तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वीरगन्जमा नेपाली चलचित्र महोत्सव, भारतीय कलाकार पनि सहभागी
सीमावर्ती सहर वीरगन्जमा आयोजित नेपाली चलचित्र स्वर्णिम महोत्सवमा नेपाली र भारतीय कलाकार सहभागी भएका छन्। नेपाली चलचित्र निर्माण हुन थालेको ५३ वर्ष पूरा भएको अवसरमा प्रदेश नम्बर २ मा विशेष कार्यक्रम आयोजना भएको हो।
महोत्सवको माध्यमबाट वीरगन्ज र प्रदेश नम्बर २ मा पर्यटनको सम्भाव्यता उजागर हुने विश्वास लिइएको आयोजकहरूले बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार महोत्सवको उद्घाटन गरिन्। उनले समाजका विकृति तथा विसङ्गति अन्त्य गर्न चलचित्र क्षेत्रले भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरिन्।
सो अवसरमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वदेशी चलचित्रभन्दा विदेशी चलचित्रप्रति आकर्षण र अपेक्षा बढी राख्ने गरिएको भन्दै नेपाली चलचित्रमा लगानी बढाउन आवश्यक रहेको बताए।
वीरगन्जका सडकमा र कार्यक्रमस्थलनजिकै नेपाली तथा विदेशी कलाकारका पोस्टरहरू आकर्षक रूपमा सजाइएको छ। महोत्सवस्थलमा स्थानीय संस्कृति र परिवेश झल्किनेगरी बयलगाडा, रिक्सा , टाँगा, टेम्पो आदि विभिन्न सामग्री राखिएको छ।
आयोजकहरूले यसलाई तराई, पहाड र हिमालको उत्सव भनेका छन्।
नेपाल चलचित्र निर्माता सङ्घका उपाध्यक्ष एवम् महोत्सव तयारी समितिका संयोजक विमल पौडेलका अनुसार नेपालका सबै भेगका संस्कृति जोड्ने र राष्ट्रिय एकता कायम गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।
वीरगन्ज महानगरका प्रमुख विजय सरावगीले महोत्सवले तराई-मधेशको कला, भाषा र संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन सहयोग गर्ने र नेपाली चलचित्रमा प्राय: नसमेटिने स्थानीय कलाकारको कलाले पनि प्राथमिकता पाउने विश्वास व्यक्त गरेका छन्।
महोत्सवको पहिलो दिन भारतीय अभिनेता गोविन्दा विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए।
तस्बिरको सर्वाधिकार बीबीसी तथा माथि उल्लेख गरिएअनुसार राष्ट्रिय समाचार समितिमा सुरक्षित