बाढीपीडित भन्छन्, 'जनप्रतिनिधि अझै आएनन्'

    • Author, ‏माधुरी महतो
    • Role, बीबीसी नेपाली सेवा
  • Published

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ बन्जराहाकी तेतरी खातुन हाल १५ दिनकी सुत्केरी हुन्।

आफूसहित आफ्ना जुम्ल्याहा बच्चाहरूलाई बाढीबाट जोगाउन सफल भए पनि सुत्केरी अवस्थामा पाउनुपर्ने सुविधा तथा खानपानबाट बञ्चित हुन पुगेको उनी गुनासो गर्छिन्।

भावुक हुँदै उनले भनिन्, 'म सुत्केरीले राहतमा पाएको विस्कुट चाउचाउ खाएर बसेको छु। यस्तो खानेकुराले आमाको पेट भरेर बच्चाहरूलाई कसरी खुवाउने? बेलाबेला पानी पनि परिरहन्छ। खेतको डिलमा पाल हालेर बसेका छौं। त्यसमाथि सर्पहरूको पनि बिगबिगी छ। आफू कसरी बाँच्ने बच्चाहरूलाई कसरी बचाउने, मलाई डर लागिरहन्छ।'

'मृत्यु कुर्नुको विकल्प छैन'

वर्षा लगत्तै आएको बाढीका कारण तेतरीको गाउँमा पुग्न डुंगाको सहायताले २ घण्टा भन्दा लाग्छ।

उक्त गाउँकी किशनी देवीले भनिन्, "कसैलाई केही भइहाले कसरी अस्पताल लैजाने? मृत्यु कुर्नुको अरु विकल्प केही छैन।"

बाढीका कारण रौतहटको बन्जराहाका अधिकांश जसो घर भत्केका छन्। बाढीले सबै सामान बगाएर लगेको छ र गाउँका अधिकांश मानिसहरू राहतमा आएको सामाग्रीकै भरमा बसेका छन्।

एक स्थानीय महिला सुनिता कुश्वाहा देवीले भनिन्, "बाढी आएपछि गाउँमा सबैभन्दा बढी गाह्रो खानेपानीको अभावले गर्दा हुन्छ। घर बगाउने र सामान बगाउने त वर्षेनी भोगेकै छौं।"

बाढीसँगै बगेर आउने सामानहरूले दुर्गन्ध र रोग फैलाउने अर्को समस्या रहेको बाढीपीडितहरूको गुनासो छ। खासगरी दैनिक गुजारा गर्ने मुख्य स्रोत रहेका आफ्नै वस्तुभाउलाई त्यसरी डुबाएको दुखेसो उनीहरूको छ।

असारको अन्तिम साता र साउनमा फेरि आएको वर्षाले बाढी प्रभावित क्षेत्रमा हजारौं मानिस घरबारविहीन हुँदा पनि स्थानीय जनप्रतिनिधि आफ्ना समस्या सुन्न नपुगेको गाउँलेहरू गुनासो गर्छन्।

अहिलेसम्म राहतको नाममा एक दुईवटा संघसंस्थाबाट चिउरा, दालमोठलगायतका खानेकुरा पाइएको उनीहरुले बताए।

रौतहट जस्तै सर्लाहीको सबै भन्दा बढी प्रभावित क्षेत्र धनकौल भन्ने ठाउँका गाउँलेहरूको पनि गुनासो उस्तै छ।

आर्थिक रुपले अति विपन्न मानिसहरूको बसोबास रहेको उक्त गाउँ बाढीपछि सधैँ एक्लो जस्तो हुने गरेको छ।

बाढीको बेला गाउँमा जाने आउने बाटो नै विस्थापित हुन गरेको उनीहरू बताउँछन्। त्यसकारण राहत पनि उनीहरूका लागि मुस्किल हुने गरेको छ।

हरेक वर्षको बाढीले उनीहरुले वर्षभरी गरेको मेहनत तथा परिश्रमलाई सखाप पार्ने गरेको उनीहरुले गुनासो गरे।

सर्लाही धनकौलका राजेश प्रसादले भने, "हरेक वर्ष बाढी आउँछ। हाम्रो घरखेत, बस्तुभाउ बगाउँछ। खाने के? गाउँमा कसैसँग बचेको एक दुई सय छ भने त्यही पैसाले किनेर सबैले बाडेर खाने गरेका छौँ। अब बाढी कम भएपछि फेरी कतै मेहनत मजदुरी गर्ने अनि फेरी सरसामान जोड्ने विचार गरेको छु।"

राजेश जस्तै यो गाउँका करिब ७० घरपरिवारको अवस्था छ।

त्यही गाउँकी सिता देवी भन्छिन् , "घरमा एक जना कमाउने अनि पाँचजना खाने छौं। बाढीले सरसामान मात्रै बगाएन हाम्रो खुशी पनि बगाईसकेको छ। ज्यान बचाउँदा आखाँ अगाडि सबै बगिरहँदा पनि केही बचाउन सकेनौं।"

धनकौल गाउँको दुवैतिर नदी छ। तर बाढीका बेला सहयोग गर्ने बाचा गरेका जनप्रतिनिधि नै आफ्नो गाउँसम्म आइनपुगेको फुलकलिया देवीले बताएकी छन्।

उनले भनिन्, "चिउरा, भुजा बाहेक पकाएको खाना हालसम्म खान पाएका छैनौं। गरिब भए पनि हाम्रो पनि एउटा खुसी परिवार थियो, अलिअलि सरसामान जोडेका थियौं। सबै लग्यो। हाम्रो गाउँमा अहिलेसम्म कोही जनप्रतिनिधि आईपुगेका छैनन्।"

तराईको सबैभन्दा बढी प्रभावित रौतहटको बन्जराहा र सर्लाहीको धनकौलको जस्तै अवस्था पर्साको विभिन्न ठाउँमा पनि रहेको छ।

बिचल्ली

पर्साको ठोरीमा रहेको सिकारीबास भन्ने ठाउँ सधै राज्य तथा स्थानीय तहको उपेक्षाको सिकार बन्दै आएको त्यहाँका स्थानीयवासीहरूको गुनासो छ।

पर्साको ठोरी गाँउपालिका वडा नम्बर ३ मा पर्ने शीकारीवास गाँउमा पिउने पानीका लागि चापाकल वा धारासमेत छैन। त्यहाँका स्थानीयवासीहरु वर्षौदेखि गाँउ छेउकै चिल्मेढरा खोलाको पानी पिउन बाध्य छन्। बाढीका कारण कतै निस्कन नपाउँदा उनीहरू अहिले पानीको अभावमा रहेको गुनासो गर्छन्।

सिकारीबासीकी सरिता श्रेष्ठले भनिन्, "भोट माग्न आएका जनप्रतिनिधि अहिले हामीले पानी खान नपाएका बेला चाहिँ आएका छैनन्।"

बाढीपीडितहरू मध्ये सबैभन्दा प्रभावित भएका पर्साको मोरटोलका ३५ घरपरिवारका स्थानीयवासीहरूको पनि अहिले विचल्ली छ।

गाउँको दक्षिण र उत्तरतर्फनै खोला रहेकोले बाढी आउने वितिक्कै गाउँमा रहेका दुईवटा पक्की घरको छतमा गएर बस्ने गरेको गाउँलेहरू बताउँछन्।

गाउँका अधिकांश युवाहरू वैदेशिक रोजगारीमा गएकाले गाउँमा केही विपद् पर्दा सघाउने हात पनि नभएको उक्त गाउँकी ७० वर्षीया वृद्धा सबरुन खातुनले बताइन्।

"विपद् पर्दा फोन गर्यो भने जनप्रतिनिधिको उठ्दैन। मोबाइल स्वीच अफ भनेको सुनिन्छ। अनि पछि आफूलाई जानकारी नै नभएको जस्तो गर्नुहुन्छ," मोरटोलकी फुलपती देवीले बताइन्।

'दलित'को दुख

बाढीपीडित मध्ये पनि दलितहरूको दुख अझ बढी रहेको बताइन्छ।

पर्साको बेल्वास्थित मुसहर बस्तीमा बसोबास गर्दै आएको दलित समुदायका मानिसहरूलाई उद्धारमा दलित भएकै कारण समस्या हुने गरेको छ।

दलित समुदायकी किसमतीया देवीले भनिन्, "बाढीको पानी पसेपछि हामी ज्यान जोगाउन नजिकैको विद्यालयमा गयौँ तर दलितलाई विद्यालयमा छिर्न नदिने भन्दै हाम्रा लागि गेट खोलिएन। वडा अध्यक्षले समेत दलित हो विद्यालयमा पस्न पाइँदैन भनेर प्रतिक्रिया दिएपछि बालबच्चा सहित हामी बाहिर बस्न बाध्य भयौँ।"