तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी निर्वाचन २०२०: पेन्सिल्भेनिया जितेपछि जो बाइडन राष्ट्रपति निर्वाचित
निर्णायक मानिएका राज्यहरूमा भएका मतगणनाका पछिल्ला विवरणहरूमा बाइडनले आफ्नो अग्रतालाई फराकिलो पार्दै लगेका थिए।
लाइभ कभरेज
नयाँ निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडन को हुन्?
जो बाइडन विश्वकै सबभन्दा अनुभवी राजनीतिज्ञमध्ये एक मानिन्छन्। उनले सन् १९८७ मै अमेरिकी राष्ट्रपति पदको आकाङ्क्षा देखाएका थिए। डेमोक्र्याटिक पार्टीको तर्फबाट विजेता बन्दै अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित बाइडनबारे थाहा पाउनु पर्ने जानकारी यस्ता छन्।
'म सबै अमेरिकीको राष्ट्रपति'
राष्ट्रपति निर्वाचित हुन आवश्यक इलेक्टरल मत पुग्ने प्रक्षेपण गरिएपछि जो बाइडनले आफूलाई देशको नेतृत्व गर्न छानेकोमा सम्मानित अनुभूति भएको भन्दै आफूप्रति गरिएको विश्वास कायम राख्ने बताएका छन्।
आफूलाई मत दिए पनि नदिए पनि आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने उनको वाचा छ।
पेन्सिल्भेनिया पोल्टामा परेपछि जो बाइडन राष्ट्रपति निर्वाचित
डेमोक्र्याटिक दलका उम्मेदवार जो बाइडन अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रक्षेपण गरिएको छ।
कुनै कानुनी अवरोध सिर्जना नभए उनी ज्यानुअरीमा राष्ट्रपति बन्नेछन्।
राष्ट्रपति बन्न बाइडन र ट्रम्पले अब कहाँ जित्न आवश्यक छ?
ब्याटलग्राउन्ड राज्यहरू जोर्जिया,पेन्सिल्भेनिया,नेभाडा र एरिजोनामा मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ह्वाइट हाउस पुग्न जो बाइडन वा ट्रम्पले कहाँ-कहाँ जित्नु पर्छ?
बाइडनले पेन्सिल्भेनिया एउटामा मात्रै वा नर्थ क्यारोलाइना,जोर्जिया, एरिजोना र नेभाडा मध्ये दुईवटामा जितेमा उनको निम्ति ह्वाइट हाउसको ढोका खुला हुनेछ।
इलेक्टरल मत ३ वटा रहेको अलास्कामा बाइडनलाई ठूलो मत अन्तरले पछि पारेका ट्रम्प राष्ट्रपतिमा कायम रहन उनले पेन्सिल्भेनियामा जित्नै पर्ने देखिन्छ। त्यससँगै नर्थ क्यारोलाइना,जोर्जिया, एरिजोना र नेभाडामध्ये तीनवटामा उनले जित्न आवश्यक हुनेछ। तर उनले जोर्जिया गुमाएर अन्य राज्यमा जिते र बाइडनले जोर्जियामात्र जितेमा दुवैको बराबर २६९ मत हुनेछ।
पेन्सिल्भेनियामा २०, जोर्जियामा १६, नर्थ क्यारोलाइनामा १५, एरिजोनामा ११ र नेभाडा ६ इलेक्टरल मत छन्।
राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टरल मत आवश्यक पर्छ।
डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई अझै १७ मत आवश्यक छ भने ट्रम्पलाई ५६ मतको खाँचो छ।
निर्णायक हुने पेन्सिल्भेनियाको मत अन्तरमा अमेरिकी सञ्चार माध्यमको नजर
अमेरिकामा राष्ट्रपतीय चुनावको नतिजा सुनिश्चित गर्ने ठानिएका महत्त्वपूर्ण राज्यहरूको थप मत परिणाम छिट्टै आउने ठानिएको छ।
अनिर्णित रहेको एउटा ठूलो राज्य पेन्सिल्भेनियामा जो बाइडनले अग्रता बढाइरहेका छन्। जहाँ २० इलेक्टरल कलेज मत छ।
मतगणना भइरहेका छवटा राज्यहरूमध्ये बाइडनले त्यहाँ मात्रै जिते भने पनि उनी राष्ट्रपति बन्ने छन्।
ट्रम्पले उक्त राज्य गुमाएसँगै उनी ह्वाइट हाउसबाट बाहिरिनु पर्नेछ।
अमेरिकी टेलिभिजन नेटवर्कहरूले बाइडनले अग्रता लिइरहेको पेन्सिल्भेनियामा मतको अन्तरलाई नजिकबाट नियालिरहेका छन्।
आउँदा केही घण्टामा त्यो बढ्दै गएमा उनीहरूले पूर्व उपराष्ट्रपति बाइडनलाई विजेता घोषणा गर्नसक्छन्।
जोर्जियामा पनि उनले झिनो मतान्तरले अग्रता बढाएका छन्। तर अधिकारीहरूले त्यहाँ पुन: मतगणना गर्ने बताइसकेका छन्।
राष्ट्रपति ट्रम्प एरिजोना र नेभाडा पनि पछाडि छन्।
अमेरिकी निर्वाचनको मतगणनाको पछिल्लो अवस्थाले के भन्छ?
अमेरिकी चुनावको परिणामको व्यग्र प्रतीक्षा भइरहेको छ। छ वटा राज्यमा मतगणना भइरहेकाले अहिले नै ह्वाइट हाउसको दौड कसले जित्यो भन्ने स्थिति आइसकेको छैन।
जो बाइडनलाई राष्ट्रपति बन्न १७ इलेक्टरल कलेज मतको आवश्यकता छ। उनी डोनल्ड ट्रम्पभन्दा अगाडि छन्।
कुल २७० इलेक्टरल कलेज मत आवश्यक पर्छ।
शुक्रवार राति सम्बोधन गर्दै जो बाइडनले विजय घोषणा त गरेनन् तर आफूले ‘स्पष्ट बहुमतले’ जित्ने बताए।
उनले विभाजित अमेरिकीलाई एकबद्ध रहन र धैर्य गर्न आग्रह गरे, “हामी एक अर्काका विपक्षी हौँ तर शत्रु होइनौँ।”
बाइडन विभिन्न राज्यको मतगणनामा ट्रम्पभन्दा अगाडि छन्।
·पेन्सिलभेनियामा अहिले बाइडन २८,८८३ मत सङ्ख्याले अगाडि छन्। यहाँ अरू राज्यको तुलनामा धेरै मत गणना हुन बाँकी छ। पेन्सिलभेनिया मात्रै जिते पनि बाइडन राष्ट्रपति बन्नेछन्।
·एरिजोनामा पनि उस्तै मतको अन्तर छ। बाइडनले ट्रम्पभन्दा २९,८६१ मतले अग्रता लिइरहेका छ्न।
·नेभाडामा बाइडन २२,६५७ मतले अगाडि छन्।
·जोर्जियामा पनि बाइडन अगाडि छन् तर जम्मा ७,२४८ मतले मात्रै। असाध्यै कम मतान्तर भएकाले त्यहाँ पुन: मतगणना गरिने अधिकारीहरूले बताएका छन्।
'शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने'
रिपब्लिकनका बरिष्ठ नेता मिच मक्कनलले राष्ट्रपतीय निर्वाचन जो बाइडनले जिते भने शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने बताएका छन्।
उनको निर्वाचन क्षेत्र केन्टकीमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, “अवश्य पनि।”
“सन् १७९२ देखि हरेक चार वर्षमा सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुँदै हामी नयाँ प्रशासनमा जाने गरेका छौँ,” मक्कनलले बताएका छन्।
डोनल्ड ट्रम्पले मिश्रित सन्देशहरू जारी गरिरहेका बेला मक्कनलको प्रतिक्रिया आएको छ।
राष्ट्रपति ट्रम्पले यो वर्षको शुरूतिर त्यस्तो हस्तान्तरणप्रति प्रतिबद्धता जनाउन अस्वीकार गरेका थिए, तर पछि गत महिना सहज हस्तान्तरणलाई समर्थन गर्ने बताएका थिए।
गत महिना ट्रम्पले भनेका थिए, “शान्तिपूर्ण हस्तान्तरण… म त्यस्तै चाहन्छु तर आदर्शत: म हस्तान्तरण चाहन्न किनभने म जित्न चाहन्छु।”
जोर्जियामा बाइडनको अग्रता बढ्दै
मतगणना भइरहेकामध्ये दुई उम्मेदवारबीच सबभन्दा कम मतान्तर देखिएको जोर्जिया राज्यमा जो बाइडनले अग्रता बढाउँदै लगेका छन्।
पछिल्लो गणनापश्चात् उनको अग्रता ४,००० बाट ७,२४८ पुगेको बीबीसीको आँकडामा देखिएको छ।
१६ इलेक्टोरल मत रहेको जोर्जिया परम्परागत रूपमा रिपब्लिकन राज्य मानिन्छ। यसअघि त्यहाँ सन् १९९२ को राष्ट्रपतीय चुनावमा मात्र डेमोक्र्याट उम्मेदवारले जितेका थिए।
मतगणना भइरहेकामध्ये सबभन्दा धेरै इलेक्टोरल मत रहेको पेन्सिल्भानिया राज्यमा बाइडनको अग्रता झन्डै २९हजार पुगेको छ। त्यहाँ जिते मात्रै पनि बाइडनले ह्वाइट हाउस जित्नेछन्।
पेन्सिल्भानिया राज्यका महान्यायाधिवक्ताका अनुसार त्यहाँको अन्तिम नतिजा स्थानीय समय शनिवार अबेरसम्ममा प्रस्ट हुनसक्छ।
अमेरिकी चुनावसम्बन्धी कानुनी चुनौतीका प्रक्रिया कस्ता हुनेछन्?
राष्ट्रपति ट्रम्पले मतपरिणामबारे कानुनी चुनौतीको विषय उठाइरहेका छन्।
अमेरिकामा मतदान वा मतगणनासम्बन्धी कानुनी चुनौतीका प्रक्रिया कस्ता हुन्छन् त? हेर्नुहोस् चित्रमा
ट्रम्पको कानुनी लडाइँका यी हुनेछन् ‘मुख्य योद्धा’
ट्रम्प समूहले प्रमुख चुनावी नतिजाहरू विरुद्ध शृङ्खलाबद्ध कानुनी चुनौती दिने बताइरहेको बेला त्यस्ता चुनौतीलाई अगाडि बढाउने जिम्मा कसले लिन्छ भन्ने बारे प्रस्टता आएको विवरणहरूमा जनाइएको छ।
सन् २०१६ को चुनावताका आफ्नो निर्वाचन अभियानका उप-व्यवस्थापक रहेका डेभिड बोसीलाई नै यो जिम्मा ट्रम्पले दिनसक्ने बताइएको छ।
ट्रम्पको समूहले सन् २००० मा चुनावी नतिजालाई लिएर उत्पन्न विवादका बेला जोर्ज डब्लु बुशले वरिष्ठ रिपब्लिकन नेता तथा वकिल जेम्स बेकरलाई अघि सारेको जस्तै गरेर कसैलाई अघि सार्न खोजिरहेको थियो। त्यतिखेर बेकरको नेतृत्वमा अघि बढाइएको कानुनी चुनौतीपश्चात् फ्लोरिडाको मत पुन: गणनामार्फत् बुशले ह्वाइट हाउसको जिम्मा पाएका थिए।
बोसी वकिल भने होइनन्। तर ट्रम्पलाई मनपर्ने सबै गुण उनमा भएको बताइन्छ: कडा बोल्ने, आक्रामकता र सन्देश दिन सक्षम।
अब उनले ट्रम्प समूहले मतपरिणामबारे उठाएका सबै विषयलाई संयोजन गर्ने जिम्मा पाउन सक्नेछन्।
राष्ट्रपति ट्रम्पले नोभेम्बर ४ देखि नै आफ्ना भाषण तथा ट्वीटरमार्फत कुनै प्रमाण विना मतदान र मतगणनामा अनियमितता भएका दाबी गर्दै आएका छन्।
ट्रम्प समर्थकहरू कतै मतगणना ‘रोक्न’ र कतै ‘गणना’ गर्न भनिरहेका छन्
अमेरिकी निर्वाचनको मतगणना जारी रहेका बेला राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरू मतगणना स्थल पुगेका छन्।
उनीहरूले कतै ‘मतगणना गर्न’ आग्रह गरिरहेका छन् त कतै ‘मतगणना रोक्न’भनिरहेका छन्। हेर्नुहोस् भिडिओ
मतदाता सहभागितामा कीर्तिमान
अमेरिकी इतिहासमा १२० वर्ष यता यसपालीको निर्वाचनमा सबभन्दा धेरै - ६६.९% - सहभागी भएको बताइएको छ।
मतगणनाको पछिल्लो अवस्था यस्तो छ:
राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टरल मत आवश्यक पर्छ। डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई त्यति पुग्न अझै १७ मत आवश्यक छ।
शुक्रवार सम्बोधन गर्दै बाइडनले आफू विजयी हुनेमा विश्वस्त रहेको बताए।
उनले आफूले ३०० इलेक्टरल मत जित्ने विश्वास व्यक्त गरे।
ताजा मतगणना विवरण भने यस्तो छ:
- पेन्सिलभेनियामा बाइडनले २८,८३३ मतको अग्रता लिएका छन्। नतिजा आउन बाँकीमध्ये यो राज्यमा सबभन्दा धेरै २० इलेक्टरल मत रहेको छ। बाइडनले यो राज्यमा मात्र विजय हासिल गरेपनि राष्ट्रपति निर्वाचित हुनेछन्।
- एरिजोनामा बाइडनको अग्रता २९,८६१ ले रहेको छ। यो राज्यसँग ११ इलेक्टरल मत रहेको छ।
- नेभाडामा बाइडन २२,६५७ मतले अगाडि छन्। यहाँको इलेक्टरल मत सङ्ख्या ६ रहेको छ।
- जोर्जिया राज्यमा पनि बाइडन नै अगाडि छन्। त्यहाँ उनको अग्रता केवल ४,३९५ रहेको छ। अधिकारीहरूले मतान्तर कम भएकाले त्यहाँ पुन: गणना हुने बताइरहेका छन्। यो राज्यको इलेक्टरल मत सङ्ख्या १६ रहेको छ।
ह्वाइट हाउसका चिफ अफ स्टाफपनि कोरोनाभाइरस सङ्क्रमित
राष्ट्रपति डोनल्ड ट्रम्पका निकट सहयोगी ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोज कोरोनाभाइरसबाट सङ्क्रमित भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
एक महिना अगाडि राष्ट्रपति ट्रम्प पनि सङ्क्रमित भएका थिए।
अमेरिकामा महामारी सुरु भएयता २३६,००० मानिसहरूले कोभिडका कारण ज्यान गुमाइसकेका छन्।
अमेरिकामा ९७ लाख मानिसहरू सङ्क्रमित भइसकेका छन्।
केही दिनयता त्यहाँ दैनिक एक लाखभन्दा धेरै थप सङ्क्रमितहरू फेला परिरहेका छन्। थप पढ्नुहोस्
विजयप्रति विश्वस्त बाइडन
डेलावेरको सम्बोधनमा बाइडनले कोभिड-१९ को नियन्त्रणमा विशेष जोड दिएका थिए।
उनले कोरोनाभाइरस सङ्क्रमण सङ्ख्या बढिरहेका बेला आफ्नो राष्ट्रपति कार्यकालको पहिलोदिनदेखि काम गर्ने बताए।
अमेरिकामा तीनदिनदेखि प्रत्येक दिन १००,००० थप मानिस सङ्क्रमित भएका छन्।
डेमोक्र्याटिक पार्टीका राष्ट्रपतीय उम्मेदवार बाइडनले ३०० इलेक्टरल कलेज मत प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।
लामो समयदेखि रिपब्लिकनको पक्षमा रहँदै आएका एरिजोना र जोर्जियामा दुई दशकयता पहिलोपटक डेमोक्र्याटले जित्न लागेको उनले बताए।
उनले भने, “हामी पूर्ण बहुमतसहित यो दौड जित्नेछौँ।”
सिनेटको शक्ति सन्तुलन ज्यानुअरीमा मात्र प्रस्ट हुने
अमेरिकामा संसदको माथिल्लो सदन सिनेटको शक्ति सन्तुलन कस्तो हुनेछ भन्नेबारे ज्यानुअरीमा मात्र प्रस्टता आउने बताइएको छ।
जोर्जियाका दुई सिनेट सिटमा भएको प्रतिस्पर्धामा आवश्यक ५० प्रतिशतको प्रस्ट बहुमत देखा परेको छैन।
अर्थात त्यहाँ दोस्रो चरणको निर्वाचन ज्यानुअरी ५ मा फेरि हुनेछ।
मङ्गलवारको मतदान अगाडि डेमोक्र्याट तथा रिपब्लिकनहरूले सिनेट प्रतिस्पर्धाका निम्ति झन्डै १० करोड डलर खर्च गरेका थिए।
दुवै सिट डेमोक्र्याटहरूले जितेको खण्डमा सिनेटमा दुवै दलको ५०-५० सिट पुग्नेछ।
जो बाइडनले भने ‘हामी जित्दैछौँ’
अमेरिकाका डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार बाइडनले केही बेर अघि आफ्नो गृह राज्य डेलावेरबाट सम्बोधन गरेका छन्।
सम्बोधन गर्दै उनले भने - "हामी अगाडि छौँ। जित्नेछौँ।"
उनले अमेरिकाको इतिहासमै सबभन्दा धेरै मत आफ्ना पक्षमा आउने बताए।
"२४ वर्षपछि एरिजोना जित्दैछौँ। २८ वर्षमा जोर्जिया जित्दैछौँ। पेन्सिलभेनिया जस्तो महत्त्वपूर्ण राज्य जित्दैछौँ। रेकर्ड नम्बरले परिवर्तन रोजेका छन्," उनले भने। थप पढ्नुहोस्