डलरको उकालो: भारुसँग नेरुको साइनो किन तोड्न सकिन्न?

    • Author, सञ्जय ढकाल
    • Role, सम्वाददाता, बीबीसी न्यूज नेपाली
  • Published

केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ ऐतिहासिक स्तरमै कमजोर भइरहेको छ।

निरन्तर बढ्दै अहिले (असोज २, २०७५) एक अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँको बिक्री दर ११६ नाघिसकेको छ।

यसले चौतर्फी असरहरू नेपाली अर्थतन्त्रमा पार्न थालिसकेको छ। आयातमा पूर्णत: निर्भर नेपालको आयातको खर्च अकासिएको छ।

उसै त डरलाग्दो व्यापार घाटा, असारमा सकिएको पछिल्लो आर्थिक वर्षमा साढे ११ खर्ब रुपैयाँ पुग्यो।

बाह्य प्रभाव

नेपाली रुपैयाँको यो नाजुक अवस्थाको मूल कारण भने नेपालभित्र छैन।

दशकौँदेखि नेपालले अख्तियार गर्दै आएको प्रमुख मौद्रिक नीति भनेको नेपाली रुपैयाँलाई छिमेकी भारतीय रुपैयाँसँग स्थिर विनिमय दरमा राखिरहनु हो। हाल १०० भारु बराबर १६० नेरुको स्थिर विनिमय दर कायम छ।

तर विभिन्न आन्तरिक तथा बाह्य कारणले भारु डलरको तुलनामा लगातार खस्किरहेको छ।

भारुकै बुई चढेको नेरु स्वाभाविक रूपमा उस्तै गतिमा ओरालो लागेको छ।

त्यसो भए भारुसँगको स्थिर विनिमयको साइनो चटक्क छाड्न नेपालले किन सक्दैन?

यसका विभिन्न कारण छन्। लामो समय नेपाल राष्ट्र ब्याङ्कमा बिताएका पूर्वडेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले ती केही प्रमुख कारणको व्याख्या गरेका छन्।

१. ऐतिहासिक पृष्ठभूमि

नेपाली रुपैयाँले भारतीय रुपैयाँसँग स्थिर विनिमय प्रणाली अवलम्बन गरेको २०१७ साल वैशाख १ गतेदेखि हो।

त्यतिखेर पनि १०० भारु बराबर १६० नेरु कै दर कायम गरियो। पछि विभिन्न समयमा त्यो दर १०१, १३५, १४२, १७०, १६८ बनाइयो तर फेरि अहिले निकै लामो समयदेखि उक्त दर १६० मै कायम छ। २०१३ सालमा राष्ट्र ब्याङ्कको गठन हुँदाताका नेपालभरि भारु छ्याप्छ्याप्ती चल्थ्यो।

विराटनगरमा एउटा दर, वीरगन्जमा अर्को दर अनि बिहान एउटा दर र बेलुकी अर्को दर हुने त्यो अस्थिर समय थियो।

त्यस्तो अस्थिरतालाई हटाएर देशकै मुद्रा स्थिर ढङ्गले चलाउने मूल उद्देश्य बोकेको राष्ट्र ब्याङ्कले २०१७ सालमा आएर त्यसो गर्न सकेको हो।

त्यस कारण पनि भारुसँगको स्थिर विनिमय प्रणालीलाई वर्षौँदेखि कायम राखिएको हो।

२. व्यापारको संरचना

नेपालले भारुलाई नै किन रोज्यो त स्थिर विनिमय प्रणाली अवलम्बन गर्न? यो प्रश्नको जवाफ सरल छ।

छिमेकी देश, ठूलो अर्थतन्त्र, व्यापारदेखि सामाजिक सांस्कृतिक सम्बन्ध, खुला सिमाना र कारोबार - अनि त्योभन्दा पनि महत्त्वपूर्ण कारण भारतसँगको व्यापारको परिमाण।

अहिले पनि नेपालको वैदेशिक व्यापारको दुई तिहाई अंश भारतसँगै हुन्छ।

रेमिटेन्सबाट कमाएको विदेशी मुद्रा प्रयोग गरेर खर्बौँको आयात धान्नुपरेको छ। ती सामान किन्न ठूलो मात्रामा भारु चाहिन्छ।

केही वर्षयताको आँकडा हेर्ने हो भने वार्षिक करिब चार अर्ब डलर बराबर विदेशी मुद्रा बेचेर राष्ट्र ब्याङ्कले भारु किन्ने गरेको छ।

त्यसैलाई वाणिज्य ब्याङ्कहरूमार्फत् आयातकर्ताहरूले सामान ल्याउन प्रयोग गर्छन्। यस्तो स्थितिमा व्यापारको संरचना नबदलिएसम्म विनिमय प्रणाली फेरबदल गर्नु घातक हुन सक्छ।

३. अर्थतन्त्रमा आवश्यक स्थिरता प्रदान

यदि आजको दिनमा नेपालले भारुसँगको स्थिर विनिमय दर त्यागेमा के होला?

अहिलेको नेपालको आर्थिक संरचनालाई विचार गर्दा त्यसले अनिश्चय निम्त्याउनेबाहेक केही गर्नेछैन।

भारुको उतारचढावले नेपाली रुपैयाँलाई र नेपाली अर्थतन्त्रलाई साँच्चै प्रभाव पारेकै छ।

आयात महँगो भएका छन् तर त्यसको अर्को असर भनेको रेमिट्यान्स बढेको छ र केही न केही परिमाणमा हामीलाई पर्यटन, निर्यात जस्ता क्षेत्रमा राम्रा प्रभाव पनि परेका छन्।

भारु आफैँ पनि अमेरिकी डलरको तुलनामा एक्लै खस्किरहेको छैन। ऊभन्दा धेरै खराब हालत अन्य उदीयमान अर्थतन्त्र भएका देशहरूको मुद्राको छ जस्तो कि ब्राजील या टर्की।

त्यसैले भारुको बुईबाट झर्ने बेला भएको छैन।

४. नबिग्रिएको विषय

जुन चिज बिग्रिएको छैन त्यसलाई किन बनाउन खोज्ने?

कुनै घडीले ठिकठाक समय बताइरहेको छ भने त्यो खोलेर किन हेर्नुपर्‍यो?

भारुसँगको स्थिर विनिमय दरका कारण नेपालको अर्थतन्त्रलाई घातक असर परेको छैन र अहिलेसम्म त्यसले अपेक्षित रूपमै काम गरिरहेको छ।

करिब एक दशकअघि बजारमा जब नेपालले भारुसँगको स्थिर विनिमय प्रणालीमा समीक्षा गर्न लागेको भन्ने खालका चर्चा चले त्यतिखेर अन्तर्राष्ट्रिय मुद्रा कोषको टोली नै नेपालमा आएर सोधपुछ गरेको थियो।

उसले नेपाली अर्थतन्त्रलाई हानि हुनसक्ने भन्दै स्थिर विनिमय प्रणाली कायम राख्ने सुझाव दिने गरेको छ।

अन्त्यमा

कुनै देशले अन्य देशको मुद्रासँग स्थिर विनिमय प्रणाली कायम गर्नु संसारमा प्रचलित नै छ।

कैयौँ देशले आफ्नो मुद्रालाई अमेरिकी डलरसँग स्थिर विनिमयमा राखेका छन्।

नेपालले चाहिँ भारुलाई रोजेको छ।

यसो गर्दा सो मुद्राको स्वामित्व प्राप्त मुलुकसँग खासै केही सम्झौता गर्नुपर्दैन।

मानन्धर भन्छन्, "यो त मेरो फोटो कसैले लगेर पूजा गरेको जस्तो हो। त्यसो नगर भनेर कसैले भन्न पनि मिल्दैन।"