स्पेनमा राखोयलाई विस्थापित गरी सान्चेथ प्रधानमन्त्री

Published

स्पेनका नयाँ प्रधानमन्त्री पेड्रो सान्चेथले त्यहाँको प्रजातन्त्रले नयाँ अध्याय सुरु गरेको बताएका छन्।

स्पेनको आधुनिक इतिहासमा संसद्‌मा विश्वासको मत गुमाउने मारिआनो राखोय पहिलो नेता बनेका छन्।

गत महिना राखोएको पिपुल्स पार्टी एउटा ठूलो भ्रष्टाचार काण्डमा मुछिएपछि सोसलिष्ट पार्टीले अविश्वासको प्रस्ताव ल्याएको थियो।

स्वीकार

राखोएलाई विस्थापित गरेका सोसलिस्ट पार्टीका प्रमुख पेड्रो सान्चेथलाई बधाई दिन उनी गएको नाटकीय दृश्य मड्रिडको संसद्‌मा देखिएको थियो।

परिणामपश्चात् बोल्दै उनले भने, "एक प्रजातन्त्रवादीको हैसियतले म यस परिणामलाई स्वीकार्छु। आफूले कार्यभार सम्हालेभन्दा राम्रो हालतमा स्पेनलाई पुर्‍याउन पाएको सम्मानित अनुभव गर्छु।"

सान्चेथको पार्टीले संसद्‌मा एकचौथाइ सिट मात्र ओगटेको छ।

मतदानपूर्व राखोयको सरकारले क्याटलोनियाको क्षेत्रीय प्रशासनको नेतृत्व गर्ने पृथक्तावादी नेताले प्रस्ताव गरेको त्यहाँको क्याबिनेटका सदस्यहरूको सूची सदर गरेको थियो।