भारतको महाराष्ट्रमा माओवादी आक्रमण, १६ सुरक्षाकर्मीको मृत्यु

Published
पढ्ने समय: १ मिनेट

भारतको महाराष्ट्र राज्यमा एउटा माओवादी आक्रमण हुँदा १६ जना सुरक्षाकर्मीको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

महाराष्ट्रको गढचिरौलीमा माओवादीहरूले प्रहरीको टोली चढेको गाडीमा आक्रमण गरेका थिए।

सो गाडीमा महाराष्ट्र राज्यको विशेष सुरक्षादल सी-६० का १६ जवान चढेको बताइएको छ।

माओवादीले दुई दर्जनभन्दा बढी गाडी जलाएको सूचना पाएपछि प्रहरी घटनास्थलमा जाँदा उक्त साङ्घातिक आक्रमण भएको थियो।

गढचिरौली महाराष्ट्रको माओवादीबाट अतिप्रभावित क्षेत्र हो।

माओवादी विद्रोहलाई नियन्त्रण गर्न महाराष्ट्र प्रहरीले सी-६० नामक सो विशेष सुरक्षाबल बनाएको थियो।

भारतमा माओवादी विद्रोह

  • भारतमा माओवादी विद्रोह पश्चिम बङ्गालको दुर्गम स्थानमा सन् १९६० मा भयो
  • नक्सलबाडीबाट सुरु भएकाले यो आन्दोलनलाई नक्सलवादी आन्दोलन पनि भनिन्छ
  • भारतका प्रमुख आन्तरिक सुरक्षा चुनौतीमध्ये माओवादी आन्दोलनलाई पनि मानिन्छ
  • भारतीय सुरक्षाकर्मीले नक्सलबाडीको विद्रोह दमन गरेको भए पनि पछि माओवादीहरू सङ्गठित भए र पूर्वी तथा मध्य भारतको ठूलो क्षेत्रमा फैलिए
  • माओवादीहरू फैलिएको क्षेत्रलाई रेड करिडोर भनिन्छ
  • यो क्षेत्रमा झारखण्ड, पश्चिम बङ्गाल, ओडिसा, बिहार, छत्तीसगढ र उत्तर प्रदेश पर्छन्
  • माओवादीको केही प्रभाव उत्तर प्रदेश,महाराष्ट्र तथा कर्नाटक राज्यमा पनि छ