उत्तर कोरिया: अमेरिका 'कूटनीतिमै केन्द्रित'

Published

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाली संकट कूटनीतिक माध्यममार्फत नै समाधान हुनेमा आफ्नो मुलुक आशावादी रहेको बताएका छन्।

अमेरिका र उत्तर कोरियाबीच एकअर्काप्रति लक्षित केही दिनयताका कडा टिप्पणीमाझ म्याटिसको पछिल्लो भनाइ आएको छ।

उनले युद्ध 'विनाशकारी' हुने र कूटनीतिले परिणाम देखाइरहेको बताए।

फरक मत

उनको भनाइ राष्ट्रपति डोनल्ड ट्रम्पले राखेको धारणाभन्दा भिन्न देखिन्छ।

ट्रम्पले यसअघि उत्तर कोरियालाई चेतावनी दिदैं उसले धम्की दिइरहे अत्यासपूर्ण अवस्था भोग्नुपर्ने बताएका थिए।

चीनले सबै पक्षलाई संवादमा बस्न र सावधानीपूर्वक कदमहरु चाल्न आग्रह गरेको छ।

जुलाइमा उत्तर कोरियाले दुईवटा अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि उक्त मुलुक र अमेरिकाबीच पछिल्लोपटक तनाव चुलिएको छ।

आफूविरुद्ध राष्ट्रसंघले आर्थिक प्रतिबन्धहरु कडा पारेपछि उत्तर कोरिया थप रुष्ट देखिन्छ।