तातोपानी नाका: खासा जान सिन्धुपाल्चोकवासीलाई अस्थायी पास, बढ्न थाल्यो व्यापारीको चाप

Published

चार वर्षअघि विनाशकारी भूकम्पको कारण बन्द भएको तातोपानीस्थित नेपाल-चीन नाका अहिले औपचारिक रूपमा पुन: सञ्चालनमा आएको छ।

मितेरी पुल फेरि बनेर नाका खुलेपछि चीनको खासा क्षेत्रमा जान सिन्धुपाल्चोकवासीलाई प्रवेश पास वितरण भइरहेको अध्यागमन कार्यालय कोदारी सिन्धुपाल्चोकले जनाएको छ।

सवारीचालक, कामदार र भेडाच्याङ्ग्रा लिन जाने व्यापारीलाई एक वर्षका लागि प्रवेशपास दिन थालिएको अध्यागमन कार्यालय प्रमुख रामचन्द्र काफ्लेले बताए।

नाका सञ्चालन भएदेखि सिन्धुपाल्चोकवासीका लागि अध्यागमन कार्यालय कोदारीले एकवर्षे प्रवेशपास वितरण गर्न थालेको थियो।

बर्खाको बेला खासै चहलपहल नभएको भए पनि दशैँ नजिकिँदै जाँदा अहिले नाकामा व्यापारीहरूको चाप बढेको सरकारी अधिकारीले बताए।

वितरण कसरी?

हालसम्म सवारीचालक, कामदार र भेडाच्याङ्ग्रा लिन जाने व्यापारीलाई गरी करिब २५० वटा प्रवेश पास वितरण गरिएको अध्यागमन कार्यालय कोदारीले जनाएको छ।

कार्यालयका अनुसार दैनिक ४० देखि ५० जना नेपाली कामको सिलसिलामा खासा प्रवेश गर्छन्।

सवारीचालकले नेपाली नागरिकता र चालक अनुमतिपत्र तथा कामदार र व्यापारीले नागरिकताको फोटोकपी बुझाएपछि कार्यालयले पास उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख रामचन्द्र काफ्लेले बताए।

चिनियाँ अध्यागमनका अधिकारीले खासा क्षेत्रमा व्यापारका लागि सिन्धुपाल्चोकका नागरिकलाई मात्र पास दिन आग्रह गरेको बताउँदै उनले भने, "पारवहनसँग सम्बन्धित सवारीचालकहरूलार्इ र त्यहाँ गएर सामान झार्ने र राख्ने कामदारहरूको लागि मात्र अध्यागमन कार्यालयले प्रवेशपास उपलब्ध गराउँदै आएको अवस्था छ।"

"प्रवेश पासको अवधि एक वर्षको हुन्छ। सामान लिन गएका सवारीचालक र कामदारहरू त्यही दिन फर्किएर आउँछन्, त्यहाँ बस्ने व्यवस्था छैन।"

अरू समस्या के छन्?

तातोपानी नाकाबाट स्याउ, तयारी सामान, ऊन तथा दशैँका लागि भेडाच्याङ्ग्रा आयात भइरहेको अधिकारीहरू बताउँछन्।

चीनबाट ल्याएको सामान नेपालको गाडीमा राख्न गएका नेपाली कामदारहरूले त्यस क्षेत्रमा नेपाली खाना पाइने होटेल तथा पसलहरू नहुँदा आफूहरूलाई दिउँसोको खाना र खाजा यतैबाट लानुपर्ने बाध्यता रहेको बताए।

खासा गएको बताउने भोटेकोशी गाउँपालिकाका पेम्बाछिरिङ शेर्पाले भने, "पहिलापहिला चाहिँ खासामा नेपाली होटेलहरू थिए तर अहिले छैन। चिनियाँ होटेलमा खानेकुराहरू सबै प्रकारका भए पनि महँगो हुने हुँदा मजदुरी गर्न गएका हामीजस्ताले खाएर सम्भव छैन। मजदुरी गरेर कमाएको पैसाले त्यहाँ खानबस्न पुग्दैन।"

सिन्धुपाल्चोकको मार्मिङ, पाटीचौर, बाह्रबिसे र जलबिरेका व्यवसायीहरू भेडाच्याङ्ग्रा लिन चीनको न्यालम गएको अध्यागमन कार्यालयले जनाएको छ।

पहिला अन्य व्यवसायीलाई खासा जान रोक लगाइको भए पनि अब भने व्यवसायीहरू जान चाहेमा अध्यागमन कार्यालय कोदारीले प्रवेश पास दिन सकिने सरकारी अधिकारीले बताए।