तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दक्षिण कोरियाद्वारा रुसी विमानमाथि चेतावनीस्वरुप गोली प्रहार
दक्षिण कोरियाले रुसी ए-५० सैनिक विमानले आफ्नो आकाशमा बिनाअनुमति प्रवेश गरेपछि चेतावनी स्वरूप गोली प्रहार गरेको बताएको छ।
रक्षा मन्त्रालयका अधिकारीहरूले जापानले आफ्नो भूभाग दाबी गर्ने कोरियाको डोक्डो/ताकेशीमा टापुमाथि सो विमान उडेको बताएका छन्।
दक्षिण कोरियाले लडाकु विमानहरू जम्मा गरेको र सो विमानलाई चेतावनी दिन झिल्काहरू खसालेको र गोली प्रहार गरेको बताएको छ।
रुसी विमान केही मिनेटपछि फर्कदा पनि केही गोली प्रहार गरिएको थियो।
रुस र दक्षिण कोरियाबीचको यो यस्तो खालको पहिलो घटना हो।
मस्कोले आफ्नो विमानले अन्तर्राष्ट्रिय आकाशमा अभ्यास गरेको बताउँदै दक्षिण कोरियाको आकाशमा उडेको कुरा गलत भएको बताएको छ।
दक्षिण कोरियाको भनाइ
दक्षिण कोरियाली सेनाका अनुसार तीन रुसी र दुई चिनियाँ सैनिक विमान कोरियाको पूर्वअनुमति आवश्यक पर्ने आकाशमा मङ्गलवार बिहान प्रवेश गरेका थिए।
हालैका वर्षहरूमा सो स्थानमा रुसी र चिनियाँ लडाकु विमानहरू पसेको घटनाहरू भएका छन्।
तर तीमध्येको एउटा विमान कोरियाली भूभागमाथिको आकाशमा प्रवेश गरेको थियो।
दक्षिण कोरियाका एफ-१५के र एफ-१६के विमानहरूले सो विमानलाई चेतावनी दिएका थिए।
दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा कार्यालय, न्याश्नल सेक्युरिटी अफिस, का प्रमुख चुङ इयु-योङले रुसको सुरक्षा परिषद्लाई यससम्बन्धमा आवश्यक कदम चाल्न भनेका छन्।
उनले भनेका छन्: "यो अवस्थाका बारेमा हामी धेरै गम्भीर छौँ र यो फेरी दोहरियो भने कडा कदम चाल्नेछौँ।"
चीनले यससम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन।