तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्प-मर्केल भेट ‘असहज’
अमेरिकी राष्ट्रपति र जर्मन चान्सलरबीचको पहिलो प्रत्यक्ष भेटवार्ता निकै असहज देखिएको छ।
उनीहरुले विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय मुद्दामा फरक धारणा मात्रै राखेनन्, भेटवार्ताका बेला उनीहरुको भावभंगी पनि निकै असहजपूर्ण देखिएको थियो।
आप्रवासन, व्यापार, रुस लगायतका विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र जर्मन चान्सलर एंगेला मर्केल फरक धारणा राख्छन्।
मर्केलको अमेरिका भ्रमणका बेला ट्रम्पसँग भएको कुराकानीमा त्यो मतभिन्नता प्रष्टै देखियो।
असहज
संयुक्त पत्रकार सम्मेलन होस् वा संयुक्त रुपमा फोटो खिच्नका लागि बस्दा उनीहरुको भावभंगी निकै असहजपूर्ण देखिएको थियो।
एकपटक त सञ्चारकर्मीबाट हात मिलाउन दुवै नेतालाई आग्रह भयो।
लगत्तै मर्केलले सुस्तरी 'तपाईँ हात मिलाउन चाहनुहुन्छ' भनेर ट्रम्पलाई सोधिन्।
त्यसपछि ट्रम्पले आफ्नो हाततिर त हेरे तर कुनै जवाफ दिएनन्।
बीबीसीका उत्तर अमेरिकी संवाददाता भन्छन्, अमेरिकी राष्ट्रपति र जर्मन चान्सलर एकै मञ्चमा उभिएका त थिए तर उनीहरु बेग्ला बेग्लै राजनीतिक जगतमा बस्ने मानिसहरु जस्ता प्रतीत हुन्थे।
अमेरिकालाई फाइदा हुने व्यापार सम्झौता, आप्रवासनमा कडाइ, सैनिक शक्ति वृद्धि जस्ता विषय ट्रम्पले उठाए।
मर्केलले भने विश्वव्यापीकरणका फाइदा, आप्रवासीहरुप्रति खुलापन जस्ता पक्षमा जोड दिएकी थिइन्।
जासुसी
पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनको समयमा आफू विरुद्ध जासुसी निगरानी गरिएको दोहोर्याएका थिए।
उनले, आफूहरु दुवै जनासँग 'वायरट्यापिङ' बेहोरेको अनुभव रहेको बताएका थिए।
उक्त भनाइले जर्मन चान्सलर र उनका केही निकट सहयोगीहरुका कुराकानी निगरानी गर्न फोन 'ट्यापिङ' गरिएको भनेर सन् २०१५ मा संयुक्त राज्य अमेरिकाले स्वीकार गरेको विषयलाई संकेत गरेको थियो।
त्यसका लागि ओबामाले राष्ट्रपतिको पदभार शुरु गर्नुअघि नै आदेश दिइएको थियो।
राष्ट्रपति ट्रम्पले आफ्नो कार्यालयले ब्रिटेनले ओबामा प्रशासनको उक्साहटमा आफूमाथि जासुसी गरेको भन्ने आरोप लगाएको नभई त्यसबारे समाचारहरु आएको विषय प्रकाशमा ल्याएको पनि बताए।
आफ्नो जासुसी निकाय 'जिसीएचक्यु'माथि लगाइएको उक्त आरोप 'भद्दा मजाक' भएको प्रतिक्रिया ब्रिटेनले दिएको छ।