तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

रुसले सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी दाबी 'मिथ्या सूचना': चीन

फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङ्सँग त्यस्तो मद्दत मागेको थियो।

लाइभ कभरेज

  1. चीनसँग सैन्य सहयता मागेका छैनौँ: रुस

    क्रेम्लिनले चीनसँग सैन्य सहयोग मागेको भन्ने अमेरिकी अधिकारीहरूको दाबीको खण्डन गरेको छ।

    प्रवक्ता दिमित्रि पेस्कोभले रुसले चीनसँग सैन्य सहयोग नमागेको भन्दै‘युक्रेनमा आफ्नो विशेष कारबाही जारी राख्ने स्वतन्त्र सामर्थ्य’ रुससँग रहेको बताए।

    उनले युक्रेनको कारबाहीसम्बन्धी रुसी योजनाले पूर्वनिर्धारित समयतालिकाभित्रै ‘मूर्तरूप लिने’ बताए।

    राष्ट्रपति पुटिनले चाहे जसरी कारबाही अघि नबढिरहेको भन्ने अमेरिका र युरोपेली सङ्घका धारणालाई मस्कोले जानकारीमा लिएको पनि क्रेम्लिनले बताएको रोर्यटर्स समाचार संस्थाले जनाएको छ।

  2. युक्रेन: तेस्रो विश्वयुद्ध टार्न हामीलाई मद्दत चाहिन्छ

    युक्रेनले निरन्तर पश्चिमा देशहरूलाई रुसविरुद्धको लडाइँका लागि थप सहयोग उपलब्ध गराउन अनुरोध गरेको छ र युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले उक्त आग्रह दोहोर्‍याएका छन्।

    “युक्रेन सफलताका साथ लडिरहेको छ,” उनले भने, “लड्नका लागि हामीलाई तपाईँहरूको मद्दत चाहिन्छ। हामीलाई आवश्यक सबै अस्त्रहरू उपलब्ध गराउनुहोस्..”

    उनले थपे, “रुसमाथि थप प्रतिबन्धहरू लगाउनूस् र उसलाई पूर्ण रूपमा एक्ल्याउनूस। पुटिनलाई विफल बनाउन युक्रेन फौजलाई सहयोग गर्नुहोस् र त्यसो गरे तपाईँहरूले एउटा ठूलो युद्धलाई टार्न सक्नुहुन्छ।”

    कतिपय पश्चिमा सरकारहरूले उक्त तनावमा आफ्नो संलग्नताले अवस्थालाई थप खराब बनाउनसक्ने चिन्ता व्यक्त गरिरहेका छन्।

  3. रुसले मद्दत भागेको भन्ने दाबी ‘मिथ्या सूचना’ भएको चीनको भनाइ

    रुसले युक्रेनमाथि जारी आफ्नो आक्रमणका लागि बेइजिङसँग सैन्य सहयोग उपलब्ध गराउन माग गरेको भन्ने अमेरिकी अधिकारीहरूको भनाइ ‘मिथ्या सूचना’ भएको चीनले बताएको छ।

    नाम उल्लेख नगरेका अधिकारीहरूले विभिन्न अमेरिकी सञ्चारमाध्यमहरूलाई रुसले चीनसँग युक्रेनमा जारी आक्रमणका लागि सहयोग उपलब्ध गराउन अनुरोध गरेको बताएका थिए।

    त्यसप्रति प्रतिक्रिया जनाउँदै अमेरिकाले मस्कोलाई समर्थन जनाए बेइजिङले ‘कठोर परिणाम’ सामना गर्नुपर्ने चेतावनी दिएको थियो।

    तर बेइजिङमा पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले उक्त लडाइँमा चीनको भूमिकाबारे वासिङ्टनले ‘गलत नियत राखेर’ भ्रम फैलाइरहेको आरोप लगाए।

    उनले चीनले शान्ति र संवादका लागि अनुरोध गर्दै रचनात्मक भूमिका खेलिरहेकोमा जोड दिएका छन्।

  4. युक्रेन-रुस चौथो चरणको वार्ता हुँदै

    रुस र युक्रेनबीच चौथो चरणको वार्ता स्थानीय समयअनुसार बिहान साढे दश बजे हुन लागेको युक्रेनका आन्तरिक मामिला मन्त्रीका सल्लाहकार एन्तन गेरासेन्कोले बताएका छन्।

    सप्ताहान्तमा भएका वार्ता ‘रचनात्मक’ भएको भन्ने युक्रेनी वार्ताकार मिखाइलो पोडोल्याकको प्रतिक्रियाका कारण ताजा वार्तामा कूटनैतिक प्रगति हुने आशा बढेको छ।

    “रुसले रचनात्मक रूपमा कुरा गर्न थालिसकेको छ,” पोडोल्याकले भनेका छन्।

    “मलाई लाग्छ केही दिनभित्र हामीले केही परिणाम प्राप्त गर्नेछौँ।”

    यसबीच सोमवार अमेरिका र चीनबीच पनि वार्ता हुँदैछ। बेइजिङ्ले रुसलाई सहायता गर्ने सम्भावनाका माझ उक्त वार्ता हुन लागेको छ।

  5. अहिलेसम्म के भयो?

    युक्रेनमा सोमवार बिहान ९ बजिसकेको छ। युक्रेनमा युद्ध जारी छ।

    सोमवारको अहिलेसम्मको थाहा पाउनु पर्ने कुराहरू यस प्रकार छन्:

    • रुसले चीनसँग सैन्य र अन्य सहायता माग गरेको आरोप लगाइएको छ। वाशिङ्टनस्थित चिनियाँ राजदूतावासले भने त्यस्तो मागबारे थाहा नभएको बताएको छ।
    • सञ्चारमाध्यमका अनुसार अमेरिकाले रुसलाई सहायता गरेमा चीनले त्यसको दुष्परिणाम भोग्ने चेतावनी दिएको छ। चीन र अमेरिकाबीच सोमवार वार्ता हुने बताइएको छ।
    • सोमवार रुस र युक्रेनबीच भिडिओमार्फत नयाँ चरणको वार्ता सुरु हुँदै छ। वार्ता किएभ समय अनुसार बिहान १०:३० मा सुरु हुने छ।
    • युक्रेनी सेनाले गत २४ घण्टामा रुसका चार विमान खसालेको दाबी गरेको छ।

    यसैबीच युक्रेनी टिभीका अनुसार किएभको एक आवासीय भवनमा भएको रुसी आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

    युक्रेनको आपत्कालीन सेवाले दुई शव निकालिएको र तीन जनालाई अस्पताल पुर्‍याइएको बताएको छ।

  6. अमेरिकीहरूलाई तत्काल युक्रेन छाड्न ताकेता

    युक्रेनको राजधानी किएभस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिकहरूलाई तत्काल युक्रेन छाड्न पुन: ताकेता गरेको छ।

    जारी रुसी हमलाले त्यहाँको सुरक्षा अवस्था ‘हिंसात्मक तथा अनुमान गर्न नसकिने’ हुन थालेको उसले उल्लेख गरेको छ।

    यात्रामार्ग र त्यसका जोखिमबारे पनि निकै सोचविचार गर्न दूतावासले आफ्ना नागरिकलाई अनुरोध गरेको छ।

    सडकहरूमा भिड हुनसक्ने, लडाइँ भइरहेको हुनसक्ने वा पूर्वाधार नै ध्वस्त भएको हुनसक्ने बारे ख्याल गर्न उसले भनेको छ।

    ज्यानुअरीमा अमेरिकी विदेशमन्त्रालयले युक्रेनमा रहेका अमेरिकीहरूको यकीन सङ्ख्या आफूसँग नभएको जनाएको थियो।

  7. चेर्नोबिलका कर्मचारी 'थकित'

    अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईएले भनेको छ युक्रेनस्थित रुसी कब्जामा रहेको चेर्नोबिल परमाणु केन्द्रस्थित कर्मचारीहरूले नियमित मर्मतसम्भारका काम गर्न नसक्ने अवस्था आएको उसलाई युक्रेनले जानकारी दिएको छ।

    किएभका अधिकारीहरूका अनुसार त्यसको आंशिक कारण कर्मचारीहरूको थकानका हो किनकि उनीहरू गत ३ सातादेखि निरन्तर काममा छन्।

    विगतमा विश्वकै सबभन्दा खराब परमाणु दुर्घटना बेहोरेको चेर्नोबिल हाल उपयोगमा छैन तर त्यहाँ रहेका विकिरणयुक्त पदार्थको व्यवस्थापन भने निरन्तर गरिरहनुपरेको छ।

  8. युक्रेनको आकाशलाई उडान निषेधित क्षेत्र बनाउन नेटोलाई पुन: आग्रह

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुन: नेटोलाई उनको देशको आकाशमाथि उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न आह्वान गरेका छन्।

    उनले अब रुसले केही समयमै उक्त पश्चिमा सैन्य गठबन्धनका सदस्य देशलाई पनि निसानामा पार्ने बताए।

    युक्रेनको पोल्यान्डसँगको सिमाना क्षेत्रमा रुसी क्षेप्यास्त्र आक्रमणमा ३५ जनाको ज्यान गएपछि जेलेन्स्कीले उक्त टिप्पणी गरेका हुन्।

    पोल्यान्ड नेटो सदस्य राष्ट्र हो।

    साथै जेलेन्स्कीले आफूले युरोपेली परिषद् अध्यक्ष चार्ल्स मिसेलसँग कुरा गरेको र अब युक्रेन ईयूको सदस्य हुने विषय वास्तविकता हुन लागेको पनि बताए।

  9. शान्ति वार्ता जटिल र कठिन: जेलेन्स्की

    राष्ट्रपति जेलेन्स्कीले युक्रेनी तथा रुसी प्रतिनिधिहरूबीच जारी वार्तालाई जटिल तथा कठिन तर शान्तिसुरक्षाका निम्ति आवश्यक बताएका छन्।

    उनले युक्रेनी अधिकारीहरू दुई देशका नेताबीच प्रत्यक्ष शान्तिवार्ताका निम्ति प्रयत्नरत रहेको बताए।

    जुन वार्ता मानिसहरूले पर्खिरहेको पनि उनले बताए।

    दुई पक्षबीचको थप कुराकानी सोमवार भिडिओ लिङ्कमार्फत् हुने बताइएको छ।

    आइतवार दुई पक्षका वार्ताकारहरूले सतर्कतापूर्ण आशा प्रकट गरेका थिए।

    यसबीच फ्रान्सका विदेशमन्त्री जाँ यिभ ल द्रियाँले एक फ्रेन्च रेडियोसँग कुरा गर्दै युक्रेनको लडाइँ लामो हुने भन्दै सबभन्दा खराब चरण आउनै बाँकी रहेको सम्भावना व्यक्त गरेका छन्।

  10. रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी दाबी

    रुसले चीनसँग सैन्य सामग्रीको सहायता मागेको अमेरिकी अधिकारीहरूले भिन्नाभिन्नै पत्रिकाहरूलाई बताएका छन्।

    फाइनान्सियल टाइम्स र वाशिङ्टन पोस्ट पत्रिकामा आएका विवरणअनुसार युक्रेन अतिक्रमण सुरु भएदेखि नै रुसले बेइजिङ्सँग त्यस्तो मद्दत मागेको थियो।

    तर विवरणमा रुसले कस्तो प्रकारका अस्त्र सहायता खोजेको हो भन्ने बताइएको छैन।

    वाशिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले मस्कोले हतियार मागेको बारे आफूहरूलाई कुनै जानकारी नभएको बताए।

    उनले चीनको मुख्य प्राथमिकता लडाइँ चर्कन नदिनु नै रहेको बताए।

    हालसम्म चीनले रुस-युक्रेन युद्धमा आफूलाई तटस्थ रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेको छ।

    तर उसले युक्रेन अतिक्रमणलाई लिएर रुसको निन्दा भने गरेको छैन।

    रुसलाई पश्चिमा प्रतिबन्ध छल्न सहयोग गरे चीनले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्।

  11. मारिओपोलमा निरन्तर बमबारी र घेराबन्दीले मानवीय सङ्कट: रेडक्रस

    रुसी सेनाको घेराबन्दी र निरन्तर आक्रमणमा परेको युक्रेनी बन्दरगाह सहर मारिओपोलमा अत्यन्त खराब अवस्था आउनबाट जोगाउन अब समय घर्कन थालेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ।

    त्यहाँ फसिरहेका लाखौँ मानिससम्म जीवन जोगाउने मानवीय सहयोगको पहुँच स्थापित गरिदिन तथा उद्धारको ठोस योजनामा सहमति जनाउन सबै पक्षलाई अत्यन्त तदारुकताका साथ लागिपर्न रेडक्रसले आह्वान गरेको छ।

    आइसीआरसीका युरोप तथा मध्य एसिया क्षेत्रीय निर्देशक मार्टिन सुएपले भने, "अहिले पनि त्यही नगरमा भएका हाम्रा सहकर्मीहरूले दिएको जानकारी बमोजिम त्यहाँ मानिसहरूलाई खानेपानी खानेकुरा र अत्यावश्यक औषधिको सङ्कट परेको छ। हरेक दिन ज्यान बचाउन सङ्घर्ष खेप्नुपरिरहेको छ। यो अवस्था जति लम्बियो त्यति नै धेरै मानिसको ज्यान जोखिममा पर्नेछ।"

    नगर परिषद्का अनुसार रुसी बमबारीले त्यहाँ २ हजारभन्दा धेरैको ज्यान गइसकेको छ।

    तीमध्ये आधाको ज्यान बुधवार यता गएको हो।

  12. लाइभ पेजमा स्वागत छ

    शुभप्रभात!

    रुसले युक्रेनमाथि आक्रमण गरेयता महत्त्वपूर्ण घटनाक्रमबारे हामीले निरन्तर अद्यावधिक गर्दै आएका छौँ।

    आज दिनभरि पनि हामी मुख्यमुख्य घटनाक्रमबारे समाचार सामग्री पस्किरहनेछौँ।

    कृपया हामीसँगै रहनुहोला।