तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
केपी शर्मा ओली: प्रधानमन्त्री 'अहिले खतरामुक्त, भविष्यको कुरा समयले नै बताउने'
अपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको "अहिलेको अवस्था खतरामुक्त रहेको" उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
शल्यक्रिया गरिएको तीन दिनपछि चिकित्सकहरूले प्रेस सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी दिएका हुन्।
ओलीको महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
सेन्टरमै शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले भनिन्, "उहाँको अहिलेको अवस्था खतरामुक्त हो। तर भोलि या पर्सि भविष्यको कुरा चाहिँ समयले नै बताउँछ।"
ओलीको उपचारमा संलग्न चिकित्सक डा. रमेशसिंह भण्डारीका अनुसार उनलाई एक सातामा अस्पतालबाट घर पठाउन सकिनेछ।
'१० दिनमा पहिलेकै अवस्थामा'
एउटा प्रश्नको उत्तरमा डा. भण्डारीले आगामी १० दिनजतिमा प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुपूर्वको अवस्थामा पुग्ने जानकारी दिए।
ओलीकी निजी चिकित्सक शाहका अनुसार उनको स्वास्थ्य अवस्थालाई स्थिर राख्नका लागि अस्पतालले सबै उपायहरू अपनाएको छ।
उनले ओलीको मिर्गौला प्रत्यारोपण गरिएको १२ वर्ष भएको र अहिले "मिर्गौलाको काममा अलिकता ह्रास आउन थालेको" तथा बीचमा भ्रमण र सङ्क्रमणका कारण डायालिसिस चाहिएको बताइन्।
अपेन्डिसाइटिस हुनुअघि उनको काठमाण्डूमा कम्तीमा चार पटक डायालिसिस गरिएको थियो। त्यसअघि सिङ्गापुरमा प्लाज्माफेरेसिस विधिद्वारा उनको शरीरमा उत्पन्न एन्टीबडी फालेर उपचार गरिएको थियो।
चिकित्सकहरूका अनुसार पेटको शल्यक्रियापछि मङ्गलवार राति उनको मिर्गौलाको उपचारका लागि एक चोटि अल्ट्राफिल्ट्रेशन र बुधवार एक चोटि डायालिसिस गरियो।
सञ्चारकर्मीहरूसँग डा. शाहले भनिन्, "अपरेशन भएको बेलामा हाइपर क्याटबोलिजम हुन्छ त्यही भएर बिरामीलाई जसरी पनि स्टेबल (स्थिर) राख्नुपर्ने र कुनै पनि समस्या आउनुभन्दा पहिला नै चिकित्सकले त्यस्ता समस्या आउन नदिन उपायहरू अवलम्बन गर्छ।"
"त्यही अवलम्बन गर्ने क्रममा डायालिसिस गर्यौँ। अब स्टेबल (स्थिर) भइसकेको अवस्था छ। अब उहाँलाई चाहियो भने मात्र गर्छौँ।"
उनका अनुसार शल्यक्रिया गरिएको बिरामीमा आन्तरिक रक्तस्राव हुने सम्भावना भएकाले कुनै जटिलता नहोस् भनेर प्रधानमन्त्रीलाई रगतमा हुने प्लेट्लट दिइएको हो।
उनले ओलीको उपचार गर्दा जुन बेला जे आवश्यक पर्छ चिकित्सकहरूले त्यो गर्ने बताइन्।
शाहले सञ्चारकर्मीहरूलाई भनिन्, "तपाईँहरूलाई यो त ओहो धेरै ठूलो समस्या रहेछ भन्ने लाग्न सक्छ। अरू साधारण बिरामीको पनि शल्यक्रिया गरियो भने एउटा चिकित्सकले लिनुपर्ने प्रिकशन (पूर्वोपाय) 'धेरै रक्तस्राव नहोस्, सङ्क्रमण नहोस्, सबै भाइटल मेन्टेन होस्' भन्ने नै हो।"
मानिसको आमाशयमा आन्द्रानजिकै हुने अपेन्डिक्स भनिने तन्तुको सुजनलाई अपेन्डिसाइटिस भनिन्छ।
अपेन्डिसाइटिस हुँदा ब्याक्टेरियाको सङ्क्रमण तथा आन्द्रामा अवरोध पुग्दा बिरामी व्यक्तिलाई पेट दुख्ने र गम्भीर समस्या हुन सक्ने चिकित्सकहरू बताउँछन्।
अपेन्डिसाइटिस हुँदा समयमै शल्यक्रियामार्फत् अपेन्डिक्स निकालेर उपचार गरिन्छ। अपेन्डिसाइटिस भएपछि ओलीको पेटमा सङ्क्रमण फैलिएको थियो।
मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिले नयाँ मिर्गौलालाई शरीरले अस्वीकार नगरोस् भनेर प्रतिरोध क्षमता दबाउने औषधि सेवन गर्नुपर्छ। त्यही औषधिका कारण ओलीलाई सङ्क्रमण भएको पत्ता लगाउन समय लागेको चिकित्सकहरूको धारणा थियो।
प्रत्यारोपणको योजना
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे तयार भइराखेको बताइन्छ। शुक्रवार उनकी निजी चिकित्सक डा. शाहले त्यसको घुमाउरो पाराले स्वीकारिन्।
यो शल्यक्रियाले प्रत्यारोपणको तयारी कति पर सार्न सक्छ भनेर सोधिएको प्रश्नमा उनले खासै प्रभाव नपर्ने बताइन्।
"कुनै व्यक्तिलाई प्रत्यारोपणको तयारी गरिँदा बिरामीको शारीरिकदेखि मानसिक स्थिति सबै हेर्छौँ। बिरामीको पित्तको थैलीमा ढुङ्गा छ भने त्यो शल्यक्रिया गरेर निकाल्छौँ अनि प्रत्यारोपण गर्छौँ। त्यो शल्यक्रियाजस्तै यो शल्यक्रिया पनि भयो," उनले भनिन्।
अङ्ग प्रत्यारोपण गरेपछि स्वास्थ्य स्थिर होस् भनेर त्यसो गरिने बताउँदै अहिले गरिएको शल्यक्रियाले थप "कुनै फरक नपार्नुपर्ने हो", उनले भनिन्।
ट्वीटबारे प्रश्न
बिहीवार प्रधानमन्त्री ओलीको आधिकारिक ट्विटरबाट "आफ्नो स्वास्थ्यमा तीव्र सुधार आइरहेको" भन्दै ट्वीट गरिएको थियो।
उक्त ट्वीटमा उनले आफ्नो स्वास्थ्य स्थितिबारे चासो राख्ने तथा शुभेच्छा प्रकट गर्ने सबैलाई धन्यवाद दिएका थिए।
उनको यो ट्वीटलाई लिएर सञ्चारकर्मीहरूले चिकित्सकहरूसँग प्रश्न सोधेका थिए।
उनीहरूले आईसीयूमा रहेको र सङ्क्रमणको जोखिम भएको बिरामीले कसरी ट्वीट गरे? भन्ने प्रश्न गर्दा चिकित्सकहरूले त्यसको स्पष्ट उत्तर दिएनन्।
बिहीवार बिहान ओलीलाई उनकी पत्नी राधिका शाक्य तथा परिवारका केही सदस्य र सल्लाहकारले भेटेका थिए।
ओलीको स्वास्थ्यबारे बिहीवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पनि अस्पताल पुगेर जानकारी लिएकी थिइन्।