नेपाललाई तुइनमुक्त बनाउने केपी शर्मा ओलीको योजना दुईगुना समयमा पनि पूरा नहुने

Published

पहिलो पटक पद सम्हाल्दा दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको लक्ष्य दुईगुना समयमा पनि पूरा नहुने देखिएको छ।

अधिकारीहरूले चालु आर्थिक वर्षभित्रमा ९७ प्रतिशत तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिइएको बताएका छन्।

त्यो भनेको लक्ष्यभन्दा दुई वर्षभन्दा पनि बढी समय हो। एकजना विज्ञका अनसुार निर्धारित समयभित्र लक्ष्य हासिल गर्नका लागि खासै चुनौती देखिँदैन।

विसं २०७२ सालको असोजमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले आफ्नो पहिलो निर्णयका रूपमा दुई वर्षभित्रमा देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको थियो।

निर्माणाधीन

त्यस्तो घोषणा गरिएको यो महिना ठ्याक्कै चार वर्ष पूरा भएको छ। तर चार वर्षभित्रमा पनि शतप्रतिशत लक्ष्य हासिल हुने लक्षण देखिएको छैन।

तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण कार्यमा हालसम्म भएको प्रगतिबारे सस्पेन्शन ब्रिज डिभिजनका योजनाप्रमुख कुमार थापा भन्छन्, "एक सय ८१ वटाको निर्माण सम्पन्न भएको छ, १९ वटा निर्माणाधीन छ।"

"चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी अगाडि बढेका छौँ। नेपाल-भारत सिमानाको मात्रै बाँकी रहन्छ।"

थापाका अनुसार निर्माणाधीन १९ वटा झोलुङ्गे पुलको काम सकेपछि चारवटाको निर्माण बाँकी रहनेछ। ती चारवटै नेपाल-भारत सिमानामा पर्छन्।

तुइन विस्थापन कार्य जारी रहँदा कतिपय स्थानमा आफ्नो सहजताका लागि स्थानीय बासिन्दाले नयाँ तुइन राख्ने गरेको दृष्टान्त पनि पाइएको अधिकारीहरू बताउँछन्।

समयसीमा

त्यसबाहेक केही ठेकेदारले पनि समयमा काम पूरा नगर्दा निर्धारित समयसीमाभित्र लक्ष्य भेटाउन नसकिएको थापा बताउँछन्।

विज्ञहरूका अनुसार नेपाल झोलुङ्गे पुल निर्माणमा अग्रणी देश मानिन्छ।

सो पृष्ठभूमिमा नेपालका लागि सबै तुइन विस्थापन गर्ने लक्ष्य भेटाउन गाह्रो नहुनुपर्ने एकजना विज्ञ लीलानाथ त्रिपाठीको तर्क छ।

उनी भन्छन्,"जिम्मेवार निकायहरू लागिपरे भने लक्ष्य पूरा गर्न चुनौती त म देख्दिनँ। कहिलेकाहीँ पहिरो गयो अथवा अरू कुनै भवितव्य हुनु अर्कै कुरा हो।"

गत वर्ष प्रधानमन्त्री ओलीले अबको केही समयपछि नेपालमा तुइन देख्न नपाइने बताएका थिए।

एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्ण रूपमा तुइन विस्थापित नभएकोमा सामाजिक सञ्जालमा तस्वीर राख्दै सरकारको आलोचना गर्नेहरूप्रति व्यङ्ग्य समेत गरेका थिए।