आमाहरूको आग्रह, 'बन्दको विकल्प खोजियोस्'

    • Author, वसुन्धरा गौतम, दाङ
    • Role, बीबीसी नेपाली सेवा
  • Published

सरकारलाई दबाब दिने नाममा राजनीतिक उद्देश्यले गरिने बन्दका कारण आफूहरूलाई समस्या पर्ने गरेको विद्यालय जाने उमेर भएका बालकालिका अभिभावकहरूले गुनासो गरेका छन्।

दैनिक गुजाराका लागि बाबु र आमा दुवैजना काम गर्ने अभिभावकलाई बन्दले सबैभन्दा बढी समस्या पार्ने गरेको उनीहरूको भनाइ छ।

कहिले नेपाल बन्द त कहिले शैक्षिक हड्तालका नाममा हुने विद्यालय बन्दले बालबालिकाहरूमा पनि नकारात्मक असर परेको अभिभावकहरू बताउँछन्।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्त्वको नपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना एकजना कार्यकर्ताको हत्या भएको भन्दै विरोधमा मङ्गलवार नेपाल बन्द गरेपछि त्यसको मारमा आफूहरू परेको अभिभावकहरूको गुनासो छ।

लथालिङ्ग दैनिकी

त्यस्तै मध्येकी एक दाङको घोराहीमा भेटिएकी प्रमिला दाहालले बिहानै अचानक बन्दको खबर सुनेपछि आफ्नो मङ्गलवारको दैनिकी नै बिग्रिएको बताइन्।

उनी भन्छिन्, "बच्चाबच्ची स्कुल जाने तयारी गर्दै थिए, अचानक बन्दको कुरा आयो। म अफिस जाने मान्छे तर अचानक स्कुल बन्द हुने सुनेपछि बालबालिकालाई कहाँ लानु? समस्या भयो।"

अर्की अभिभावक मञ्जु शर्मालाई चाहिँ पटक-पटक हुने बन्दले बालबालिकामा नकारात्मक सोच बढेको महसुस भएको रहेछ।

उनले भनिन्, "दुई महिना बित्न नपाउँदै भएको बन्दका कारण बालबालिकामा देशप्रतिको सोच नै नकारात्मक भइरहेको छ। पछि उनीहरू विदेश पलायन हुने कारण यस्तै यस्तै अस्तव्यस्तता होलान् नि!"

बन्दका कारण बालबालिकाको व्यवस्थापनमा आमाहरूले नै बढी समस्या भोग्ने गरेको उनीहरू बताउँछन्।

सास्ती

कतिपयले बन्दकै कारण अत्यावश्यक काममा समेत छोराछोरीलाई साथमा लिएर हिड्नु परेको गुनासो गरेका छन्।

गाउँबाट हिडेरै थेरापीका लागि घोराही आएकी भिमा बिकले आफ्ना दुईजना छोराछोरी साथमै लिएर आएकी थिइन्।

उनले भनिन्, "मैले नियमित थेरापी गर्नुपर्छ। आज बन्द भएकाले नानीहरू साथमा लिएर टाढाबाट हिडेर आउनु पर्‍यो।"

कतिपयले भने बन्दका कारण रोजीरोटीमै समस्या पुगेको बताएका छन्।

त्यस्तै मध्येकी एक हुन् सितली पुन।

उनी भन्छिन्, "गाडी चलेको छैन। बन्द छ। गरिखानेलाई अप्ठेरो छ।"

अभिभावक र शिक्षकहरू बन्दलाई राजनीतिको हतियार नबनाउन आग्रह गर्छन्।

अन्य क्षेत्रमा बन्द गरिए पनि शैक्षिक हड्तान हुनु नहुने उनीहरूको तर्क छ।

आग्रह

एकजना शिक्षिका देवा पौडेल भन्छिन्, "बन्दको विकल्प खोजियोस्। वार्ता र छलफलबाट समस्याहरू समाधान हुन्।"

शिक्षाविद् पनि विद्यालयलाई शान्ति क्षेत्र भनिए पनि त्यो लागु हुन नसकेको बताउँछन्।

एकजना शिक्षाविद् सुसन आचार्य भन्छिन्, "कुनै पनि दलले शिक्षा क्षेत्रमा पनि असर पर्ने गरि बन्द गर्नु उचित होइन। पहिले माओवादीले बन्द गर्थे अहिले सत्तामा पुगेपछि त उनीहरूलाई पनि योग्य मान्छे चाहिएको छ नि! विद्यालय बन्द गर्दा भविष्यका लागि त्यस्तै योग्य व्यक्तिको उत्पादन हुन सक्दैन।"

अहिले विप्लव नेतृत्वको नेकपाले जस्तै अन्य राजनीतिक दलहरूले पनि बेलाबेला यस्तै बन्द र हड्ताल गर्ने गरेका छन्।

सत्तामा हुँदा बन्द र हड्ताललाई निषेध गर्ने भनेर राग अलाप्ने दलहरूले पनि प्रतिपक्षमा पुग्दा भने त्यसैलाई आफ्ना मागहरू पूरा गराउने हतियार बनाउने गर्नु उचित नभएको आचार्यको तर्क छ।

उनी भन्छिन्, "सरकारले पनि सुरक्षा प्रदान गर्नुपर्छ।"