यसकारण 'दुर्लभ' हो आजको सूर्यग्रहण

Published

नेपालबाट पनि बिहीवार खण्डग्रास सूर्यग्रहण देखिने खगोलशास्त्रीहरूले बताएका छन्।

तर बिहीवारको सूर्यग्रहणको पूर्ण रूप भने नेपालबाट नदेखिने उनीहरूको भनाइ छ।

नेपालीहरूले आंशिक रूपमा मात्र सूर्यग्रहण हेर्न सक्नेछन्।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जर्भेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माका अनुसार बिहीवार बिहान ८:४३ बजे काठमाण्डूबाट सूर्यग्रहण देखिनेछ।

त्यस्तै ८: ३३ बजे महेन्द्रनगरबाट र ८:४८ मिनेटमा भद्रपुरबाट सूर्यग्रहण देखिनेछ।

उनका अनुसार काठमाण्डूमा ११:३३ बजे सूर्यग्रहण सकिनेछ।

उनका अनुसार यो सूर्यग्रहणलाई दुर्लभ खालकै सूर्यग्रहण मान्न सकिन्छ।

यो सूर्यग्रहण किन दुर्लभ हो भन्नेबारे उनले बीबीसीसँग बताएका कारणहरू उनकै शब्दमा -

सूर्यग्रहण र चन्द्रग्रहण दुई खालका हुन्छन्- खग्रास र खण्डग्रास।

खग्रास भनेको पूरै ढाकिने खालको हो भने खण्डग्रास भनेको अलिकति मात्र ढाकिने हो।

यो खण्डग्रास सूर्यग्रहण हो। यसमा चन्द्रमाले सूर्यलाई पूरा नभई आधाजति मात्र ढाक्छ।

वास्तवमै यो सूर्यग्रहण अलि दुर्लभ खालको हो। किनभने यो चुराजस्तो हुन्छ।

यसमा बीचमा केही देखिँदैन र सूर्य सुनको बालाजस्तो देखिन्छ।

त्यसको कारण के हो भने अहिले चन्द्रमा पृथ्वीभन्दा निकै टाढा छ।

त्यसले गर्दा चन्द्रमाले सूर्यलाई पूरै ढाक्न सक्दैन र सुनौलो बालाजस्तो हुन्छ।

यो सूर्यग्रहणलाई हामी पूरै देख्न सक्दैनौँ। काठमाण्डूबाट ३९ प्रतिशत मात्र देख्न सक्छौँ।

खग्रास सूर्यग्रहण चाहिँ ३७५ वर्षपछि मात्र देख्न सकिन्छ। हामीले जीवनकालमा देख्न सक्दैनौँ।

हेर्न हुन्छ कि हुँदैन?

सूर्यग्रहणलाई खुला आँखाले हेर्नु हुँदैन। त्यसो गर्‍यो भने आँखा सधैँका लागि बिग्रिन्छ।

सूर्यलाई सीधै हेर्दा आँखाको कोर्नियामा असर पर्छ। जीवनभरि ज्योति गुम्यो भने फर्किँदैन।

वैज्ञानिकहरूले बताएका विशेष खालका उपकरण वा चस्मा प्रयोग गरेर मात्र हेर्नु हुन्छ।

थालमा पानी राखेर पनि हेर्न मिल्दैन। बजारमा आएका चस्मा पनि वैज्ञानिक परीक्षण नगरिएका हुनाले प्रयोग नगरेकै राम्रो हो।

कुन राशिले हेर्न हुने र नहुने भन्नेको पनि कुनै वैज्ञानिक आधार नभएकाले सुरक्षित हुने गरी यो सूर्यग्रहणलाई जोसुकैले हेर्न हुन्छ।