तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

इङ्ग्ल्यान्डबाट उपयुक्त कारणबिना विदेश गए ५,००० पाउन्ड जरिवाना

उचित कारणबिना विदेश जाने इङ्ग्ल्यान्डका नागरिकलाई ५,००० पाउन्ड जरिवाना हुने नयाँ कोरोनाभाइरस कानुन आगामी सातादेखि लागु हुँदैछ।

लाइभ कभरेज

  1. नरभक्षी बाघ बाँकेको थुनाबाट भाग्यो

    बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ भागेको छ।

    बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी निकुञ्जको टाइगर होल्डीङ सेन्टरमा राखिएको थियो।

    बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि निकुञ्जले जङ्गलभित्र नजान स्थानीय बासिन्दालाई आग्रह गरेको छ।

    निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले मङ्गलवार बिहान छ बजे बाघ भागेको जानकारी आएको बताए।

    आफूहरू बाघलाई राखिएको खैरीस्थित टाइगर होल्डीङ सेन्टरको अनुगमन गर्न जाँदा दुई वटा फलामको डन्डी भाँचेर भागेको पाइएको बताए।

  2. जर्मनीमा तीन साता लकडाउन थपियो

    कोभिडको तेस्रो लहरका कारण जर्मनीले तीन साता लकडाउन थपेको छ।

    लकडाउनका कारण इस्टर चाड प्रभावित हुने भएको छ।

    क्षेत्रीय नेताहरूसँग छलफलपछि चान्सलर एन्जेला मर्केलले अहिलेको प्रतिबन्ध एप्रिल १८ सम्म लागु हुने बताएकी छन्।

    एप्रिल १ देखि ५ सम्म कडा प्रतिबन्ध लगाइने र पसलहरू बन्द गरिने छ।

    मर्केलले जर्मनी अहिले अत्यन्तै गम्भीर अवस्थामा रहेको बताएकी छन्।

    “सङ्क्रमण ज्यादै बढेको छ र सघन उपचार कक्षहरू भरिन थालेका छन्,” उनले भनिन्।

    गत २४ घण्टामा थप ७,४८५ जना सङ्क्रमित र २५० मृत्यु भएको जर्मनीमा सङ्क्रमण दर प्रति एक लाख जनसङ्ख्यामा १०० भन्दा बढी भएको छ।

  3. महाकालीमा भारतले बनाइरहेको तटबन्धबारे जबाफ दिन कांग्रेसद्वारा सरकारसँग माग

    प्रमुख विपक्षी नेपाली कांग्रेसले भारतले दार्चुलाको महाकाली नगरपालिका-५ गल्फैमा एकतर्फी रूपमा बनाइरहेको तटबन्ध निर्माणको काम तत्काल रोक्न कूटनीतिक रूपमा पहल गर्न सरकारसँग माग गरेको छ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले नेपाल समेतको जमिनलाई समेटेर भारतले तटबन्ध बनाएको र त्यसले भविष्यमा नेपालमा गाउँ नै सखाप हुने स्तरमा बाढी निम्त्याउने चेतावनी दिए।

    उनले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई बारम्बार ताकेता गर्दा पनि भारतका तर्फबाट भइरहेको तटबन्ध निर्माण रोक्न कुनै पहल नभएको बताए।

    “पटकपटक ताकेता गर्दा नेपाल सरकार सुतेर बसेको छ। अहिले हाम्रो ३५ हेक्टर जमिनमा तटबन्ध बनाउन लागिएको छ। यस्तो भयो भने दुई-तीन वर्षभित्र हाम्रो घना जनसङ्ख्या भएका गाउँ र कृषियोग्य जमिन सखाप हुने खतरा छ।”

    सीमामा कुनै संरचना बन्दा जानकारी दिनुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको भन्दै उनले यस विषयमा सरकार मौन रहनुको कारणबारे जबाफ दिन परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयसँग माग गरेका छन्।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को केपी शर्मा ओलीको तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठले न्याय परिषद्, र न्याय सेवा आयोगको वार्षिक आर्थिक प्रतिवेदन पेस गरेका थिए।

    उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन समितिका सभापति विमलप्रसाद श्रीवास्तवले प्रस्तुत गरेका थिए।

    प्रतिनिधिसभाको बैठक चैत १८ गते बुधवारसम्मका लागि स्थगित भएको छ।

  4. सत्ताका लागि मरिहत्ते गर्दैनौँ: देउवा

    प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगरमा मङ्गलवार सत्ताका लागि मरिहत्ते नगर्ने बताएका छन्।

    तर मौका आए सरकार बनाउने प्रक्रियाबाट आफ्नो पार्टी नभाग्ने पनि उनले बताए।

    देउवाले कांग्रेस विपक्षी पार्टी भएका कारण सत्तामा जान हतार नगरेको बताए।

    प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्तावबारे देउवाले केही बताएनन्।

    कांग्रेसले ओली सरकारलाई नै स्वीकार गर्न सक्ने सम्बन्धमा उनले झोक्किँदै भने, "कांग्रेस विपक्षी पार्टी हो भनेको सुन्नु भएन? विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी।"

    सुनसरीको धरानमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा देउवा विराटनगर पुगेका हुन्।

  5. भारतमा सङ्क्रमण बढेपछि नाकामा कडाइ

    भारतमा कोभिडको दोस्रो चरणको सङ्क्रमण बढ्दै गएपछि नेपाल-भारत नाकामा सावधानी अपनाउन थालिएको छ।

    नेपालगन्ज नाकामा मङ्गलवारदेखि एन्टिजन परीक्षण सुरु गरिने भएको हाम्री संवाददाता विमला चौधरीले जनाएकी छन्।

    नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार त्यसका लागि सबै तयारी पूरा भएको छ।

    रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरमा पुगेका नेपालीहरू त्यहाँ भाइरस सङ्क्रमणको डर तथा लकडाउनका कारण स्वदेश फर्किने क्रम बढेको छ।

    हिजोआज दैनिक ७०० देखि १,००० नेपाली नेपालगन्ज हुँदै स्वदेश फर्किरहेका बताइएको छ।

    वीरगन्जबाट माधुरी महतोले जनाएअनुसार पर्साका नाकाहरूबाट सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टि गर्दै यसको रोकथाम र नियन्त्रणका लागि बुधवार सर्वपक्षीय बैठक भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिएका छन्।

    कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतमा निकायहरू र नाकाका स्वास्थ्य डेस्कलाई सचेत रहन निर्देशन दिएको छ।

  6. विदेश जानेलाई ५,००० पाउन्ड जरिवाना

    उचित कारणबिना विदेश भ्रमणमा जाने इङ्ग्ल्यान्डका बासिन्दालाई ५,००० पाउन्ड जरिवाना हुने नयाँ कोरोनाभाइरस कानुन आगामी सातादेखि लागु हुँदैछ।

    त्यहाँको संसद्ले बिहीवार मतदान गर्न लागेको विधेयकमा उपयुक्त कारण नभई विदेश भ्रमण गर्ने नागरिकलाई जरिवाना गर्ने प्रावधान छ।

    सोमवारसम्म लागु हुने नियममा पनि विदेश भ्रमण वर्जित थियो।

    अब यूकेबाट प्रस्थान गर्नमा लागु प्रतिबन्धले विशिष्ट कानुनको रूप लिने भएको छ।

    अहिलेको प्रावधान अनुसार बिदा मनाउन विदेश जानमा लागु प्रतिबन्ध कम्तीमा मे १७ सम्म लागु हुनेछ।

    तर हाल युरोप र अन्यत्र बढिरहेको सङ्क्रमणका कारण यो पछि धकेलिने सम्भावना छ।

  7. पहिलो ट्वीट २९ लाख डलरमा विक्री

    ट्विटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्वीट २९ लाख अमेरिकी डलरमा एक मलेशियाली व्यापारीले किनेका छन्।

    ‘जस्ट सेटिङ अप माई ट्विटर’ लेखिएको सो ट्वीट सन् २००६ मार्च २१ मा लेखिएको थियो। सो ट्वीट डोर्सीले परोपकारी कार्यका लागि बेचेका हुन्।

    मलेशियाका सिना इस्टाभीले आफूले ट्वीट किन्नुलाई 'मोनालिसा' चित्रकला किने जस्तो भनेका छन्।

    सो ट्वीट बिटक्वाइनको प्रतिस्पर्धी इथर क्रिप्टोकरेन्सीमार्फत् सोमवार किनिएको हो।

    ट्वीट किनिसकेपछि इस्टाभीले एनएफटी टोकन पाएका छन् जसले कुनै पनि डिजिटल कुरा कसको हो भन्ने विवरण राख्छ।

    डोर्सीले सो रकम अफ्रिकाका लागि परोपकारी काममा दान गर्ने बताएका छन्।

  8. सिड्नीमा सयौँ घर डुबानमा, अझ वर्षा हुन सक्ने चेतावनी

    धेरै दशकपछि आएको ठूलो बाढीका कारण पश्चिमी सिड्नीबारे ठूलो चिन्ता भएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।

    न्यू साउथ वेल्सका केही स्थानमा एक मिटरसम्म वर्षा भएको र त्यसले गर्दा आएको बाढीले सयौँ घर बगाएको छ। सडकहरू पनि अवरुद्ध भएका छन्।

    मोरिसनले अझ धेरै वर्षा हुन सक्ने र जोखिमका दिन आउन सक्ने बताउँदै सङ्कटकाल केवल समुद्र किनारको घटना नभएको बताएका छन्।

    उनले सिड्नीको सबैभन्दा ठूलो बाँधबाट अर्को सातासम्म पनि पानी बहने र त्यसले उच्च जनसङ्ख्या भएको क्षेत्रलाई खतरामा राख्ने बताएका छन्।

    त्यहाँ अहिलेसम्म वर्षा र बाढीका कारण कसैको मृत्यु भएको छैन, तर हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको र उद्धारका लागि सेना परिचालन गरिएको छ।

    गत सातादेखि भइरहेको ठूलो वर्षा बुधवारदेखि कम हुने बताइएको छ। तर बाढीको जोखिम कायम रहनेछ।

  9. स्वागतम्

    शुभप्रभात। नमस्कार।

    बीबीसी न्यूज नेपालीको दैनिक लाइभ पेजमा स्वागत छ।

    यो पेजमा हामी आज चैत्र १० गते मङ्गलवार दिनभरि महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना र समाचारहरू सङ्क्षिप्त रूपमा प्रस्तुत गर्नेछौँ।