रुस-युक्रेन तनाव: ईयूद्वारा रुसी नियन्त्रणमा रहेका युक्रेनी जहाज र चालक दल रिहाइको माग

Published

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई क्राइमियासँग नौसैनिक सङ्घर्ष गरेर सन् २०१९ मा हुने निर्वाचनअघि आफ्नो क्षमता प्रदर्शन गर्न खोजेको आरोप लगाएका छन्।

रुसी राष्ट्रपति पुटिनले दुई देशबीच तनाव चर्काउन युक्रेनी नेताले त्यसो गरेको बताएका छन्।

तर युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले युक्रेनी जहाजमाथिको रुसी नियन्त्रण घटनालाई रुसको उद्दण्ड कार्य भनेका छन्।

युरोपेली सङ्घ 'ईयू'ले युक्रेन र रुसबीच चर्किँदै गरेको तनावबारे गम्भीर चासो देखाउँदै रुसको कदम अस्वीकार्य भएको जनाएको छ। रुसविरुद्ध नयाँ प्रतिबन्धहरूबारे उसले कुनै उल्लेख गरेको छैन।

उसले युक्रेनको सार्वभौमिकताको सम्मान गर्दै रुसी नियन्त्रणमा रहेका युक्रेनी नौसैनिक जहाज र तिनका चालक दलका सदस्यहरूलाई रिहाइ गर्न रुसलाई भनेको छ।

रिहाइ

पोलन्डले मस्कोमाथि नयाँ प्रतिबन्ध चाहेको थियो भने फ्रान्स र जर्मनीले जारी तनाव न्यूनीकरणको कामना गरेका थिए।

ब्ल्याक सी र सी अफ आजोभबीचको एक मात्र जलमार्ग कर्च स्ट्रेटमुनि एउटा ट्याङ्कर राखेर अवरोध सिर्जना गरी जहाजहरू नियन्त्रणमा लिएपछि चर्किएको तनावका कारण कम्तीमा तीन युक्रेनी नाविकहरू घाइते भएका थिए।

रुसले सन् २०१४ मा युक्रेनबाट खोसेर क्राइमिया प्राय:द्वीपलाई आफ्नो भूभागमा गाभेको थियो।

युक्रेनका तीनवटा नौसैनिक डुङ्गाहरू ओडेसाबाट युक्रेनको प्रमुख बन्दरगाह मारियुपोलतर्फ अघिबढिरहँदा रुसी फौजले तिनीमाथि आक्रमण गरेका थिए।

अदालतको आदेश

सन् २००३ मा मस्को तथा कियभस्थित सरकारहरूबीच भएको सन्धिअनुसार कर्च स्ट्रेट जलमार्ग र सी अफ आजोफ दुवै देशका साझा समुद्री क्षेत्र हुन्।

तर यो वर्ष रुसले सी अफ आजोभतर्फ अघि बढ्ने क्राइमियाको कर्च स्ट्रेट जलमार्ग र रुस जोड्ने पुल खुलाएपछि तनाव बढेको हो।

रुसले नियतवश कर्च स्ट्रेट जलमार्गमा अवरोध गरिरहेको युक्रेनको आरोप छ।

क्राइमियाको अदालतले नियन्त्रणमा रहेका नौसेनाका २४ सदस्यलाई पुर्पक्षको लागि दुई महिना थुनामा राख्ने आदेश सुनाएको छ।