एमानुएल माक्रों को हुन्?

Published

नयाँ राजनीतिक दल खोलेको एक वर्षमै फ्रान्सको राष्ट्रपति पदमा विजयी बनेर एमानुएल माक्रोंले नयाँ इतिहास रचेका छन्।

३९ वर्षीय माक्रोंलाई पुरानो राजनीतिक वृत्तभन्दा बाहिरका उम्मेदवारको रुपमा हेरिएको थियो।

दक्षिणपन्थी उम्मेदवार मारिन ल पेनलाई हराएर माक्रों आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरको राष्ट्रपति बनेका छन्।

युरोपेली संघका समर्थक मध्यपन्थी राजनीतिज्ञ माक्रोंले आफ्नो जीतबाट फ्रान्समा आशा र विश्वासको एउटा नयाँ अध्याय खुलेको बताए।

नचिनेको व्यक्ति

प्यारिसस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, यो तीन वर्ष अघिसम्म पनि धरैजसो फ्रान्सेली जनताले नचिनेको एक व्यक्तिको असाधारण सफलताको कथा हो।

उत्तरी शहर एमिएँमा जन्मिएका माक्रोंले प्यारिसको प्रतिष्ठित हेनरी चौथौ विद्यालयमा पढेका थिए। पछि उनले प्यारिसकै नामी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे।

माक्रोंका बाबु तथा आमा दुबैजना चिकित्सक हुन्।

केही समय एउटा इन्भेष्टमेन्ट ब्याङ्कमा काम गरेका माक्रोंले पछि फ्रान्सका निवर्तमान राष्ट्रपति फ्राँस्वाँ ओलान्दको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए।

नियुक्त

पछि ओलान्दले उनलाई अर्थमन्त्रीको रुपमा नियुक्त गरे।

सरकारमै भएका बेला ठीक एक वर्ष अघि उनले एन माश भन्ने नयाँ दल खोल्ने घोषणा गरे।

त्यसको चार महिना पछि उनले अर्थमन्त्रीको पदबाट राजीनामा दिए र राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए।

एउटा अभूतपूर्व चुनावी अभियानपछि देशका दुईवटा ठूला परम्परागत राजनीतिक दलहरु सोसलिष्ट पार्टी तथा रिपब्लिकन पार्टीका उम्मेदवारहरुलाई पहिलो चरणमै पराजीत गरेपछि उनी अहिले राष्ट्रपति पदमा चुनिएका हुन्।

प्रेम कथा

आफ्नो अनौठो प्रेम कथाका कारण पनि माक्रों फ्रान्समा चर्चित छन्।

उनले आफु भन्दा २४ वर्ष जेठी आफ्नै शिक्षिका ब्रिजीट ट्रोनियोसंग बिहे गरेका छन्।

नाटक विषय पढाउने आफ्नी गुरुआमालाई १७ वर्षको उमेरमै उनले प्रेम प्रस्ताव राखेको र त्यसको १२ वर्षपछि मात्रै उनीहरुको बिहे भएको थियो।

तीन सन्तानकी आमा ब्रिजीटले आफ्नै छात्रसंग बिहे गर्न आफ्ना पतिसंग पारपाचुके गरेकी थिइन्।

माक्रोंको राजनीतिमा उनकी श्रीमतीको केही प्रभाव रहेको ठानिन्छ।

आफ्नो चुनावी घोषणापत्रमा उनले शिक्षालाई उच्च प्राथमिकता दिने उल्लेख गरेका छन्।