अस्ट्रेलियामा रिसाहा म्याग्पाई चरोबाट भाग्दा साइकलबाट लडेर वृद्धको मृत्यु

Published

अस्ट्रेलियामा एउटा रिसाहा चरोबाट जोगिन खोज्दा साइकलबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

एउटा म्याग्पाई चरोले आफूलाई झम्टिन आएपछि ती ७६ वर्षीय वृद्ध तर्किन खोजेका थिए। प्रहरीका अनुसार त्यही बेला उनको साइकल अनियन्त्रित भयो र एउटा उद्यानको बारमा ठोकियो।

उनको टाउकोमा गम्भीर चोट लागेको थियो। स्वास्थ्यकर्मीले उनलाई जोगाउने प्रयास गरेका थिए। तर अस्पतालमा उनको मृत्यु भयो।

उक्त घटना दक्षिणी सिड्नीमा शनिवार भएको थियो।

अस्ट्रेलियामा वसन्त ऋतुका बेला म्याग्पाईले मानिसलाई झम्टिने गर्छ। उक्त चराको आक्रमणमा परेर साइकलयात्री तथा पैदलयात्री घाइते हुने गरेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त उद्यानमा पहिला पनि मानिसहरू म्याग्पाई चराको आक्रमणमा परेका थिए।

अस्ट्रेलियामा पाइने म्याग्पाई युरोपमा पाइने म्याग्पाई नामक चराभन्दा भिन्न प्रजातिको हो।

समागम गर्ने याममा ती चराहरू निकै आक्रामक हुन्छन्।

यही महिना स्थानीयवासीलाई दु:ख दिने एउटा रिसाहा म्याग्पाईलाई गोली हानेर मारिएपछि सिड्नीमा विवाद उत्पन्न भएको थियो।

कानुनले म्याग्पाईलाई संरक्षित पक्षी मानेको छ।

यो पनि हेर्नुहोस्