्दो घट्न रहेको टिप्पणी गरेकी छन्।
स्ट्यूडन्ट फेडरेशन अफ इन्डियाले आक्रमणको विरोधमा प्रदर्शन गर्ने जनाएको छ।
प्रहरीले विश्वविद्यालयले सुरक्षाका लागि सहयोग मागेको बताएको छ।
"विद्यार्थीको दुईवटा समूहबीच झडप भएको हामीलाई बताइएको थियो," प्रहरीको विज्ञप्तिमा भनिएको छ।
"हामीले जेएनयू प्रशासनबाट लिखित अनुरोध प्राप्त गरेपछि शान्ति कायम गर्न विश्वविद्यालय हातामा प्रवेश गरेका थियौँ।"