तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जुम्ला रारा अल्ट्रा म्याराथन: पहिलो पटक विदेशी धावकसहित ३०० धावक सहभागी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी जुम्ला रारा अल्ट्रा म्याराथनका विजेताहरूको घोषणा सोमवार गरिने आयोजकले बताएका छन्।
खेलाडीहरूले बीचबीचमा रहेका प्रवेशविन्दु पार गरेको वा नगरेको पुष्टि गरिसकेपछि मात्रै विजेताको नाम घोषणा गरिने आयोजकले बताएका छन्।
भाग लिएकामध्ये आइतवार साँझसम्म २९ जना खेलाडीहरू रारा तालमा पुगिसकेको कर्णाली खेलकुद क्लब जुम्लाका सचिव मधुराज न्यौपानेले बीबीसीलाई जानकारी दिए ।
खेलकुदको माध्यमबाट जुम्लाको रारालाई चिनाउने उद्देश्यका साथ आइतवार म्याराथनको आयोजना गरिएको म्याराथन धावक हरि रोकायाले बताए।
उनका अनुसार हाई अल्टिट्युड ट्रेनिङ सेन्टरका लागि उपयुक्त भएकोले खेलको अभ्यासमा सघाउनका निम्ति पनि म्याराथनको आयोजना गरिएको हो।
प्रतियोगितामा तीन सय जनाभन्दा बढी खेलाडी सहभागी भएका छन्।
सहभागिता
आयोजकका अनुसार म्याराथनमा पहिलो पटक विदेशी मुलुकका खेलाडी पनि सहभागी भएका छन्।
म्याराथनमा बेलायत, आयरल्यान्ड, डेनमार्क, भारत र नेपालका विभिन्न जिल्लाका खेलाडीको सहभागिता छ।
एक किलोमिटर दुरीको म्याराथनमा १२ वर्षमुनिका बालबालिका, पाँच किलोमिटरमा १६ वर्षमुनिका र ४९ किलोमिटरमा १६ वर्षभन्दा माथिका खेलाडी सहभागी भएका छन्।
कर्णाली खेलकुद क्लबको आयोजना तथा चन्दननाथ नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो।
पुरस्कार
जुम्लाबाट रारासम्म ४९ किलोमिटर दुरीको म्याराथन आयोजना गरिएको कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए।
पाँच किलोमिटरको म्याराथनमा पुरुषतर्फ महोत्तरीका १६ वर्षीय नारायणकुमार कुशवाहा प्रथम भएका छन् भने विकास बूढा द्वितीय र कविन्द बूढा तृतीय भए।
त्यस्तै महिलातर्फ हिमाली शाही प्रथम, निशा पाण्डे द्वितीय र लेन्जेम लामा तृतीय भए।
आइतबार बिहान ७ बजेबाट आरम्भ भएको म्याराथनमा प्रथम हुनेलाई ७५ हजार रुपैयाँ, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई ३० हजार रुपैयाँ नगद प्रदान गरिनेछ।