तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेत्रविक्रम चन्द 'विप्लव'का छोरा प्रकाश चन्दसहित १५ आन्दोलनकारी चितवन मेडिकल कलेजबाट पक्राउ
- Author, ईश्वर जोशी
- Role, चितवन, बीबीसी न्यूज नेपाली
- Published
सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित १५ जना चितवनमा पक्राउ परेका छन्।
चितवन मेडिकल कलेजअगाडि प्रदर्शन गर्दैगर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीले बताएको छ।
उक्त मेडिकल कलेजका विद्यार्थीहरूले विभिन्न माग राख्दै विगत नौ दिनदेखि आन्दोलन गरिरहेका छन्।
प्रकाश चन्द त्यहीँका विद्यार्थी हुन्।
किन आन्दोलन?
आन्दोलनकारी विद्यार्थीहरूले चितवन मेडिकल कलेजले तोकिएकोभन्दा बढी रकम लिएको आरोप लगाउँदै उक्त रकम फिर्ता हुनुपर्ने माग राखेका छन्।
त्यसबाहेक चार वर्षको अध्ययनपछि इन्टर्नशिप गरिरहेका प्रशिक्षार्थी चिकित्सकहरूलाई उचित तलबको व्यवस्था गरिनुपर्ने माग पनि छ।
चिकित्सा शिक्षा ऐनले व्यवस्था गरेको ७५ प्रतिशत छात्रवृत्तिलाई साझा प्रवेश परीक्षामार्फत् सुनिश्चित गरी सीट वृद्धि गरिनुपर्ने आदि १३ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको चिकित्सा शिक्षा सङ्घर्ष समितिले जनाएको छ।
बिरामीले विद्यार्थी खोज्नुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताल आउने बिरामीबाटै प्रयोगात्मक परीक्षा दिन पाउनुपर्ने पनि उनीहरूको मागमा छ।
उक्त आन्दोलनको नेतृत्व प्रकाश चन्दले गर्दै आएका थिए।
किन पक्राउ ?
विद्यार्थीहरुले भने शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन्।
तर प्रहरीले भने आन्दोलनले अस्पतालको शान्ति सुरक्षालाई असर पार्ने भएकाले आन्दोलनकारीहरूलाई पक्राउ गरिएको बताएको छ।
प्रहरी उपरीक्षक दान बहादुर मल्लले भने, "अस्पतालमा क्षति नहोस् भनेर पक्राउ गरिएको हो।"
प्रकाश चन्द सरकारले प्रतिबन्ध लगाएको पार्टीको स्वास्थ्य सङ्गठनको केन्द्रीय महासचिव पनि रहेका छन्।
केही महिनाअघि बीबीसी नेपालीलाई दिएको विशेष अन्तर्वार्तामा उनले आफ्ना बुवा आन्दोलन छोडेर विद्यमान अवस्थामा राजनीतिको मूलधारमा आए भने पनि आफूहरूले त्यो नमान्ने बताएका थिए।
"यही धारमा, यही अवस्थामा मूलधारमा आउनुहुँदैन। विप्लवले मूलधारमा ल्याए पनि हामी मान्दैनौँ त्यो कुरा। पारिवारिक हिसाबले मेरो बुवा भए पनि यो तीन करोड नेपाली जनताको मुक्ति कि मृत्यु भन्ने विषय बनिसक्यो," उनले भनेका थिए।
मेडिकल कलेज के भन्छ?
चितवन मेडिकल कलेजले विज्ञप्ति जारी गर्दै आफूहरूलाई केही विद्यार्थी अगुवाहरूले अपाच्य भाषा प्रयोग गरी धम्की दिने गरेको बताएको छ।
"आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा हुल हुज्जत गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने, असहज परिस्थिति तयार गर्न खोज्ने जस्ता गैर जिम्मेवार र गैर कानुनी कामहरू भइरहेका छन्।"
कलेजले जिल्लाका सबै राजनीतिक दल समाजका अगुवा बुद्धिजीवी विभिन्न पेशाकर्मी र पत्रकार सबैलाई समस्या समाधानका लागि रचनात्मक सहयोगको भूमिका खेलिदिन पनि आग्रह गरेको छ।