तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पका ज्वाइँ अनुसन्धानको घेरामा
अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति ट्रम्पका छोरी ज्वाइँ तथा ह्वाइट हाउसका सल्लाहकार ज्यारेड कुश्नर गत वर्षको निर्वाचनमा रुसी हस्तक्षेपबारे एफबीआइले थालेको अनुसन्धानको घेरामा रहेको जनाएका छन्।
संघीय जाँच ब्यूरो एफबीआइका अनुसन्धानकर्ताहरूले ३६ वर्षीय कुश्नरसँग उनीहरूले थालेको छानबिनका निम्ति महत्त्वपूर्ण जानकारी हुन सक्ने विश्वास गरेको एनबीसीन्यूजलाई अधिकारीहरूले बताएका छन्।
एफबीआइले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनताका रुसबाट भएको सम्भावित हस्तक्षेप र ट्रम्प अभियानसँग त्यसको सम्बन्धबारे छानबिन थालेको छ।
नाम नखुलाइएका अमेरिकी अधिकारीहरुले कुश्नरबारे अनुसन्धानकर्ताहरूको चासो हुनु भनेको उनी कुनै अपराधमा संलग्न भइहालेको भन्ने गरी बुझ्न नहुने बताएका छन्।
योजना
साथै कुश्नरविरुद्ध कुनै कानूनी अभियोग लगाउने योजना नभएको उनीहरुले बताए।
कुश्नरले गत वर्ष रुसी राजदूत सेर्गेइ किस्ल्याक तथा एक रुसी ब्यांकर सेर्गेइ गोर्कोभसँग भेटेको बताइएको छ।
कुश्नरका वकिलका अनुसार उनले यसअघि नै आफूसँग ती भेटघाट बारे रहेका जानकारी कंग्रेससमक्ष बाँड्न तयार रहेको बताइसकेका छन्।
साथै त्यस्ता जानकारी अन्य जुनसुकै छानबिनकर्ताहरूले मागे पनि दिन कुश्नर तयारै रहेको उनले बताए।
ट्रम्पले आफ्नो अभियान र रुसबीच कुनै पनि साठगाँठ नभएको बताउँदै आएका छन्।
सो छानबिनलाई उनले अमेरिकी इतिहासमै कुनै राजनीतिज्ञविरूद्ध नियतवश छेडिएको सबभन्दा ठूलो अभियान भनेका छन्।