दुई कोरियाबीचको सहमतिपछि कसले के भने?

Published

अन्तर्राष्ट्रिय समुदायले उत्तर र दक्षिण कोरियाबीचको ऐतिहासिक शिखर बैठकमा दुई देशका नेताहरूले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्नका निम्ति मिलेर काम गर्न गरेको सहमतिलाई व्यापक रूपमा स्वागत गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सबै कोरियालीहरू पारमाणविक अस्त्रमुक्त कोरियाली प्रायद्वीपमा बस्न पाउने दिन आउनेमा आफू आशावादी रहेको बताएका छन्।

तर उनले दुई कोरियाबीचको शुक्रवारको शिखर बैठक सफल भए पनि आफूले उत्तर कोरियामाथि अधिकतम दबाब जारी राख्ने उल्लेख गरे।

उनले भने- मलाई विश्वास छ एउटा यस्तो दिन आउनेछ, जब सबै कोरियालीहरू पारमाणविक अस्त्रमुक्त कोरियाली प्रायद्वीपमा एकसाथ बस्न पाउनेछन्।

जिम्मेवारी

आउने हप्ताहरूमा उत्तर कोरियाली नेता किम जङ-अनसँगको आफ्नो भेटवार्तामा सम्भव भए एउटा सहमति गर्नुपर्ने आफ्नो जिम्मेवारी भएको ट्रम्पले बताए।

उत्तर कोरियाको प्रमुख साझेदार चीनले भनेको छ, दुई कोरियाबीचको मतभेद सुल्झाउनका निम्ति सहयोग जारी राख्न बेइजिङ तयार छ।

तर उत्तर एट्लान्टिक सन्धि संगठन नेटोका महासचिव येन्स स्टोलटनबेर्गले अझै धेरै काम गर्न बाँकी रहेको प्रतिक्रिया दिएका छन्।

यसअघि शुक्रवार किम र दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्न र सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने सहमति गरेका थिए।

यद्यपि धेरै विश्लेषकहरू प्योङयाङको सक्रियतालाई लिएर सशंकित छन्।

सम्बन्ध

केही महिनाअघिको वाक्‌युद्धको स्थितिपछि दुई कोरियाबीच शिखर बैठक भएको हो।

शिखर बैठकपछि आयोजित भोजमा किमले वार्तामा भएको प्रगतिको प्रशंसा गरे।

उनले भने, "हामीले उत्तर र दक्षिण कोरियाबीचको चिसिएको सम्बन्धलाई बिदा गर्‍यौँ, जुन एउटा खराब सपना जस्तै थियो।"

"र, हामीले विश्वमा एउटा न्यायो वसन्तको शुरूवातको घोषणा गर्‍यौँ।"

गत हप्ता किमले आफ्नै सबै पारमाणविक तथा क्षेप्यास्त्र परीक्षणहरू तत्काल लागू हुने गरी स्थगित गर्ने घोषणा गरेका थिए।