तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ड्रेसडेन: 'नाजी सङ्कटकाल' घोषणा गरेको जर्मन शहर
स्याक्सोनी राज्यको राजधानी ड्रेसडेन लामो समयदेखि उग्र दक्षिणपन्थीहरूको गढका रूपमा चिनिँदै आएको छ।
ड्रेसडेनमै इस्लाम विरोधी पेगिडा आन्दोलन पनि सुरु भएको थियो।
युरोपको सांस्कृतिक राजधानीका लागि सन् २०२५ को एक प्रतिस्पर्धी शहरका पार्षदहरूले उग्र दक्षिणपन्थी समस्या समाधान गर्न थप काम गर्नुपर्ने निर्णय गरेका हुन्।
तर विपक्षीहरूले त्यो निर्णयको आलोचना गरेका छन्।
नाजी सङ्कटकाल भनेको के हो?
"'नाजिनोटस्ट्याण्ड' भनेको जलवायु सङ्कट जस्तै हो- हामीकहाँ यसको गम्भीर समस्या छ। खुला प्रजातन्त्रिक समाजमाथि खतरा बढेको छ," प्रस्ताव दर्ता गरेका पार्षद म्याक्स आस्केनबाखले बीबीसीलाई भने।
वामपन्थी झुकाव राख्ने राजनीतिक दल डी पार्टीका आस्केनबाखले राजनीतिकर्मीहरूले उग्र दक्षिणपन्थीविरुद्ध "स्पष्ट धारणा" नराखेकाले त्यस्तो कदम चाल्न परेको बताए।
उनले भने, "यो प्रयास केही पनि नगरीकन बस्ने स्थितिमा परिवर्तन ल्याउन गरिएको हो। ड्रेस्डेनको नगर परिषद्मा म कस्तो मानिसको छेउमा बसिरहेको छु भन्ने जान्नका लागि पनि यो कदम चालिएको हो।"
प्रस्तावमा भनिएको छ, "दक्षिणपन्थी अतिवादी व्यवहार र कारबाही…निरन्तर भइरहेका छन्" शहरले उग्र दक्षिणपन्थी हिंसा पीडितहरूलाई सहयोग गर्नुपर्छ र अल्पसङ्ख्यकलाई संरक्षण गर्दै प्रजातन्त्र सुदृढ बनाउनुपर्छ।
आस्केनबाखले नगर परिषद्ले प्रस्ताव पारित गरेर उदार प्रजातान्त्रिक समाजले अल्पसङ्ख्यकको संरक्षण गर्ने तथा नाजीको विरोधप्रति प्रतिबद्धता प्रकट गरेको छ।
कसरी 'नाजी सङ्कटकाल घोषणा गरियो'?
आस्केनबाखको प्रस्ताव ड्रेसडेन नगर परिषद्मा बुधवार राती मतदानका लागि प्रस्तुत गरिएको थियो। प्रस्तावको पक्षमा ३९ मत र विपक्षमा २९ मत परेको थियो।
जर्मनीको सत्तारुढ क्रिस्चियन डेमोक्र्याट्स (सीडीयू)ले प्रस्तावको विपक्षमा मतदान गरेको थियो।
"हाम्रो विचारमा यो प्रस्ताव नियतवश भड्काउनका लागि पेश गरिएको थियो," सीडीयू नगर परिषद समूहका अध्यक्ष यान डनहाउसरले बीबीसीलाई भने।
"सङ्कटकाल" भनेको त कानुनी राज धरमराउनु वा गम्भीर खतरामा पर्नु हो। त्यो त भएकै छैन। र, उग्र दक्षिणपन्थी अतिवादमाथि केन्द्रित हुनुले हामीलाई के चाहिएको हो भन्नेप्रति न्याय गर्दैन।
डनहउसरले भने, "बहुमत" ड्रेसडेनरहरू "न उग्र दक्षिणपन्थी अतिवादी हुन् न प्रजातन्त्र विरोधी हुन्।"
आस्केनबाखले उनको प्रस्ताव पारित गरे पनि शहर कुनै कारबाही गर्न बाध्य छैन "तर सिद्धान्तगत रुपमा विद्यमान उपायहरूलाई उच्च प्राथमिकता दिनुपर्छ र भावी निर्णयहरू यसमा आधारित हुनुपर्छ" भनेका छन्।
प्रस्तावको विपक्षमा मत प्रस्तुत गरेको सीडीयूले "राजनीतिक रूपमा नियोजित हिंसासँग लड्न निश्चित संस्थाहरूलाई बलियो बनाउनुपर्छ" भनेको छ।
उग्र दक्षिणपन्थी अतिवादबारे लेख्दै आएका राजनीतिशास्त्रका जर्मन प्रोफेशर काइ अर्जहाइमरले प्रस्तावको प्रभाव साङ्केतिक मात्र भएको बताए।
"यसले अतिवादसँग लड्न कार्यक्रम र रकम छुट्याउन आवश्यक रहेको भन्ने पनि हुन सक्छ," उनले भने।
"अरु शहरले नाजी सङ्कटकाल त घोषणा गरेका छैनन् जस्तो लाग्छ तर उग्र दक्षिणपन्थी अतिवादविरुद्ध प्रस्ताव पारित गर्ने भन्ने त अरुतिर पनि भएको छ।"
ड्रेसडेन र उग्र दक्षिणपन्थबीचको सम्बन्ध
ड्रेसडेन उसको उग्र दक्षिणपन्थी सम्बन्धका लागि लामो समयदेखि परिचित छ।
सन् १९९० को सुरुवाततिर नव नाजी समूहले सन् १९४५ मा ब्रिटिश र अमेरिकी फौजले गरेको आक्रमणलाई उनीहरूकै शब्दमा "द बम्बिङ होलोकष्ट"को संस्मरण गर्दै प्रदर्शन गर्दै आएका छन्।
त्यसैगरी स्याक्सनी राज्य उग्र दक्षिणपन्थी न्याशनल डेमोक्र्याटिक पार्टीको वर्चस्व रहँदै आएको छ।
ड्रेसडेनमा इश्लाम विरोधी पेगिडा आन्दोलनको सुरुवात सन् २०१४ मा भएको थियो।
पेडिगा समर्थकले इश्लामवादी अतिवादीहरूबाट मानिसहरू सचेत रहनुपर्ने बताउँदै आएका छन्।