तापक्रम वृद्धिले कसरी अन्नबालीमा असर पुर्याउँछ

Published

किराफट्याङ्ग्रामा गरिएको एउटा नयाँ अनुसन्धानले तापक्रम वृद्धिले अन्नबालीमा ठूलो नोक्सानी हुने चेतावनी दिएको छ।

वाशिङ्टन र भर्मन्ट विश्वविद्यालयका वैज्ञानिकहरूले उच्च तापक्रम भएका क्षेत्रमा किराफट्याङ्ग्राको वृद्धि तीव्र रूपमा विकास हुने र तिनीहरूले धेरै बाली नष्ट गर्ने बताएका छन्।

तापक्रम वृद्धिले अब सबैभन्दा बढी चिसो क्षेत्रहरू प्रभावित हुने बताइएको छ।

त्यहाँ हुने गहुँ र मकै उत्पादनमा २० देखि ५० प्रतिशतसम्म कमी आउने अनुमान गरिएको छ।

समाधान

गर्मी क्षेत्रमा भने अहिले नै किराफट्याङ्ग्राको उल्लेख्य वृद्धि भएको र त्यसले बालीमा चरम असर गरेको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले बताएका छन्। ती क्षेत्रमा तापक्रम वृद्धिको असर कम देखिनेछ।

विश्वभरि बर्सेनि करोडौँ टन अन्न किराफट्याङ्ग्राले नष्ट गर्ने बताइन्छ।

वाशिङ्टन विश्वविद्यालयका एकजना अनुसन्धानकर्ताले बीबीसीलाई भने, "अहिले १२ वटा पाउरोटीमध्ये एउटा पाउरोटी बनाउन चाहिने बराबरको बाली नष्ट गर्छ किराफट्याङ्ग्राले। तर यदि जलवायु परिवर्तन यसैगरी भइरह्यो भने यो शताब्दीको अन्त्यसम्ममा किराफट्याङ्ग्राले १२ मध्ये दुईवटा पाउरोटी बराबरको पिठो नष्ट गर्नेछ।"

अनुवांशिक रूपमा संशोधन गरिएको बाली लगाएर, बालीको चक्र परिवर्तन गरेर र कीटनाशक विषादीको प्रयोग गरेर किराफट्याङ्ग्रा र तिनले गर्ने असर न्यूनीकरण गर्न सकिन्छ।