अल्बेनिया भूकम्प: हराइरहेका र घाइतेको खोजीमा रातभर उद्धार प्रयास

Published

अल्बेनियामा २० जनाको ज्यान जाने गरि गएको ठूलो भूकम्पपछि उद्धारकर्ताहरू रातभरि घाइते तथा बेपत्ताको खोजीमा जुटेका छन्।

६.४ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु राजधानी टिरानाबाट ३४ किलोमिटर उत्तरपश्चित तर्फ रहेको बताइएको छ।

मानिसहरू सुतिरहेको बेला बिहान सबेरै भूकम्प गएको थियो।

भवनहरूमा च्यापिएका मानिसहरूको खोजी कार्य अहोरात्र चलिरहेको छ।

केन्द्रविन्दु

केन्द्रविन्दु नजिकका डुरेस र थुमान नगरमा सबैभन्दा बढी क्षति भएको बताइएको छ। ती स्थानमा विपद् पीडितको बसोबासका लागि अस्थायी शिविरहरू बनाइएको छ।

प्रधानमन्त्री एदी रामाले उद्धारकर्ताहरूले पीडितको सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन्।

उनले 'हराइरहेका मानिसहरूको धैर्यका साथ अन्त्यसम्म नै खोजी गरिने' बताए। सरकारले बुधवार राष्ट्रिय शोक घोषणा गरेको छ।

युरोपेली आयोगले इटली, ग्रिस र रुमानियाबाट उद्धारकर्ताहरू पठाइएको जनाएको छ। कोसोभो र मोन्टिनिग्रोबाट पनि उद्धार टोलीहरू अल्बेनिया गएको बताइएको छ।

मङ्गलवारको भूकम्प दशकौँपछि अल्बेनियामा गएको सबैभन्दा ठूलो भएको अधिकारीहरूले बताएका छन्।

खोज तथा उद्धार प्रयास

करिब १५ जना मानिस अझै हराइरहेका छन्। भत्किएका भवनका भग्नावशेषबाट ४० जनाभन्दा बढीको जीवितै उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।

सैनिक, प्रहरी र आपतकालीन सेवाका कर्मचारीहरू टाउकोमा टर्च जोडेर भवनका भग्नावशेषमा खोज तथा उद्धार कार्यमा खटिएका छन्।

तटीय नगर डुरेस र राजधानी टिरानादेखि उत्तरतिर पर्ने थुमान नगरमा कैयौँ घाइतेको जीवितै उद्धार गरिएको छ।

भूकम्पपछि हजारौँ अल्बेनियालीहरू घरबार विहीन भएका छन् र उनीहरू सेनाले बनाएका शिविरमा बस्न बाध्य छन्।

भूकम्प कति खराब?

स्थानीय समयअनुसार बिहान ३.५४ मा भूकम्प गएको थियो। त्यसपछि पनि परकम्पहरू गइरहेका छन्।

थुमानमा एउटा पाँच तले भवन भत्किएको छ।

त्यहाँभित्र कयौँ मानिस च्यापिएका छन् जसको खोजी जारी छ।

भूकम्पको जोखिम कस्तो?

एएपपीका अनुसार भूकम्पका बेला अचानक सडक भत्किँदा कार चलाइरहेका एकजनाको दुर्घटनामा परेर ज्यान गएको छ।

भूकम्पपछि झ्यालबाट हामफालेका अर्का एक पुरुषको पनि मृत्यु भएको छ।

बाल्कन क्षेत्र भूकम्पको जोखिममा छ। त्यहाँ सन् १९७९ मा ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यतिबेला अल्बेनियामा १३६ जनाको ज्यान गएको थियो भने एक हजारजना भन्दा बढी घाइते भएका थिए।