तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

मध्यरातदेखि अन्तर्राष्ट्रिय सीमा बन्द, दुई दिनपछि स्थानीय तहमा मतदान

वैशाख ३० गते शुक्रवार स्थानीय तहमा हुन लागेको निर्वाचनका लागि राजनीतिक दल, तिनका कार्यकर्ता तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार गर्न नपाउने मौन अवधि सुरु भएको छ।

लाइभ कभरेज

  1. स्थानीय तह निर्वाचन सम्बन्धी ताजा जानकारी दिने प्रत्यक्ष अपडेटबाट आजलाई बिदा चाहन्छौँ। भोलि पुनः हामीले प्रत्यक्ष अपडेटलाई निरन्तरता दिनेछौँ।

  2. उपत्यका छाड्नेको सङ्ख्या एक सातामा पाँच लाख नाघ्यो

    स्थानीय तह निर्वाचनमा मतदानका लागि काठमाण्डू उपत्यकाबाट बाहिरिने मानिसहरूको सङ्ख्या अरू समयमाभन्दा तेबरले बढेको ट्राफिक प्रहरीले जनाएको छ।

    सङ्घीय राजधानीबाट बाहिरिने प्रमुख नाकाहरूमध्ये नागढुङ्गा, साँगा र दक्षिणकालीमा सवारीसाधनको लाइन देखिन्छ।

    ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले आज बिहान ५ बजेदेखि साँझसम्म १२ घण्टाको अवधिमा मात्रै उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ६७ हजारभन्दा धेरै रहेको बीबीसी न्यूज नेपालीलाई बताए।

    “पहिले साधारण अवस्थामा २० हजारको हाराहारीमा यात्रुहरू बाहिरिनुहुन्थ्यो भने (बुधवार) बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म ६७,५४४ भनेपछि साढे ३०० प्रतिशत बढी गएको पाइयो,” उनले भने।

    मङ्गलवार पनि करिब ७० हजार मानिसहरू काठमाण्डू उपत्यकाबाट बाहिरिएका थिए।

    ट्राफिक प्रहरी महाशाखाका अनुसार वैशाख २१ यता पाँच लाख बढी मानिस र ८० हजार बढी निजी तथा सार्वजनिक सवारी साधन काठमाण्डू उपत्यकाबाट बाहिरिएका छन्।

    सवारीसाधनको चाप र तीव्र गतिका कारण दुर्घटना बढ्न सक्ने भन्दै निगरानीका लागि ट्राफिक प्रहरीले अन्य सुरक्षाकर्मीको पनि सहयोग लिएको जनाएको छ।

  3. मतदाता परिचयपत्र नभएकाहरूले भोट हाल्न के गर्ने?

  4. जग्गा धनी प्रमाण पुर्जा भए पनि मतदान गर्न पाइने

    निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएकाहरूलाई मतदाता परिचयपत्र नभए पनि मतदानमा सहभागी हुन पाउने व्यवस्था गरिएको जनाएको छ।

    आयोगले मतदाता परिचयपत्रको विकल्पमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको हो।

    वैकल्पिक कागजातहरूको विवरण "अन्तिम मतदाता नामावलीसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिइएको" आयोगले जनाएको छ।

    “आयोगले मतदाता परिचयपत्र नभए पनि नागरिकता वा अन्य सरकारी पहिचान खुल्ने कागजात जसमा फोटो टाँसिएको हुन्छ, त्यस्ता कागजात वा प्रमाण देखाएर मतदान गर्न सक्ने निर्णय आयोगले गरेको छ” आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले भने।

    उनले २०७४ सालमा प्राप्त गरेको परिचयपत्र हराएर प्रतिलिपि लिनका लागि वडाको सिफारिसमा निवेदन दिएका मतदाताहरूको परिचयपत्र आयोगले मतदान केन्द्रमा पठाइसकेको समेत जानकारी दिएका छन्

  5. बदर नहुनेगरी कसरी मतदान गर्ने?

    निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७४ मा अनपेक्षित सङ्ख्यामा मत बदर भएकोले मत बदर कम गर्न दल तथा उम्मेदवार थप सतर्क हुनुपर्ने बताएको छ।

    प्रत्येक मतदाताको घरघरमै पुगेर शिक्षा दिने व्यवस्था यस पटक समयाभावका कारण गर्न नसकिएको बताउँदै आफूले मतदान गर्ने दल तथा उम्मेदवारबारे मतदाता पनि सजग हुनुपर्ने बताएको छ।

    आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले मत बदर हुन नदिन कसरी मतदान गर्नुपर्छ सिकाएका छन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

  6. 'चुनाव लागेको छैन, भोकमरी पो लागेको छ'

  7. स्थानीय तहका उम्मेदवारबाट ज्येष्ठ नागरिकका अपेक्षा के छन्?

  8. स्थानीय चुनाव अन्य चुनावभन्दा कसरी फरक छ?

  9. जुम्लाका गाउँघरमा चुनावको चहलपहल, कृष्णमाया उपाध्याय, जुम्ला

    स्थानीय तह निर्वाचनका लागि मानिसहरू मतदान गर्न गाउँतिर जान थालेपछि जिल्ला सदरमुकाम र अन्य बजार क्षेत्रमा चहलपहल कम भएको छ।

    मतदाताहरू आफ्नो घरगाउँतिर गएपछि बजार सुनसान भएको जुम्लाको तातोपानी गाउँपालिकाकी पार्वती कठायतले बताइन्।

    उनका अनुसार चुनावको समय नजिकिएसँगै व्यापार व्यवसाय पनि ठप्प भएको छ। जुम्ला सदरमुकाम खलङ्गामा विभिन्न गाउँका मानिसहरू व्यवसाय गर्दै आएका हुनाले उनीहरू आफू मतदाता भएको ठाउँमा फर्किएका हुन्।

    जुम्ला सदरमुकाम मात्रै होइन भारत तथा नेपालका विभिन्न सहर तथा बजारबाट समेत मानिसहरू गाउँ आइरहेका छन्।

    उम्मेदवारहरुले आफ्ना मतदातालाई सवारी पठाएर पनि गाउँसम्म ल्याउने काम भइरहेको अर्की स्थानीय बासिन्दा पूर्णिमा शाही बताउँछिन्।

    उनका अनुसार "घरघरै" उम्मेदवार उठेको हुनाले एउटा मतले पनि तलमाथि हुन सक्छ भन्ने विचार गरेर उम्मेदवारहरूले आआफ्ना नजिकका मानिसलाई ओसार्ने काम गरिरहेका छन्।

    निर्वाचनको मिति नजिकिँदै गर्दा सहरबजारमा भन्दा पनि गाउँघरमा चहलपहल बढ्न थालेको जुम्लाको तिला गाउँपालिकाकी अर्की स्थानीय बासिन्दा जानकी थापाले बताइन्।

    "हिजोआज आफूलाई इच्छा लागेको व्यक्ति चुन्नको लागि जति टाढा गएका भए पनि मानिसहरू गाउँघरमा फर्किएका छन्।"

    पाँच वर्षको अवधिमा भेट नभएका मानिससँग समेत भेटघाट गर्न पाइने अवसरका रूपमा चुनावलाई लिनुपर्ने उनको धारणा छ।

    "अहिले हामीले आफ्नो मताधिकार प्रयोग गरेर हाम्रोभन्दा पनि राम्रो व्यक्तिलाई ल्याउन सक्यौँ भने गाउँघरको विकास गर्न सकिन्छ " उनले भनिन्।

  10. एमाले र माओवादी कार्यकर्ताको झडप भएको रुकुमपूर्वमा एक जनाको शव फेला पर्‍यो, माधव नेपाल, बुटवल

    रुकुमपूर्वको पृथाउत्तर गाउँपालिकाको जङ्गलमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    प्रहरीले उनको हत्या भएको हो कि होइन भन्नेबारे प्रहरीले अनुसन्धान थालेको डीएसपी प्रकाश डाँगीले बताएका छन्।

    प्रहरीका अनुसार वैशाख १९ गते राति टक्सेरा भन्ने ठाउँमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्तावीच झडप भएको थियो। त्यहाँ पुगेर प्रहरीले हस्तक्षेप गरेपछि झडप रोकिएको थियो।

    सो घटनापछि दुवै पक्षलाई मेलमिलापको लागि प्रहरी चौकीमा बोलाइएको बताइन्छ।

    प्रहरी चौकीमा आउँदा एमालेका दुई र माओवादी केन्द्रका तीन कार्यकर्ता हराइरहेको रिपोर्ट प्रहरी कार्यालयमा गरिएको थियो।डीएसपी डाँगीले तीमध्ये चार जना सम्पर्कमा आएका तर सम्पर्कमा नआएकी महिलाको शव निकै माथि जङ्गलमा भेटिएको जानकारी दिएका छन्।

    विधिविज्ञान परीक्षणका लागि उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ।

    उनन्चालीसवटा मतदान केन्द्र रहेको रुकुमपूर्वका कतिपय स्थान सञ्चारसम्पर्कभन्दा टाढा रहेको बताइन्छ।

  11. मतदानअघि नै ३९० जना निर्वाचित

    वैशाख ३० गते शुक्रवार स्थानीय तह निर्वाचनका लागि मतदान हुन लागेको छ।

    देशभरिका ७५३ तहमा विभिन्न पदमा १,४५,०११ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये केही तहमा ३९० जना निर्विरोध निर्वाचित भएका छन् भने केही तहमा दलित महिला सदस्यका लागि उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ।

  12. के भयो भने मत बदर हुन्छ?

  13. दुई दिन मतदान गर्न सिकाइने

    निर्वाचन आयोगले आज र भोलि मतदाताहरूलाई मतदानस्थलमा मतदान गर्ने सही तरिकाबारे जानकारी गराइने बनाएको छ।

    नमुना मतपत्र, पोस्टर, ब्रोशर आदि सामग्री प्रयोग गरेर मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको जनाएको छ।

    आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी त्यस्तो निर्देशन दिएको हो।

    निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ।

    वैशाख २८ र २९ गते मतदानस्थलहरूमा सम्बन्धित मतदान अधिकृतहरूको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रहरूको वितरण गर्ने र आयोगले उपलब्ध गराएका सामग्री प्रयोग गरेर मतदान गर्ने सही तरिका बुझाउने आयोगको योजना छ।

  14. अन्तर्राष्ट्रिय सीमा बन्द, मौन अवधिमा तोकेका क्षेत्रमा मादक पदार्थ बेच्न निषेध

    निर्वाचन आयोगले वैशाख ३० गते शुक्रवार मतदान कार्य सम्पन्न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावतमा रोक लगाएको छ।

    आयोगका अनुसार मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात पनि बन्द गर्ने व्यवस्था मिलाइएको छ।

    तर उम्मेदवार र अत्यावश्क सेवाका लागि सवारी आवागमन अनुमतिको मापदण्ड जारी गरी पास उपलब्ध गराइएको छ।

    "निर्वाचनमा शान्ति सुरक्षाको स्थिति कायम राख्न मौन अवधि सुरु भएपछि मतदानको कार्य सम्पन्न नभएसम्मका लागि स्थानीय प्रशासनको समन्वयमा तोकेका क्षेत्रमा मादक पदार्थको विक्रीवितरण र सेवन गर्न सख्त निषेध गरिएको छ," आयोगले विज्ञप्तिमा भनेको छ।

  15. मधेशका जिल्लामा जे देखियोः चुनावको प्रचार गर्दा 'डीजे सङ्गीत'

  16. मौन अवधिमा अनुगमन गर्न निर्वाचन आयोगका १९ टोली

    स्थानीय चुनावका लागि आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न नसकिरहेको आलोचना भइरहँदा निर्वाचन आयोगले त्यसको खण्डन गरेको छ।

    मौन अवधि सुरु हुनु केही घण्टाअघि आयोजना गरेको एक पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्तले आचारसंहिता कार्यान्वयनको सूक्ष्म रूपमा अनुगमन भइरहेको बताए।

    मङ्गलवार राति १२ बजेबाट सुरु हुने मौन अवधिलाई ध्यानमा राखी अझ बढी निगरानी बढाइएको पनि आयोगले जनाएको छ।

    पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लङ्घनका घटनामा तत्काल कारबाही गर्न सक्नेगरी विभिन्न संवेदनशील स्थानमा १९ वटा उच्चस्तरीय टोली समेत परिचालन गरिएको बताए।

    उनका अनुसार अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा जिल्ला निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तह आचारसंहिता अनुगमन समिति गठन गरिएको छ।

    प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिताबारे मौन अवधिमा अपनाइने नीतिको जानकारी गराएका थिए।

    निर्वाचन आचारसंहिता उल्लङ्घनका २०५ वटा विभिन्न क्रियाकलाप भएको आयोगले जनाएको छ। तीमध्ये ५३ वटामा स्पष्टीकरण सोधिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

    मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ताका क्रियाकलापमाथि निगरानी राख्न आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनलाई आयोगले निर्देशन दिइएको जनाएको छ। त्यसैगरी मतदानको दिन मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किनसक्ने वातावरण निर्माण गर्न उसले भनेको छ।

  17. मतदान केन्द्रको जिम्मा महिलालाई

    नवलपरासी बर्दघाट सुस्तापूर्वको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी महिला मात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्माले राससलाई बताएका हुन्।

    शर्माका अनुसार कावासोती नगरपालिका-३ स्थित जीवनज्योति माविमा रहेको मतदान केन्द्र (ख) मा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिला मात्रै खटाइएको हो।

    उक्त मतदान केन्द्रमा खटाइएका पाँच महिला कर्मचारीमा एकजना घरेलु तथा साना उद्योग कार्यालयबाट र चारजना जिल्ला अदालत नवलपुरबाट काजमा आएका हुन्।

    मतदान अधिकृत शान्ति गुरुङ, सहायक मतदान अधिकृत राधिका सापकोटा (घरेलु तथा साना उद्योग कार्यालय नवलपुर), सहायक कर्मचारी रचना ढुङ्गाना, सहायक कर्मचारी सुस्मिता पङ्गेनी र कार्यालय सहयोगी जीवकला केसी पराजुलीले सो मतदान केन्द्रको कार्य सम्हाल्ने छन्।

    निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको शर्माको भनाइ छ।

    नवलपुरमा स्थानीय तह निर्वाचनका लागि ११३ मतदानस्थल र २९९ वटा मतदान केन्द्र छन्।

  18. स्वागतम्

    नमस्कार। तपाईँलाई हाम्रो लाइभ पेजमा स्वागत छ। आज वैशाख २८ गते बुधवार।

    आजको दुई दिनपछि नेपालभरिका स्थानीय तहमा निर्वाचन हुन लागेको छ। मध्यरातदेखि मौन अवधि सुरु भएको छ।

    अब राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताले प्रचारप्रसार गर्न पाउँदैनन् भने भारत र चीनसँगका सीमानाका बन्द भएका छन्।

    यो लाइभ पेजमा हामी निर्वाचनसँग सम्बन्धित जानकारी तथा घटनाक्रम प्रस्तुत गर्ने छौँ।