१३औँ दक्षिण एशियाली खेलकुद: नेपाललाई क्रिकेटमा दोस्रो कांस्य पदक

Published

माल्दिभ्सलाई टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउँदै नेपालले पुरुष क्रिकेटमा कांस्य पदक जितेको छ।

नेपालमा आयोजित १३औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत सोमवार कीर्तिपुर मैदानमा भएको खेल नेपालले पाँच विकेटले जितेको हो।

माल्दिभ्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा नौ विकेट गुमाएर ९४ रन बनाएको थियो। नेपालले १६.१ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य प्राप्त गर्‍यो।

शुक्रवार महिला क्रिकेट टोलीले पनि माल्दिभ्सलाई हराएर कांस्य जितेको थियो।

आरिफ शेखको उच्च स्कोर

सानो लक्ष्य पछ्याएको नेपालले पूर्वकप्तान पारस खड्कालाई तीन रनमै गुमाएको थियो।

तर कप्तान ज्ञानेन्द्र मल्ल र आरिफ शेखले ३९ रनको साझेदारी गरेर टोलीलाई जिततर्फ अगाडि बढाए।

मल्ल २२ रनमा आउट भए भने शेखले २८ बलमा ३२ रन बनाए।

दीपेन्द्रसिंह ऐरी (२ रन) र विनोद भण्डारी (१२ रन) लामो समय टिक्न सकेनन्।

रोहित पौडेल (१५ रन) र पवन सर्राफ (१० रन) ले नटआउट रहँदै नेपाललाई विजयी बनाए।

माल्दिभ्सका उमर अदम तीन विकेट लिएर सबैभन्दा सफल बलर भए।

राजवंशीको प्रभावशाली बलिङ

नेपालले टस जितेर बलिङ रोजेपछि माल्दिभ्सले राम्रो स्कोर बनाउन सकेन।

उसले चार ओभरसम्म बिनाविकेट २१ रन बनाएको थियो। तर त्यसपछि लगातार विकेट गुमाउन पुग्यो।

ललितनारायण राजवंशीले गरेको आठौँ र पारस खड्काले गरेको नवौँ ओभरमा दुई-दुई विकेट गुमाएको माल्दिभ्सको रनरेट रोकियो।

राजवंशीले चार ओभर बलिङ गर्दै केवल छ रनमा तीन विकेट लिए। यो उनको सबैभन्दा राम्रो बलिङ प्रदर्शन हो।

नेपालका लागि सुसन भारीले दुई विकेट लिए।

शफीगको १९ रन

छैसट्ठी रनमा आठ विकेट गुमाएपछि माल्दिभ्सको इनिङ्स चाँडै सकिएला जस्तो देखिएको थियो।

तर नवौँ विकेटका लागि लीम शफीग र अमील मौरुफले खेल अन्तिम ओभरसम्म पुर्‍याए।

शफीगले ११ बलमा १९ र मौरुफले १३ रन बनाएका थिए।

अन्य दोहोरो अङ्कमा रन बनाउने खेलाडीहरू मोहम्मद रिश्वान (१७), कप्तान मोहम्मद महफूज (१६) र उमर अदम (११) रहे।