तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्यालिफोर्नियाको डढेलोमा २९ को मृत्यु
अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलोमा परी ज्यान गुमाउने मानिसहरुको संख्या २९ पुगेको छ।
अधिकारीहरुले डढेलोका कारण स्थिति झन् खराब हुनसक्ने चेतावनी दिएका छन्।
उत्तर क्यालिफोर्नियास्थित प्रसिद्ध अंगुर बगान क्षेत्रमा फैलिएको डढेलोपछि सयौं मानिसहरु अझै हराइरहेका छन्।
आठ हजारभन्दा बढी अग्निनियन्त्रकहरु डढेलो नियन्त्रणमा लिने प्रयासरत छन्।
विस्थापित
डढेलोका कारण ३५ सयभन्दा बढी भवनहरु ध्वस्त भएका छन् भने २५ हजार मानिसहरु विस्थापित भएका छन्।
अधिकारीहरुका अनुसार सोनोमा काउण्टीमा १५ जना, मेण्डोसिनो काउण्टीमा आठजना, युवा काउण्टीमा चारजना र नापा काउण्टीमा दुईजनाको ज्यान गएको छ।
पछिल्लो डढेलो क्यालिफोर्नियामा लागेको सन् १९३३ यताकै सबैभन्दा विनाशकारी भएको अधिकारीहरुले बताएका छन्।
सन् १९३३ मा लस एन्जलसमा डढेलो लाग्दा २९ जनाको मृत्यु भएको थियो।
संकट
क्यालिफोर्निया राज्यका आपतकालीन सेवासम्बन्धी निर्देशकले डढेलोले निम्त्याएको संकटबाट निस्किन लागेको अवस्था आइनसकेको बताएका छन्।
शनिवार रातिदेखि शुरु भएको डढेलोको कारण अहिलेसम्म थाहा हुन नसके पनि अधिकारीहरुले शक्तिशाली हुरीका कारण बिजुलीबाट आगलागी भएको हुनसक्ने अनुमान गरेका छन्।
डढेलोले मानव जीवनलाई सबैभन्दा बढी खतरा नापा काउण्टीको कालिस्टोगा नगरमा निम्त्याएको छ।
उक्त नगरका सबै ५ हजार बासिन्दालाई सुरक्षित स्थानमा जान अधिकारीहरुले निर्देशन दिएका छन्।