तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत: मासिक शुल्क नतिरेका विद्यार्थीको पाखुरामा छाप
भारतको पञ्जाब प्रान्तको एक निजी विद्यालयले मासिक शुल्क दुई महिनासम्म नबुझाएको भनेर बच्चाको हातमा छाप हानेपछि विवाद सुरु भएको छ।
प्रान्तीय शिक्षा अधिकारीहरूले स्कूलको मासिक शुल्क नबुझाएकोमा हातमा छाप हानेको घटनाको अनुसन्धान गरिरहेको बताएका छन्।
तेर्ह वर्षीय बालकका परिवारले 'अपमानजनक' घटनापछि बालक विद्यालय जान नमानेको बताएको छ।
लुधियाना शहरको निजी विद्यालयका प्रधानाध्यापकले त्यस्तो छाप लगाएको स्वीकार्दै बच्चाले "कापी ल्याउन बिर्सेकाले" शुल्कको सूचना दिन छाप लगाइएको बताए।
उनले छाप पखाल्न मिल्ने खालको भन्दै शिक्षकले गरेका काम भने गलत भनेका छन्।
विद्यालयले पटक पटक सूचना गर्दा पनि ती बच्चाको परिवारले दुई महिनादेखि शुल्क नतिरेको बताएको छ।
तर परिवारले त्यस्तो व्यवहार अनुपयुक्त रहेको बताएको छ।
टेम्पो चलाएर दैनिकी चलाउने बच्चाका बाबुले भने, "शुल्क माग्ने यो तरिका पटक्कै सही होइन।"
उनले पैसा तिर्न स्कूलसँग केही समय मागेको बताए। बच्चाको हातमा छाप हानेपछि आफ्नो परिवारले नै 'अपमानित' महसुस गरिरहेको उनले बताए।
शिक्षा अधिकारी स्वर्णजीत कौरले विद्यालयले त्यसो गर्नु "निश्चित रुपमा गलत" भएको भन्दै दोषीलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गरे।