तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

म्यान्मारमा हडताल, ठूला सहरमा विशाल प्रदर्शन

यो दैनिक लाइभ पेजमा आज सोमवार दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रम एवं जानकारीहरू प्रस्तुत गरिनेछ।

लाइभ कभरेज

  1. प्रचण्ड-नेपाल नेतृत्वको नेकपा यस्तो विवाद

    नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव नेपाल पक्षले सोमवार सार्वजनिक गरेको ६८ वटा जिल्लाको नेतृत्वको सूचीबारे ‘विवाद उत्पन्न’ भएपछि त्यसलाई मिलाउन छलफल अघि बढाइएको नेताहरूले बताएका छन्।

  2. म्यान्मारमा हडताल, हजारौँ मानिस प्रदर्शनमा सहभागी

    म्यान्मारमा सैन्य कूविरुद्ध आह्वान गरिएको हडतालको दिन आज प्रमुख सहरहरूमा हजारौँ मानिसहरूले सडकमा भेला भएर प्रदर्शन गरेका छन्।

    व्यवसायी र कामदारहरूले पनि सहभागी भएकाले व्यापार-व्यसायहरू बन्द भएका छन्।

    द्वन्द्वको बाटोमा अघि बढे "ज्यान जान सक्ने" चेतावनी सेनाले दिएको थियो।

    तर प्रदर्शनकारीहरू त्यसबाट अविचलित छन्।

    गत माघ १९ सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि म्यान्मारमा तनाव बढेको छ।

    आइतवार भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले कारबाही गर्दा दुई जनाको मृत्यु भएको थियो।

  3. प्रतिनिधिसभा विघटन: आज बहस नोट सङ्कलन सकिएपछि संवैधानिक इजलास 'आदेशको छलफलमा जुट्ने'

    प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि संवैधानिक इजलासमा भएका बहसका नोट सोमवारसम्म इजलासमा बुझाइने र मङ्गलवार यो मुद्दा पेसीमा तोकिने अधिकारीहरूले बताएका छन्।

    यसअघि गत शुक्रवार एमिकस क्युरीको बहस टुङ्गिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले फाल्गुन ११ गतेबाट मुद्दालाई हेर्दाहेर्दैमा राखिने बताएका थिए।

    बहस नोट प्राप्त भइसकेपछि बाँकी प्रक्रिया इजलासले नै तोक्ने गर्छ। बहस नोटहरू प्राप्त भएपछि त्यसको अध्ययन गर्ने र फैसलाका बारेमा छलफलको चरण प्रारम्भ हुने बताइन्छ।

    “छलफल त्यसै दिन निष्कर्षमा पुग्यो भने त्यसै दिन निर्णय हुनसक्छ। तर छलफल धेरै भयो, थप अध्ययन गर्नुपर्‍यो भने निर्णय सुनाउनका लागि इजलासले मिति तोक्न पनि सक्छ,” सर्वोच्च अदालतका एक अधिकारीले बीबीसीलाई जानकारी दिए।

    हेर्दाहेर्दैको अवस्थामा रहेको मुद्दाको कारबाहीलाई प्राथमिकता दिइने र उक्त मुद्दा नटुङ्गिएसम्म त्योभन्दा तल रहेका अन्य मुद्दा अहिलेको इजलासले नहेर्ने अधिकारीहरू बताउँछन्।

    पौष ५ गते गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसविरुद्ध १३ वटा रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रस्तुत भएका थिए।

  4. नेपालमा प्रयोग भइरहेको कोभिशील्ड खोपबारे जान्नैपर्ने कुरा

    नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनेको कोरोनोभाइरसविरुद्ध प्रयोग हुने कोभिशील्ड खोपको १० लाख मात्रा आइतवार अपराह्ण काठमाण्डू आइपुगेको छ र सोही परिमाणको खोप पनि चाँडै आउने बताइएको छ।

    नेपालमा कोभिड खोप अभियानमा प्रयोग गरिएको उक्त खोप अक्सफर्ड यूनिभर्सिटी र औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन्।

    अहिले सीरम इन्स्टिट्यूटले भारतमा उक्त खोप व्यावसायिक रूपमा उत्पादन गरिरहेको छ।

  5. कोभिड खोपः दोस्रो चरणको अभियानमा ५५ वर्षमाथिका नागरिक पनि

    दोस्रो चरणको कोभिड खोप अभियानमा ५५ वर्षमाथिका नागरिक र पेसागत समूहहरूलाई समावेश गराएर झन्डै ४० लाखको मानिसलाई कोरोनाभाइरसविरुद्ध खोप दिने योजनामा सरकार छ।

  6. भारत‍-पाकिस्तान वार्ता गराउन अमेरिकालाई आग्रह

    पाकिस्तानले भारत र पाकिस्तानबीच वार्ता गराई दक्षिण एशियामा शान्ति र स्थिरता कायम गर्न भूमिका निर्वाह गर्न अमेरिकालाई आग्रह गरेको समाचार पाकिस्तानको अङ्ग्रेजी पत्रिका डनले प्रकाशित गरेको छ।

    उक्त समाचारअनुसार अमेरिकाका लागि पाकिस्तानका राजदूत असद माजिद खानले वाशिङ्टनस्थित थिङ्क ट्याङ्क स्टिम्सन सेन्टरद्वारा आयोजित एउटा कार्यक्रममा त्यस्तो आग्रह गरेका हुन्।

    "पाकिस्तान एउटा शान्तिपूर्ण छिमेकी चाहन्छ। अनि सही परिस्थिति बाउने दायित्व भारतको हो," उनले भने।

    "यसमा आफ्नो भूमिका निर्वाह गर्न हामी अमेरिकालाई आग्रह गर्छौँ।"

  7. उत्तराखण्डको बाढीबारे किन यस्तो शङ्का

    उत्तर भारतको हिमालय क्षेत्रमा पर्ने एउटा गाउँका बासिन्दाहरूले आफ्नो वासस्थानभन्दा माथिल्लो भेगका हिमालका हिउँ र ढुङ्गामुनि आणविक उपकरण छ भन्ने विश्वास धेरै अघिदेखि सुन्दै आएका छन्।

    फेब्रुअरी महिनाको सुरुमै रैनी गाउँमा बाढी आउँदा गाउँलेहरूमाझ तिनै उपकरण 'पड्किए' भन्ने हल्ला फैलियो र उनीहरू धेरै आत्तिए। के हो वास्तविकता?

  8. एउटा विमानमा समस्या देखिएपछि अमेरिका र जापानमा बोइङ ७७७ थन्किए

    अमेरिकाको वायुसेवा कम्पनी यूनाइटेड एअरलाइन्सले आफ्ना २४ वटा बोइङ ७७७ विमान ‘ग्राउन्ड’ गर्ने निर्णय गरेको छ। शनिवार उडेको केही छिनमै एउटा विमानको इन्जिनमा समस्या देखिएपछि उक्त कम्पनीले यो निर्णय गरेको हो।

    डेन्भरबाट २३१ यात्रु र चालकदलका १० सदस्यसहित उडेको सो विमानबाट क्षतिग्रस्त इन्जिनका भागहरू आकाशबाट आवासीय क्षेत्रमा खसेका थिए। कुनै मानवीय क्षतिबिनै उक्त विमान पुनः विमास्थलमा अवतरण गर्न सफल भएको थियो।

    उक्त घटनापछि जापानले सबै वायुसेवा प्रदायकहरूलाई ‘प्र्याट एन्ड ह्विट्नी ४०००’ मोडलको इन्जिन भएका बोइङ ७७७ विमानहरू आफ्नो आकाशबाट नउडाउन आग्रह गरेको छ।

    यूनाइटेड एअरलाइन्स र जापानका दुई मुख्य वायुसेवा कम्पनीहरूले कुल ६२ वटा विमान अहिले नउडाउने भएका छन्। कोरियन एअरले पनि छवटा विमान ग्राउन्ड गरेको छ।

    बोइङ कम्पनीले छानबिन नसकिउन्जेसम्म सो इन्जिन प्रयोग गर्ने बोइङ ७७७ विमानका सबै उडान स्थगित गर्न सुझाव दिएको छ।

    उसका अनुसार विश्वभरि त्यस्ता ६९ वटा विमान प्रयोगमा छन्।

    यो पनि पढ्नुहोस्

  9. स्वागतम्

    नमस्ते। बीबीसी न्यूज नेपालीको दैनिक लाइभ पेजमा तपाईँलाई स्वागत छ।

    यो लाइभ पेजमा आज फागुन १० गते सोमवार दिनभरिका महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रम एवं जानकारीहरू प्रस्तुत गरिनेछ।

    अहिलेसम्मका केही महत्त्वपूर्ण समाचारहरू:

    -संयुक्त राष्ट्रसङ्घको परमाणु गतिविधि अनुगमन गर्ने निकायका प्रमुखले राष्ट्रसङ्घीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणुकेन्द्रहरूको अनुगमन गर्न दिन इरान सहमत भएको बताएका छन्। तर हतारमा गरिएको उक्त सम्झौताले इन्टरन्याश्नल अटोमिक एनर्जी एजेन्सी (आईएईए) का निरीक्षणकर्ताहरूले आकस्मिक निरीक्षण गर्न पाउनेछैनन्

    -अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलेभनका अनुसार इरानले हिरासतमा लिएका एक अमेरिकी नागरिकबारे तेहरानसँग कुराकानी सुरु भएको छ। इरानले दोहोरो नागरिकता भएका अमेरिकीहरूलाई जासुसीको आरोपमा पक्राउ गर्ने गरेको छ। इरानी विदेश मन्त्रालयले अमेरिकासँग उक्त विषयमा सीधै कुराकानी नभएको बताएको छ। तर उसका अनुसार अमेरिकामा नयाँ राष्ट्रपतिले कार्यभार सम्हालेपछि तेहरानस्थित स्विस दूतावासबाट केही सन्देशहरू प्राप्त भएका छन्।

    -इथियोपियाको टीग्रे क्षेत्रमा सङ्घर्षबाट प्रभावित मानिसलाई पहिला आकलन गरिएकोभन्दा धेरै सहायता आवश्यक भएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीले जनाएको छ। आईसीआरसीका एकनिर्देशक डोमिनिक स्टिलहर्टले बीबीसीसँग उक्त क्षेत्रमा मानवीय सहायता तत्कालै बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनका अनुसार टीग्रेमा खानेकुराको अभाव देखिएको छ र लडाइँका कारण मानिसहरूले बाली भित्र्याउन समेत पाएका छैनन्।

    -भारत र चीनले उच्च हिमाली क्षेत्रमा अवस्थित विवादित सीमा क्षेत्रबाट सेना र हतियार फिर्ता गर्ने कार्य सम्पन्न गरेका छन्। एउटा संयुक्त वक्तव्यमा ती दुई देशले पान्गोङ ताल क्षेत्रबाट सैनिकहरू फिर्ता गर्ने काम ‘सीमा विवाद समाधानतर्फको एउटा महत्त्वपूर्ण कदम’ भएको बताएका छन्। गत वर्षभरि उक्त क्षेत्रमा दुवै देशले ठूलो सङ्ख्यामा सैनिक तैनाथ गरेका थिए। गत जुनमा भएको एउटा हिंसात्मक झडपमा परेर गलवान उपत्यकामा दुवै देशका सेनाहरू मारिएका थिए।

    -म्यान्मारमा सैन्य कूविरुद्धको आन्दोलनका क्रममा मारिएका व्यक्तिको अन्तिम संस्कारमा हजारौँ मानिसहरू सहभागी भएका छन्। म्यान्मारका कैयौँ सहरमा मृतकको सम्झनामा मानिसहरू जाग्राम बसेका छन्। सुरक्षाकर्मीको गोली लागेर घाइते भएको दुई सातापछि गत शुक्रवार निधन भएकी एक २० वर्षीया महिलाको अन्तिम संस्कारपछि उनको आत्माको चिर शान्तिको कामना गर्दै म्यान्मारका सहरहरूमा कैयौँ मानिसहरूले प्रार्थना गरेका थिए। राजधानीमा उनको अन्तिम संस्कारका लागि पनि हजारौँ मानिस उपस्थित भएका थिए।