सागमा सफलता दिलाउने नेपाली खेलाडीलाई बुधवार प्रधानमन्त्रीको प्याकेज

Published

१३ औँ सागको समापन समारोहलाई भिडिओमार्फत सन्देश दिदैँ प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली देशहरूको मित्रता अभिवृद्धि गर्न प्रतियोगिता सफल भएको बताएका छन्।

दशरथ रंगशालामा गरिएको एउटा विशेष समारोहमा नेपाली अधिकारीहरूले सम्बोधन गर्दै पदक जित्ने खेलाडीहरूलाई प्रधानमन्त्रीले बुधवार प्याकेज घोषणा गर्ने जानकारी दिए।

समापन समारोहमा सहभागी देशका खेलाडीहरूले मैदानमा मार्च पास गरेका थिए।

अर्को साग खेलकुद आयोजना गर्ने जिम्मेवारी पाकिस्तानलाई सुम्पिइएको थियो।

प्रधानमन्त्रीको भिडियो सम्बोधन

साग खेलकुदको समापन समारोहमा भिडियो सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले सफलतापूर्वक प्रतियोगिता सम्पन्न भएकोमा खुसी व्यक्त गरेका थिए।

उनले प्रतियोगिता ऐतिहासिक रूपमा सफल भएको भन्दै यसले दक्षिण एशियाली देशहरूबीच खेलकुदको माध्यमबाट मित्रता अभिवृद्धि गरेको बताए।

राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव रमेश सिलवालले प्रधानमन्त्रीले सागमा पदक जित्ने खेलाडीहरूका लागि बुधबार प्याकेजको घोषणा गर्ने बताए।

उनले प्रधानमन्त्रीले खेलाडीहरूको सम्मानमा बुधवार विशेष कार्यक्रम आयोजना गर्ने पनि जानकारी दिए।

अकस्मात् शल्यक्रिया गराउनुपर्ने भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्रीले अस्पतालबाटै सागको उद्घाटन समारोह टेलिभिजनमार्फत हेरेको बताएका थिए।

समापन समारोहमा उपप्रधान तथा रक्षामन्त्रीले प्रमुख अतिथिका हैसियतमा सम्बोधन गर्दै ३५ वर्षअघि नेपालबाट सुरू भएको दक्षिण एशियाली खेलकुद १३ औँ संस्करणसम्म आइपुग्दा नयाँ उचाइमा पुगेको बताए।

नेपाली खेलकुदको इतिहासमै पछिल्लो सागले महत्वपूर्ण उपलब्धि दिलाएको उल्लेख गर्दै उनले यस प्रतियोगिताले सार्क देशहरूबीचको क्षेत्रीय एकतामा विशेष योगदान गरेको उल्लेख गरे।

उनले साग खेलकुदले हालैका वर्षमा हुन नसकेको सार्क शिखर सम्मेलन आयोजना हुने वातावरण बनाएको पनि उल्लेख गरे।

समापन समारोहमा १४औँ साग आयोजनाको जिम्मेवारी पाएको पाकिस्तानको ओलिम्पिक कमिटिका अध्यक्षलाई झण्डा हस्तान्तरण गरिको थियो।

यस्तो छ अन्तिम पदक तालिका

१३ औँ सागमा ७ देशका खेलाडीहरूले २७ वटा प्रतिष्पर्धामा भाग लिएका थिए।

पदक तालिकामा विगतका साग खेलकुद जस्तै भारतकै वर्चस्व रह्यो।

भारतले १७२ स्वर्णसहित ३१० पदक हासिल गरेको थियो।

दोस्रो स्थानमा आयोजक नेपाल रह्यो। जसले पहिलो पटक ५० भन्दा माथिको सङ्ख्यामा स्वर्ण पदक जित्यो।

५१ स्वर्ण सहित नेपालले २०४ वटा पदक जित्ने क्रममा सन् १९८४ मा साग खेलकुद सुरु भए यताकै उत्कृष्ट नतिजा दिलाएको हो।

अन्तिम दिन नेपालले फुटबलमा र बक्सिङमा एक-एक स्वर्ण पदक जितेको छ।

नेपालपछि पदक तालिकामा तेस्रो स्थानमा श्रीलंका रह्यो जसले ४० वटा स्वर्ण पदक सहित २५० वटा पदक जितेको थियो।

पाकिस्तानले ३१ स्वर्ण सहित १३१ र बाङ्ग्लादेशले १९ स्वर्ण सहित १३८ पदक जितेको थियो।

अन्तिममा रहेका दुई टोलीमध्ये माल्दिभ्सले एक स्वर्ण र ३ कास्य पदक जितेको थियो भने भुटानले ७ वटा रजत र १३ वटा कास्यपदक जितेको थियो।