तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्थानीय तह निर्वाचन २०७९: सुनसरीमा राति घरबाट बाहिर निस्कन निषेध
भोलि शुक्रवार नेपालभर स्थानीय तहको निर्वाचन हुँदैछ। बिहीवार मतदान केन्द्रहरू तयार गर्ने एवम् मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षाको काम भइरहेको निर्वाचन आयोगले जनाएको छ। आज बिहीवार निर्वाचनसम्बन्धी नयाँ के-के भइरहेको छ?
लाइभ कभरेज
निर्वाचनको तयारी पूरा, शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ: आयोग
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको बताएका छन्।
शुक्रवार देशभरका ७५३ स्थानीय तहका १० हजार बढी मतदान केन्द्रमा एक साथ निर्वाचन हुँदै छ।
“निर्वाचनको सम्पूर्ण तयारी पूरा भएका छन्। शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी सुरक्षा व्यवस्था मिलाइएको छ,” बिहीवार आयोगमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त थपलियाले भने।
प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको भन्दै प्रमुख आयुक्त थपलियाले पद पैसा र पहुँचबाट निर्देशित नहुन र आश्वासनमा नपर्न मतदाताहरूलाई आह्वान गरेका छन्।
“कसैको प्रलोभन वा प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी निर्धक्क तरिकाले मतदान गर्नुहुन मतदाताहरूलाई आह्वान गर्दछु,” थपलियाले भने।
मतदान सकिनासाथ सुरक्षित तरिकाले मतपेटिका ढुवानी र लगत्तै गणनाको व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
मतदाता परिचयपत्र नभए पनि मतदाता नामावलीमा नाम समावेश भएका नागरिकले नागरिकता राहदानी जस्ता सरकारी निकायबाट जारी भएका परिचयपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाएको छ।
थपलियाले मतदानको अघिल्लो दिनसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकलाई मतदानको अवसर दिइएको पहिलो अवसर भएको दाबी समेत गरेका छन्।
पहिलो पटक मतदान गर्दै हुनुहुन्छ? मतदान केन्द्रमा यस्तो हुन्छ
युवा मतदाताको अपेक्षा; सहज सेवा, रोजगारी र शिक्षा
प्रचण्ड, पृथ्वी सुब्बा गुरुङ, प्रेम आले र आरजु राणालाई आयोगको स्पष्टीकरण
निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा स्पष्टीकरण सोधेको छ।
माओवादी अध्यक्ष प्रचण्डलाई स्पष्टीकरण सोधेको छ। दाहाललाई भरतपुरमा मतदातालाई धम्की दिएको भन्ने विषयमा उजुरी परेको थियो।
प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस केन्द्रीय सदस्य राणामाथि धनगढीमा मतदातालाई अनुचित प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको उजुरी परेको आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
दुवै जनालाई २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। आयोगले पर्यटनमन्त्री प्रेम आलेलाई पनि आचारसंहिता उल्लङ्घनमा स्पष्टीकरण सोधिएको बताएको छ।
आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र माओवादी नेतृ समेत रहेकी प्रचण्डकी कान्छी छोरी गंगा दाहाललाई मौन अवधिमा सामाजिक सञ्जालमा प्रचार प्रसार गरेको आरोपमा २४ घण्टे स्पष्टीकरण सोधेको छ।
आयोगले आचार संहिता कार्यान्वयनमा आएयता ६६ जनालाई आचार संहिता उल्लङ्घनमा स्पष्टीकरण गराएको जनाएको छ।
आयोगले ९ जनालाई सचेत र एक जनालाई ध्यानाकर्षण गराएको समेत जनाएको छ।
आयोगले निर्वाचन आचार संहिता विपरीतका समाचार प्रसारण गरेको भन्दै केही सञ्चार माध्यमलाई पनि समेत गराएको जनाएको छ।
मतगणना स्थलमा आयोगको सीसीटिभी निगरानी
निर्वाचन आयोगले देशैभरका अधिकांश मतगणना स्थलमा सीसीटीभी क्यामरा सहितको निगरानीको व्यवस्था गरिएको जनाएको छ।
यसअघिको स्थानीय तह निर्वाचनमा केही स्थानमा मतगणनाका क्रममा विवाद र झडप भएका थिए। चितवनको भरतपुरमा गणनाका क्रममा मतपत्र च्यातिएपछि पुन मतदान गर्नुपरेको थियो।
“मतगणनाको यथार्थ वस्तुस्थिति आयोगबाट निगरानीका लागि त्यसो गरिएको हो,” आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीवार नियमित पत्रकार सम्मेलनमा भने।
“केही स्थानमा खरिद प्रक्रियामा भएको ढिलाइका कारण जडान भई नसकेको होला, अधिकांश स्थानमा जडान भइसकेको छ।“
सीसीटिभी जडान नभएका मतगणना स्थलमा पनि भिडिओ अभिलेख राख्न आयोगले निर्देशन दिएको उनले जानकारी दिए।
आयोगले त्यस्ता सीसीटिभी क्यामराको स्वामित्व स्थानीय तहकै रहने र निर्वाचन प्रयोग सकिएपछि स्थानीय तहले नै प्रयोग गर्ने जनाएको छ।
काठमाण्डूका मतदान केन्द्रमा महिला मतदान अधिकृत
काठमाण्डूका अधिकांश मतदान केन्द्रमा महिला मतदान अधिकृत खटिएको निर्वाचन आयोगले जनाएको छ।
बिहीवार नियमित पत्रकार सम्मेलनमा आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले काठमाण्डूका धेरै मतदान केन्द्रमा महिला कर्मचारीहरूलाई प्रमुख बनाएर खटाइएको जानकारी दिए।
अर्यालले केही मतदान केन्द्रमा महिला कर्मचारीहरू मात्रै खटाइएको पनि जानकारी दिएका छन्।
स्थानीय तह निर्वाचनका लागि शुक्रवार बिहान ७ बजेबाट मतदान सुरु हुने र साँझ ५ बजेसम्म मतदान खुल्ला रहने आयोगले जनाएको छ।
चुनाव 'बिथोल्न' खोज्नेमाथि 'सूक्ष्म' निगरानी, सामाजिक सञ्जालको नियमित 'अनुगमन'
तस्बिरमा निर्वाचनको तयारी
शुक्रवार हुने मतदानका लागि देशभरिका मतदान स्थलहरू तयार भएको निर्वाचन आयोगले जनाएको छ।
मतदान तयारीका केही तस्बिरहरू:
सुनसरीमा राति घरबाट बाहिर निस्कन निषेध
सुनसरी जिल्लाका सात वटा संवेदनशील पालिकामा आज रातिदेखि भोलि बिहानसम्म एक्लै वा सामूहिक रूपमा घरबाट बाहिर निस्कन सर्वसाधारणलाई निषेध गरिएको विराटनगरस्थित हाम्रा संवाददाता बिक्रम निरौलाले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीवार एक आदेश जारी गरी निर्वाचन सुरक्षा संवेदनशीलता र आचारसंहितालाई मध्यनजर गरी बिहीवार बेलुकी ८ बजेदेखि शुक्रवार बिहान ५ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक व्यक्तिगत वा सामूहिक हिसाबले कोही पनि घर बाहिर ननिस्कन भनेको छ।
प्रशासनका अनुसार सुनसरीको झोेक्राहा नरसिंह गाउँपालिका, कोसी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका भरि त्यस्तो आदेश जारी भएको हो ।
ती पालिका भारतसँग सीमा जोडिएका क्षेत्र हुन।
त्यस्तै इटहरी उपमहानगरपालिकाको वडा नं ३, इनरुवा नगरपालिकाको वडा नं ३ ,९ र १० र दुहबी नगरपालिकाको वडा नं १ , ८ र ९ मा पनि सुरक्षा निकायलाई समन्वय नगरी घर बाहिर ननिस्कन प्रशासनले आदेश जारी गरेको छ।
उक्त आदेश अटेर गरे वा उल्लङ्घन र गरेको पाइएमा स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने चेतावनी पनि प्रशासनले दिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रवार हुने चुनावका विषयलाई लिएर विभिन्न पक्षबीच झडप हुने स्थिति आकलन गरिएकाले ती क्षेत्रमा आवागमनमा कडाइ गरिएको बताए।
चुनावबाट के चाहन्छन् सुकुम्वासी बस्तीका नागरिक?
अघिल्लो पटक मतपत्र च्यातिएको भरतपुरमा यसपटक कसरी मतगणना हुन्छ?
अघिल्लो स्थानीय तह निर्वाचनमा मतगणना विवादास्पद बनेपछि यसपटक भरतपुरको मतगणना स्थलमा कडिकडाउ गरिने बताइएको छ।
२०७४ सालको स्थानीय चुनावमा मतगणनाको क्रममा मतपत्र च्यातिएको र यो पटक त्यस्तो हुन नदिन सबैखाले सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।
भरतपुर महानगरपालिकाको मतगणना त्यहाँ रहेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा हुने भएको छ।
स्थानीय तहमा महिला आरक्षण किन आवश्यक छ?
यसपालिको चुनावमा कतै पनि विद्युतीय मतदान किन गरिएन?
विगतका कतिपय निर्वाचनमा परीक्षणका रूपमा प्रयोग गरिएको विद्युतीय मतदान यसपालिको स्थानीय तह चुनावमा चाहिँ "कतै पनि प्रयोग नगरिने" अधिकारीहरूले बताएका छन्।
एउटा सरकारी समितिले यो चुनावमा "केही स्थानीय तह छनोट गरी" विद्युतीय मतदान गराउन सिफारिस गरेको भए पनि त्यो कार्यान्वयन हुन नसकेको अधिकारीहरूको स्वीकारोक्ति छ।
विद्युतीय मतदान यन्त्र प्रयोगबारे अध्ययन गर्न गठित उक्त समितिको सिफारिस कार्यान्वयन गर्न तयारीका लागि "आवश्यक समय नपुगेको" निर्वाचन आयोगको भनाइ छ।
यद्यपि आयोगका एकजना भूतपूर्व आयुक्तले परीक्षणका रूपमा पहिले नै प्रयोग भइसकेको प्रणाली केही क्षेत्रमा समेत नअपनाइनुलाई "आयोगको इच्छाशक्तिको कमी" भनेका छन्।
मतदान केन्द्रभित्र फोटो खिच्न पाइन्न: आयोग
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रभित्र निम्न व्यक्ति मात्रै प्रवेश पाउने बताएको राससले जनाएको छ।
- मतदाता,
- उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि,
- आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक,
- आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति,
- महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं
- दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य
मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए तापनि मतदान अधिकृतबाट मतदान केन्द्रमा प्रवेश गर्न नदिइने बताएको छ।
साथै मतदान केन्द्रमा निम्म वस्तु लग्न नपाइने आयोगले जनाएको छ:
- मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री,
- सलाई र लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ,
- कुनै प्रकारको हातहतियार,
- नमुना मतपत्रलगायतका कागजात,
- कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा सङ्केत जनाउने कुनै वस्तु
कास्कीका ५० मतदानस्थल अति संवेदनशील
कास्कीका एकतिहाइ मतदानस्थल अति संवेदनशील मतदानस्थलका रूपमा रहेको निर्वाचन सुरक्षा समितिले पहिचान गरेको छ।
कास्कीमा कुल १५० मतदानस्थल र ३३६ मतदान केन्द्र रहेको राससले जनाएको छ।
पोखरा महानगरपालिकाका वडामा रहेका मतदानस्थललाई सामान्य मतदानस्थलका रूपमा राखिएको छ भने गाउँपालिकामा रहेका स्थल अति संवेदनशील र संवेदनशीलमा परेका छन्।
निर्वाचन सुरक्षा समितिले बाटोको दूरी, भौगोलिक अवस्था, विगतको घटना, हालको सुरक्षा अवस्थालगायतलाई मध्यनजर गरी मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य अवस्थाका मतदानस्थलका रूपमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताएका हुन्।
“कुनै पनि मतदानस्थलमा सुरक्षा थ्रेट नरहे पनि सम्भावित चुनौतीलाई ध्यानमा राखेर मजबुत सुरक्षा व्यवस्था मिलाएका छौँ,” तिवारीले भने।
कास्कीमा पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, मादी गाउँपालिका र रुपा गाउँपालिकामा निर्वाचन हुँदैछ।
स्वागतम्
नमस्कार। तपाईँलाई हाम्रो लाइभ पेजमा स्वागत छ। आज वैशाख २९ गते बिहीवार।
भोलि नेपालभरिका स्थानीय तहमा निर्वाचन हुन लागेको छ।
यो लाइभ पेजमा आज दिनभरि हामी निर्वाचनसँग सम्बन्धित जानकारी तथा घटनाक्रम प्रस्तुत गर्ने छौँ।