तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रसुवा पहिरो: सुरुङभित्र थुनिएका एक कामदारको अनुभव
रसुवा जलविद्युत आयोजनाको सुरुङ बाहिर सुख्खा पहिरो खस्दा भित्र थुनिनु परेकाहरूले रातको अँध्यारोमा चार घण्टा कसरी बिताए? ती मध्ये एक कामदार रत्नसिंह पुजारसँगको कुराकानी।
सुख्खा पहिरो गएको भन्नुहुन्छ, कति बजेतिर गएको हो?
राति ८ बजेतिर।
तपाईँहरू त्यहाँ के गर्दै हुनुहुन्थ्यो?
सुरुङभित्र ड्रिलिङ गरेर थप काम गर्नुपर्ने थियो। हामी ड्रिलिङ गर्दै थियौं। माथिबाट एक्कासी पहिरो आएछ थाहै भएन।
कतिजना हुनुहुन्थ्यो?
हामी ११ जना नेपाली र छजना चिनियाँ गरी जम्मा १७ जना थियौँ। हामी ११ जना काम गर्ने मजदुरहरू थियौँ। काम गर्दैगर्दा माथिबाट पहिरो आएछ त्यसपछि भित्र काम गर्ने ठाउँमा समस्या भयो।
त्यहाँ पहिरो आयो भनेर तपाईँहरूले ठ्याक्कै कसरी थाहा पाउनुभयो?
पुरै माथितिर पहाड छ। हामी काम गर्ने ठाउँबाट पनि पहिरोको आवाज, ढुङ्गाहरू गुड्दै आएको आवाज सुन्यौँ। बत्ति गएपछि पहिरो आएको निश्चित जस्तै भयो। साथै हाम्रो सुपरभाइजर एक जना चिनियाँले बाहिर बुझ्न जाँदा सुख्खा पहिरो गइरहेको, माथिबाट ढुङ्गाहरू गुड्दै आएको भन्ने थाहा भयो।
त्यस्तो थाहा भएपछि तपाईँहरू कसरी बस्नुभयो, अन्धकार भयो होला?
अँ अन्धकारमै बसियो। साथीहरू एक आपसमा कुराकानी गर्यौँ, के हुने होला? भनेर। अलिअलि मनमा डर लाग्यो। चिनियाँहरु पनि साथमै थिए, कुराकानी भयो। यो पुरै भत्किँदैन बाहिर मात्रै गएको हो पहिरो भन्ने भयो।
कति समय जति त्यसरी भित्र बस्नुभयो तपाईहरू?
हामी लगभग चार-पाँच घण्टा बस्यौँ सुरुङभित्र।
चार पाँच घण्टा कसरी बिताउनुभयो?
हामी खासै आत्तिएनौं। साथीसाथी एक आपसमा कुरा गर्दै बस्यौँ। बाहिर ढुङ्गा झरेको सुनिन्थ्यो। पहिरो आउला भन्ने थाहा थिएन तर आइहाल्यो। बाहिरबाट आवाज दिँदै थिए, नआत्तिनु भनेर।
त्यसपछि तपाईँहरू कतिखेर निस्कनुभयो? कसरी निस्कनु भयो?
चार घण्टा हामी त्यहीँ बस्यौँ। पहिरो रोकिएपछि एकजना चिनियाँ साथी बाहिर हेर्न जानुभयो। पहिरो रोकिएछ भन्ने जानकारी भएपछि हामी सबै बाहिर निस्क्यौँ।
कोहीले बिहान उद्धार गरेको भनेका छन्, तपाईँ राति नै निस्कनुभएको हो?
होइन हामी त पहिरो रोकिए पछि रात्ति १२ बजे तिरै निस्किन सफल भएको हो।
सबै जना?
सबै राति नै निस्केर आएका हौँ।
राति बत्ति गएर अँध्यारो थियो होला, मध्यरातमा कसरी निस्केर आउनुभयो?
हामीहरुसँग टर्च लाइटहरू थिए। पहिरो आएको आवाज रोकियो। बाहिरबाट पनि पहिरो रोकिएको जानकारी आएपछि निस्क्यौँ ।
यहाँ कति वर्ष भयो काम गरेको?
मैले यहाँ काम गरेको तीन वर्ष जति भयो ।
हाइड्रोपावरमा काम गर्दा यस्ता समस्या पहिले पनि भएको थियो कि?
भूकम्पको बेला पहिरो गएको थियो। तर पछि त्यस्तो समस्या भएको थिएन। बीचमा एउटा सानो समस्या भएको थियो तर अहिले जस्तो ठूलो होइन।
तपाईँले बाहिर पनि सम्पर्क भइरहेको थियो भन्नुहुन्छ? बाहिर कसरी सम्पर्क भइरहेको थियो?
हामीहरू करिब तीन-चार मिटर भित्र मात्र थियौं, बाहिर सम्पर्क गर्न वाकीटकी थियो हाम्रो टोलीसँग।
अहिले के गर्दैहुनुहुन्छ तपाईँहरू?
अहिले हामीहरू बस्ने कोठामै। बेला बखत ढुङ्गाहरू खस्दै गरेकाले काम बन्द भएको छ।
तपाईहरू अवस्था कस्तो छ अहिले?
एकदम ठिक छौं।
त्यस्तो सुरुङभित्र समस्या परेमा कसरी बच्न सकिँदोरहेछ, केही भन्न सक्नुहुन्छ?
बाहिरबाट अक्सिज आउन बन्द भयो भने भन्न सकिन्न। प्वाल बन्द भएको थिएन, अक्सिजन आइरहेको थियो। धेरै ठुलो पहिरो होइन, अक्सिजन बन्द नहुँदासम्म केही हुँदैन। आत्तिनुहुँदैन ।
तपाईँका साथीहरूलाई कस्तो छ?
सबैलाई ठिकै छ, अहिले हामी सबै आराम गरेर बसेका छौँ। पहिरो रोकियो भने काम सुरु हुन्छ। पहिरो आइरह्यो भने कहिले सुरु हुन्छ ठेगान हुँदैन ।
तपाईहरूले दिनमा कति घण्टा काम गर्नु पर्छ त्यहाँ?
नौ घण्टा काम गर्नुपर्छ। अनि ओभरटाइम गर्न चाह्यो भने तीन घण्टा गर्न पाइन्छ। १५/ १५ दिनमा 'ड्युटी' परिर्वतन हुन्छ। १५ दिन राति र १५ दिन दिउँसो काम पर्छ।
(रत्नसिंह पुजारसँग बीबीसी नेपाली सेवाकी शक्तिमाया तामाङले गरेको कुराकानी)