तिहारका लागि आवश्यक पर्ने फूलमा नेपाल 'लगभग आत्मनिर्भर'

Published

केही वर्ष अघिसम्म तिहारका लागि आवश्यक पर्ने फूलमा आत्मनिर्भर हुन नसकेको नेपाल हाल आएर भने त्यसमा लगभग आत्मनिर्भर भएको पुष्प व्यवसायीहरूले बताएका छन्।

उनीहरूका अनुसार अहिले जाडोको मौसममा उत्पादन नहुने केही फूल मात्र आयात हुने गरेको छ।

तिहारका लागि चाहिने सयपत्री फूलको सम्पूर्ण माग पूर्तिका लागि अझै पनि केही मात्रामा आयात गर्नुपर्ने बाध्यता बाँकी रहेको उनीहरू बताउँछन्।

व्यवसायीहरूका अनुसार यो वर्षको तिहारका लागि नेपालभरि करिब २५ लाख वटा मालाको माग रहेको छ।

त्यसमध्ये करिब सात लाख वटा मखमली र गोदावरीको मालाको माग रहेको उनीहरू बताउँछन्।

आयात

सयपत्रीको भने १८ लाख वटा मालाको माग रहेको देखिएको छ।

मखमली र गोदावरीका लागि नेपालकै उत्पादनले पुग्ने व्यवसायीहरू बताउँछन्।

तर केही मात्रामा सयपत्रीको माला भने आयात गर्नुपर्ने अवस्था रहेको छ।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ भन्छन्, "नेपालमा साढे १५ लाख वटा सयपत्रीको मालाको उत्पादन हुन्छ। साढे २ लाख माला भने आयात गर्नुपर्ने हुन्छ। त्यो भारतबाट आउँछ।"

अझै पनि नेपालमा फूलको आयात शून्य हुन नसकेको र आयातित फूलका कारण कतिपय फूलमा रोगहरू फैलिएको फूल खेती गर्ने कृषक र उपभोक्ताको गुनासो हुने गरेको छ।

कठाइ

सरकारी अधिकारीहरू भने त्यस्तो गुनासो सम्बोधन गर्नकै लागि सीमा नाकामा कडाइ गरिएको बताउँछन्।

उनीहरूका अनुसार यसपाली पनि तिहारका बेला गुणस्तरहीन र रोग लागेका फूल आयात रोक्न जैविक तथा रासायनिक स्वच्छताको प्रमाणपत्र अनिवार्य गरिएको छ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका निमित्त प्रमुख सहदेवप्रसाद हुमागाईँ भन्छन्, "हामीले पहिले देखि नै पनि यस्तो प्रमाणपत्रका आधारमा मात्र आयात अनुमति दिने गरेका हौँ। तर तिहारका बेल त्यसमा थप कडाइ गर्न सबै कार्यालयहरूलाई पत्राचार गरेका छौँ।"

व्यवसायीहरू नेपालमा तिहारका लागि फूल तथा मालाको आयात कम हुँदै गएको बताउँछन्।

उनीहरूका अनुसार यसपालीको तिहारमा १३ देखि १५ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ।

गत वर्ष भरिमा नेपालमा २ अर्ब ४२ करोड रुपैयाँ बराबरको फूल कारोबार भएको थियो।

त्यसमा १९ करोड रुपैयाँको मात्र आयात भएको थियो भने नेपालबाट एक करोड रुपैयाँको फूल निर्यात भएको थियो।

व्यवसायीहरूले फूलमा आत्मनिर्भर बनेको बताइरहँदा कतिपय आलोचकहरूले भने अझै पनि नेपाली पुष्प व्यवसायीले गुणस्तरमा सुधार गर्न र निर्यातमूलक ढङ्गले व्यवसाय अघि बढाउन नसकिरहेको बताउने गरेका छन्।