भएभरको पैसा समाजसेवामा लगाउने होमबहादुर

Published

बागलुङको धम्जामा जन्मिएर जैमुनी नगरपालिका-८ क्षिस्तीलाई कर्मथलो बनाएका ६८ वर्षीय होमबहादुर क्षेत्रीले आफू र आफ्ना सबै जायजेथा समाजसेवामा लगाएका छन्।

क्षिस्तीस्थित संस्कृति माध्यामिक विद्यालय बेलबगरमा उनले ३४ सालदेखि कार्यालय सहयोगीका रूपमा काम गरे।

काम गरेर आएको रकम आफ्ना लागि नराखेको उनी बताउँछन्।

उनी भन्छन्, भएभरको पैसा गाउँकै सेवामा लगाएको छु।

विद्यालय, सडक, आमा समूह, क्लब लगायतका ठाउँमा उनले सक्दो सहयोग गर्दै गए।

एक्लो

दुःखी, गरीबका छोराछोरीले पढ्न सकून् भनेर सहयोग गर्ने गरेको उनी बताउँछन् ।

९ वर्षको हुँदा परिवार छोडेर हिँडेका उनी अहिले एक्लै छन्।

आफू मर्नु अघिसम्म कमाएको पैसा अर्काको सहयोगमा खर्चिने उनको प्रण छ।

बिहान ४ बजे उठेर ९ बजेसम्म उनी आफ्नो र गाउँको काम गर्छन्।

त्यसपछि उनी विद्यालय जान्छन् र दिउँसो ५ बजेसम्म काम गर्छन्।

सम्मान

फेरि एक छाक खानका लागि उनी काम गर्ने गरेको बताउँछन्।

रोजगारका लागि विदेश जाने युवाहरूलाई ८ घण्टा नेपालमै मेहनतका साथ काम गर्ने हो भने 'अमेरिका र जापानबाट आउने पैसा' यही कमाउन सकिने उनी बताउँछन्।

शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका होमबहादुर क्षेत्रीलाई गाउँलेहरूले पनि धेरै सम्मान गर्छन्।

गाउँलेहरू केही पर्दा उनैलाई बोलाउँछन्।

आगामी दिनमा पनि समाजसेवामा सक्रिय रहिरहने होमबहादुर क्षेत्रीको धोको छ।