आयल निगमको ट्याङ्कर ‘बेपत्ता’ पारिएको घटनाबारे हामीलाई अहिलेसम्म के थाहा छ

Published

सिराहाको लहानबाट बेपत्ता पारिएको भनिएको नेपाल आयल निगमको एउटा डिजेल ट्याङ्कर प्रहरीले रित्तो अवस्थामा धनुषामा फेला पारेको छ।

ना ४ ख ४१६३ नम्बरको ट्याङ्करलाई सोमवार राति साढे एक बजेतिर 'बेपत्ता' पारिएको प्रहरीले जनाएको छ।

चालकलाई उद्धृत गर्दै सिराहाका डीएसपी अपिलराज बोहराले बताए अनुसार लहानबाट लगेर सप्तरीको बलान पुलनजिकै पाँच-छ जनाको समूहले चालक तथा सह-चालकलाई ट्याङ्करबाट ओराली एउटा सानो गाडीमा हालेर लगेको थियो।

बाराको अमलेखगञ्जस्थित निगमको डिपोबाट डिजेल लोड गरी उक्त ट्याङ्कर मोरङको विराटनगरतर्फ गइरहेको थियो।

निगमका अधिकारीहरूका अनुसार सो ट्याङ्करमा २० हजार लिटर डिजेल थियो।

निगमको आजको मूल्य अनुसार वीरगन्जमा डिजेल प्रतिलिटर ९३ रुपैयाँ ५० पैसा रहेको छ।

जसअनुसार 'चोरिएको' २० हजार लिटर डिजेलको मूल्य १८ लाख ७० हजार रुपैयाँ पर्न आउँछ।

ट्याङ्करका चालक रामदेव यादव र सह-चालक उमेश यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार घटनाबारे छानबिन गर्न निगमले आफ्नो प्रदेश नं. १ का कार्यालय प्रमुख अशोक शाहको नेतृत्वमा एउटा समिति गठन गरेको छ।

सिराहा प्रहरी के भन्छ?

अपिलराज बोहरा, डीएसपी

सोमवार राति साढे एक बजेतिर लहानबाट ट्याङ्कर हरायो भन्ने खबर हामीलाई आयो।

चालकका अनुसार पाँच-छ जनाको समूहले चालक र सह-चालकलाई सप्तरीतर्फ लगे।

चालकले हामीहरूलाई भने अनुसार म अहिले तपाईँलाई बताइरहेको छु। हामी त अनुसन्धानकै क्रममा छौँ।

सप्तरीको बलान भन्ने पुलनजिक पुगेपछि उनीहरूले चालक र सह-चालकलाई ट्याङ्करबाट ओरालेर एउटा सानो गाडीमा दुई जनालाई राखेर लगे।

त्यसपछि सिन्धुलीको बर्दिबासभन्दा अलिकति माथि लगेर उनीहरूले चालक र सह-चालकलाई बिहानको चार बजेतिर छाडिदिए।

उनीहरूले ट्याङ्कर कहाँ लगे भन्ने कुरा थाहा नभएको चालकले हामीलाई बताएका छन्।

घटनाबारे थाहा पाएपछि हामीले टोली परिचालन गर्‍यौँ। हिजो (मङ्गलवार) हामी भारतसम्म पनि पुग्यौँ।

आज (बुधवार) बिहान चाहिँ धनुषाको सपहीनजिकै हामीले रित्तो ट्याङ्कर फेला पारेका हौँ।

चालक र सह-चालक अहिले हाम्रो नियन्त्रणमा छन् र हामीले सोधपुछ गरिरहेका छौँ।

प्रहरी कार्यालयनजिकै घटनास्थल भएकोले हामीले पनि अलि शङ्काको दृष्टिले हेरिरहेका छौँ।

ट्याङ्कर नै अपहरण गर्नेभन्दा पनि इन्धनसँग यो घटना जोडिएको देखिन्छ।

नेपाल आयल निगम के भन्छ?

वीरेन्द्र गोइत, प्रवक्ता

ट्याङ्कर फेला पारिएको जानकारी हामीले अघि बिहान पाएका छौँ।

घटनाबारे छानबिनका लागि हाम्रो प्रदेश नं. १ का कार्यालय प्रमुख अशोक शाहको नेतृत्वमा एउटा समिति गठन गरेका छौँ।

पछिल्लो समय नेपालभित्र यस्तो घटना भएको छैन।

विगतमा भारतको बरौनीस्थित भारतीय आयल निगमको डिपोबाट इन्धन लोड गरी हिँडेका ट्याङ्कर यस्तो घटनामा परेका थिए।

सशस्त्र द्वन्द्वकालमा इन्धन भएका निगमका ट्याङ्कर अपहरणमा परेको घटना छ।

द्वन्द्वकालको अन्त्य भएपछि चाहिँ निगमको ट्याङ्कर अपहरण वा चोरीमा परेको यो पहिलो घटना हो।

के कसो भएको हो भन्नेबारे सत्यतथ्य अनुसन्धानबाट मात्र थाहा होला।

अधिकारीहरूका अनुसार घटनाको प्रकृति र त्यसमा संलग्नहरूबारे थाहा भएपछि सजायबारे स्पष्ट भन्न सकिन्छ।

निगमका प्रवक्ता गोइतका अनुसार इन्धन ओसारपसार गर्ने मानिस नै घटनामा संलग्न भएको पाइए असुलउपर गर्ने व्यवस्था छ।

"तर ठ्याक्कै के कस्तो सजाय हुन्छ भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुन्छ," प्रवक्ता गोइतले भने।