तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल-भारत सीमाले छुट्याउन नसकेको भगवानपुरमा चल्छ नेपाली र भारतीयबीच उधारो
- Author, माधव नेपाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
भारतीय विदेशमन्त्री एस जयशङ्कर दुईदिने नेपाल भ्रमण सकेर बिहीवार स्वदेश फर्केका छन्।
उनकको भ्रमणका क्रममा नेपाल र भारतबीच द्विपक्षीय हितबारे कुराकानी भएको अधिकारीहरूले बताएका छन्।
नेपाल र भारतका उच्च अधिकारीहरूबीच हुने यस्ता भ्रमण र छलफलहरूमा द्विपक्षीय सीमा सुरक्षाबारे पनि बहस हुने गरेको छ।
तर नेपाल-भारत सीमा क्षेत्रका कतिपय यस्ता बस्तीहरू छन्, जहाँका बासिन्दालाई सीमारेखाले कहिल्यै छुट्ट्याएको छैन।
भौतिक पूर्वाधार वा बार–बन्देजले आफूहरूलाई भिन्न देशका नागरिकका रूपमा नछुट्याएको मात्र होइन, मानसिक रूपमा पनि आफूहरूलाई फरक मुलुकका नागरिक भएको अनुभूत नभएको त्यस्तो क्षेत्रका बासिन्दाहरू बताउँछन्।
त्यस्तै स्थान मध्येको एक हो - रुपन्देहीको सीमावर्ती क्षेत्र भगवानपुर।
एउटै नाम
यो स्थानमा सीमारेखा नभएको होइन। तर यहाँका बासिन्दालाई त्यो सीमारेखाले कुनै असर गरेको छैन।
त्यत्ति मात्र होइन, नेपाल र भारततर्फ उक्त ठाउँको नाम एउटै छ: सीमापारि भारतमा महराजगञ्ज जिल्लाको भगवानपुर र सीमावारि रुपन्देही जिल्लाको भगवानपुर।
जसरी यी गाउँहरूको नाम एउटै छ, त्यसैगरि यहाँका बासिन्दाहरूको रीतिरिवाज र भाषा समेत एकैखाले छ।
उनीहरूको सम्पर्क भाषा अवधी हो तर दुवैतर्फका नागरिकहरू उस्तैखाले टुटेफुटेको नेपाली भाषा पनि बोल्छन्।
भारततर्फको भगवानपुरमा पान पसल गर्ने ८० वर्षीय पञ्चम प्रसाद नेपाल आइरहन्छन्। नेपालतर्फ उनका नातेदारहरू पनि छन्।
उनी भन्छन्, "यो त हाम्रो एउटै टोलजस्तो हो नि। टोलटोलमा त गइहालिन्छ नि।"
भारततर्फकै प्रमोद जैसवाललाई पनि नेपातर्फको भगवानपुर आफ्नै ठाउँ जस्तो लाग्छ।
जैसवाल भन्छन्, "म बराबर नेपालतर्फ गइरहन्छु। त्यहाँ जाँदा सीमाको कुनै समस्या छैन।"
चिया पसले जैसवालका अनुसार वारिपारिका बासिन्दाबीच सरसापटी र उधारो पनि चल्छ।
उनले भने, "यहाँ अलग देश जस्तो केही पनि छैन। उधारो, ऋण र सापटी सबै चल्छ।"
सम्बन्ध
भारततर्फका बासिन्दाको मात्र होइन, नेपाल तर्फका बासिन्दाको अनुभव र सोचाइ पनि उस्तै छ।
रोहिणी गाउँपालिका-२ का अवधराज यादव भन्छन्, "हामीबीच विवाहदेखि लिएर सरसापटी सबै चल्छ। यताका सबैको वैवाहिक सम्बन्ध सीमापारि नै हुन्छ।"
बिर्ताबाट भारततर्फको भगवानपुरमा पङ्खा बनाउन गएका अनिल पत्थरकट्टाले पनि सीमाले जनताको सम्बन्ध छुट्ट्याउन नसकेको बताउँछन्।
उनी भन्छन्, "मलाई यहाँ आउँदा अर्को देशमा आएको जस्तो लाग्दैन।"
भारततर्फको भगवानपुर नपुग्दै नेपाल र भारतलाई छुट्ट्याउने सेतो सीमास्तम्भ देखिन्छ।
तर न त्यो सीमास्तम्भले दुई देशका नागरिकलाई भौतिक रूपमा नै टाढा बनाउन सकेको छ न त भावनात्मक रूपमा छुट्ट्याउन नै।