तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रुस ठूला खेलकुद प्रतिस्पर्धाबाट चार वर्षको लागि प्रतिबन्धित
रुसलाई आगामी चार वर्षका लागि सबैजसो ठूला खेलकुद प्रतियोगिताहरू खेल्नबाट प्रतिबन्ध लागेको छ।
वर्ल्ड एन्टी-डोपिङ एजेन्सी, वाडा, को यो प्रतिबन्धपछि रुसले सन् २०२० को टोक्यो ओलिम्पिक्स र सन् २०२२ को फुटबल विश्वकपमा भाग लिन पाउने छैन।
तर खेलाडीहरूले आफूले प्रतिबन्धित पदार्थ प्रयोग नगरेको प्रमाणित गरेमा ओलिम्पिकको जस्तै तटस्थ झन्डा लिएर खेल्न पाउँछन्।
वाडाले स्वीट्जरल्यान्डमा भएको कार्यसमितिको बैठकमा सो निर्णय गरेको हो।
सन् २०१९ को ज्यानुअरीमा रुसको एन्टी-डोपिङ एजेन्सीले वाडालाई प्रदान गरेको तथ्याङ्क गलत भएको प्रमाणित भएपछि त्यस्तो प्रतिबन्ध लागेको हो।
शर्त
वाडालाई उक्त संस्थामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न सन् २०१८ मा ती तथ्याङ्कहरूलाई शर्तस्वरूप मागिएको थियो।
वाडाले रुसलाई त्यस्तो निर्णयमा पुनरावेदन गर्न २१ दिनको म्याद दिएको छ।
वाडाका उपाध्यक्ष लिन्डा हेलेल्यान्डले चार वर्षे प्रतिबन्ध "अझै पर्याप्त" नभएको प्रतिक्रिया दिइन्।
सन् २०१८ को हिउँदे ओलिम्पिकमा १६८ जना रुसी खेलाडीहरूले ओलिम्पिकको झन्डा लिएर खेलेका थिए।
सन् २०१४ को हिउँदे ओलिम्पिकमा राम्रो प्रदर्शन गर्न ठूलो स्तरमा प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा रुसलाई प्रतिबन्ध लगाइएको थियो।