तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

नेपाल भूकम्पः ज्यान गुमाएका १५७ जनाको सनाखत

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाएका १५७ जनाकै शव सनाखत भएको र आफन्तले बुझिसकेको गृह मन्त्रालयले जनाएको छ।

लाइभ कभरेज

  1. जाजरकोट केन्द्रबिन्दु बनाएर गत शुक्रवार गएको भूकम्पबारेको यो लाइभ पेजबाट आजलाई बिदा चाहन्छौँ। हाम्रा अन्य सामग्रीहरूका लागि www.bbc.com/nepali हेर्दै गर्नुहोला।

  2. प्रदेश अस्पताल सुर्खेतमा घाइतेहरूको कसरी उपचार भइरहेको छ?

    शुक्रवार रातिको भूकम्पमा परेर घाइते भएका मानिसहरूलाई विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको छ।

    भूकम्पको तेस्रो दिन आइतवार सरकारले सबै घाइतेको ‘जति महँगो परे पनि’ नि:शुल्क उपचार गर्ने निर्णय गरेको थियो।

    भूकम्पमा परेर करिब २५० जना घाइते भएको सरकारी विवरण छ।

    तीमध्ये केही घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

    बीबीसी संवाददाता सृजना श्रेष्ठले त्यहाँ उपचाररत घाइते तथा उनीहरूका आफन्त र चिकित्सकसँग कुराकानी गरेर बनाएको यो भिडिओ हेर्नुहोस्।

  3. भारतले पठाएको राहत सामग्रीको पहिलो खेप नेपालगन्ज विमानस्थल पुग्यो

    छिमेकी राष्ट्र भारतले जाजरकोट भूकम्प पीडितका लागि पठाएको भारु १० करोड बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप आइतवार नेपाल आइपुगेको छ।

    भारतीय वायुसेनाको एक विशेष विमान सी–१३० ले ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्री नेपालगन्ज विमानस्थलमा पुर्‍याएको काठमाण्डूस्थित भारतीय दूतावासले जनाएको छ।

    राहत सामग्रीमा त्रिपाल, कम्बल र स्लीपिङ्ग ब्याग, बोक्न मिल्ने भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेको दूतावासले जनाएको छ।

  4. भूकम्प प्रभावित जाजरकोटको चिउरी पुगेका बीबीसीका शरद केसीले जे देखेः

    जाजरकोट नलगाड नगरपालिकाको वडा नम्बर १ चिउरी गाउँको फेदमा सधै जस्तो ठूली भेरी नदी बगिरहेको छ। नदीको सुस्साइसँगै नदी किनारमा चलिरहेको रुवाबासी। चिउरीमा १८६ घर छन्। जुन एक दलित बस्ती हो।

    नदी किनारमा महिला र बालबालिका सहित १३ जनाको शव लस्करै राखिएको थियो। डाँको छाडेर रोइरहेका केही महिला अचेत हुँदा एम्बुलेन्सले अस्पताल पुर्‍याउनु परेको थियो।

    एउटा चितामा छजना र अरूलाई अलग अलग चिता बनाएर अन्तिम बिदा गरियो। ती सबै शुक्रवार मध्यरातमा आएको भूकम्पमा परेर ज्यान गुमाउने चिउरी गाउँका थिए।

    पूरा विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्ः भूकम्प प्रभावित क्षेत्रका दुई दर्दनाक दृश्य

  5. भूकम्पमा ज्यान गुमाएका १५७ जनाकै सनाखत

    भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाएका १५७ जनाकै शव सनाखत भएको गृह मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार सबै मृतकको शव आफन्तले बुझिसकेका छन्।

    हालसम्म भूकम्पका कारण जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको थाहा भएको जनाइएको छ।

    कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका नौ वटा जिल्लामा गरि २५६ जना घाइते भएकोमा १४६ जना उपचारपछि घर फर्किएको गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ।

  6. राहतका लागि प्रयोग हुने विमानहरूले सरकारलाई शुल्क तिर्न नपर्ने

    नागरिक उड्डयन प्राधिकरणले जाजरकोट भूकम्प पीडितहरूका लागि राहत सामग्री लैजानका लागि प्रयोग हुने वायुयानहरूको शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ।

    प्राधिकरणले एक सूचना जारी गर्दै नेपालगन्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने वायुयानहरूको शुल्कमा 'शतप्रतिशत छुट दिने निर्णय गरिएको' जनाएको छ।

    प्राधिकरणले जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय पनि गरेको छ।

  7. दश हजार किलो राहत सामग्री पुर्‍याइयो: नेपाली सेना

    नेपाली सेनाले जागरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा परिचालित फौजले दोस्रो दिन पनि खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ।

    खोजी र उद्धारका साथै उक्त क्षेत्रमा राहत सामग्री पनि पठाइएको सेनाको भनाइ छ।

    सामाजिक सञ्जाल एक्समा सेनाले लेखेको छ, "जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरूमा हालसम्म नेपाली सेनाको हवाई साधनद्वारा करिब १० हजार केजी अतिआवश्यक राहत सामग्री ढुवानी गरिएको छ।"

  8. सुपर ओभरमा ओमानसँग नेपाल पराजित

    टी-ट्वेन्टी विश्वकपको निम्ति एशियाली छनोट प्रतियोगिताको फाइनल खेलमा ओमानसँग नेपाल पराजित भएको छ।

    सुपर ओभरबाट भएको निर्णयमा नेपाल पराजित भएको हो।

    सुपर ओभरमा अविनाश बोहराको बलमा ओमानले तीन छक्का सहित २१ रन जोड्यो।

    जवाफी ब्याटिङमा नेपालका ब्याटर कुशल भुर्तेल पहिलो बलमै क्याच आउट भए। नेपालले भुर्तेलपछि कुशल मल्ललाई पिचमा पठायो। दोस्रो बलमा नेपालले रन जोड्न सकेन। तेस्रो र चौथो बलमा नेपालले एक-एक रन लियो।

    पाँचौ बलमा कुशल मल्लले चौका प्रहार गरे। ओमानको फिल्डिङ मिस हुँदा अन्तिम बलमा नेपालले अर्को चौका जोड्दै १० रन बनायो।

    त्यसअघि निर्धारित २० ओभरको खेलमा दुवै टोलीले बराबर १८४ रन बनाएका थिए।

  9. रोमाञ्चक फाइनल खेलको २० ओभरमा नेपाल र ओमान बराबरीमा

    टी ट्वेन्टी विश्वकपको निम्ति एशियाली छनोट प्रतियोगिताको फाइनल खेलमा आइतवार अन्तिम ओभरमा नेपाल र ओमानबीच रन बराबरी भएको छ।

    कीर्तिपुरको क्रिकेट रङ्गशालामा भएको खेलमा ओमानले १८५ रनको लक्ष्य पछ्याउँदा ९ विकेटको क्षतिमा नेपालले बनाएको जति नै १८४ रन बनाएको थियो।

    ओमानका ब्याटर कश्यप प्रजापतिले ५२ बलमा ६३ रन बटुलेका छन्।

    यसअघि पहिलो ब्याटिङ गर्दै नेपालले ओमानसामु १८५ रनको लक्ष्य दिएको थियो।

    नेपाली खेलाडीहरूले ६ विकेट गुमाएर १८४ रन जोडेका थिए।

    कप्तान रोहित पौडेल र गुलशन झा दुवै जनाले अर्धशतक बनाएका थिए।

    पौडेलले ३७ बलमा ५२ रन अनि झाले २५ बलमा ५४ रन बनाएका थिए।

    आगामी वर्ष हुने टी ट्वेन्टी विश्वकप प्रतियोगिताको निम्ति एशियाली क्षेत्रबाट छनोट गर्न आयोजित प्रतियोगितामा नेपालले समूह चरणको खेलमा ओमानसँग हारेको थियो।

    तर सेमिफाइनलमा भने नेपालले यूएईलाई जितेसँगै ओमान र नेपाल दुवै टोली टी ट्वेन्टी विश्वकपको निम्ति छनोट भइसकेका छन्।

  10. भूकम्प पीडितलाई सघाउने भारत, चीन र अमेरिकाको चाहना, छिमेकीको सहयोग स्वीकार गर्ने सरकारको निर्णय

    भारत, चीन र अमेरिका जस्ता देशहरूले जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका पीडितहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाइरहँदा आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले त्यस्तो अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।

    सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले भनिन्, “छिमेकी लगायत मित्रराष्ट्रहरूबाट प्रस्ताव भएको सहयोग स्वीकार गर्ने र त्यस्तो सहयोगका लागि नेपाल सरकारबाट धन्यवाद दिने निर्णय भएको छ।”

    यसअघि गृहमन्त्रालयले शनिवार सहयोगको त्यस्तो सद्भावप्रति कृतज्ञता व्यक्त गर्दै नेपाल सरकारले थप विवरण र क्षतिका आधारमा आवश्यक परेमा पछि अनुरोध गर्ने निर्णय लिएको छ।

    उक्त भूकम्प लगत्तै सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताप्रति ऐक्यबद्धता रहेको र सबै सम्भव सहयोग गर्न तयार रहेको जनाएका थिए।

    काठमाण्डूस्थित चिनियाँ राजदूत छन सोङ्ले आपत्कालीन प्रतिक्रियाको रूपमा चीनले भूकम्प पीडितका लागि १० करोड रुपियाँको सामग्रीहरू प्रदान गर्ने जनाएका छन्।

    उनले ती सहयोग एक दुई दिनमै आउने र थप सहयोग पनि आफ्नो मुलुकले दिने उल्लेख गरेका छन्।

    चिनियाँ राष्ट्रपति सी जिनपिङले भूकम्पका कारण भएको क्षतिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन्।

    काठमाण्डूस्थित अमेरिकी राजदूत डिन थम्पसनले पनि आफ्नो मुलुक नेपाललाई भूकम्पको पुनर्स्थापनामा सघाउन तयार रहेको सामाजिक सञ्जाल ट्विटरबाट बताएका छन्।

  11. क्रिकेटः ओमानलाई नेपालले दियो १८५ रनको लक्ष्य, टि ट्वेन्टी विश्वकप एशिया छनोट प्रतियोगिताको फाइनल

    कीर्तिपुरको क्रिकेट रङ्गशालामा जारी फाइनल खेलमा नेपालले ओमानसामु १८५ रनको लक्ष्य दिएको छ।

    पहिलो इनिङ्समा ब्याटिङ गर्दै नेपाली खेलाडीहरूले ६ विकेट गुमाएर १८४ रन जोडेका छन्।

    कप्तान रोहित पौडेल र गुलशन झा दुवै जनाले अर्धशतक बनाएका छन्।

    पौडेलले ३७ बलमा ५२ रन अनि झाले २५ बलमा ५४ रन बनाए।

    जबाफमा अहिले ओमानले ब्याटिङ गरिरहेको छ। ६ ओभर सकिँदा उसले १ विकेट गुमाएर ६२ रन जोडिसकेको छ।

    आगामी वर्ष हुने टि ट्वेन्टी विश्वकप प्रतियोगिताको निम्ति एशियाली क्षेत्रबाट छनोट गर्न आयोजित प्रतियोगितामा नेपालले यसअघि समूह चरणको खेलमा ओमानसँग हारेको थियो।

    तर सेमिफाइनलमा भने नेपालले यूएईलाई जितेसँगै ओमान र नेपाल दुवै टोली टि ट्वेन्टी विश्वकपको निम्ति छनोट भइसकेका छन्।

  12. ‘पश्चिम नेपालमा आठ वा त्यो भन्दा बढी म्याग्निट्यूडको भूकम्पको जोखिम’

    पश्चिम नेपालको भूसतहमुनि ५०० वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको वैज्ञानिक अध्ययनहरूले देखाएका भन्दै विज्ञहरूले त्यसले आठ वा त्योभन्दा बढी म्याग्निट्यूडको भूकम्प निम्त्याउन सक्ने क्षमता राख्ने भएकाले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।

    अहिलेसम्मको अध्ययनले गोरखाभन्दा पश्चिम भारतको देहरादुनभन्दा पूर्वको करिब ८०० किलोमिटर भूभागमा सन् १५०५ यता महाभूकम्प नगएको हुँदा यो क्षेत्रमा जोखिमरहेको भूकम्पविज्ञहरूले बताएका छन्।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका सिनिअर डिभिजनल सिस्मोलोजिस्ट लोकविजय अधिकारी भन्छन्, “प्लेटहरू सर्ने कारणले जुन दुई सेन्टिमिटरका दरले नेपालभित्र प्रतिवर्ष सञ्चित हुने शक्ति हो, त्यो ५०० वर्ष यता भूकम्प नगएका कारणले जम्मा भएर बसेको छ। त्यसमा आठ म्याग्निट्यूड वा त्योभन्दा बढीको भूकम्प निम्त्याउन सक्ने शक्ति छ।”

  13. जाजरकोटमा २५० भन्दा बढी परकम्प, अहिले पनि परकम्प गइरहेको छ

    शुक्रवार मध्यराति ठूलो जनधनको क्षति गराउने गरी जाजरकोट जिल्लामा गएको विनाशकारी भूकम्पयता त्यस क्षेत्रमा साना र मझौला भूकम्पहरू आउने क्रम जारी रहेको अधिकारीहरूले बताएका छन्।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् चिन्तन तिम्सिनाका अनुसार सो क्षेत्रमा शुक्रवार राति यता ४ म्याग्निट्यूड भन्दा माथिका ६ वटा परकम्प गएका छन्।

  14. ‘जति महँगो परे पनि’ भूकम्पका घाइतेको सरकारले नि:शुल्क उपचार गर्ने, मृतकका परिवारलाई रु. दुई लाख

    आइतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सबै घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ। १५७ जनाले ज्यान गुमाएको भूकम्पमा परेर ३५० भन्दा धेरै घाइते भएको सरकारी विवरण छ।

    बैठकपछि सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले मृतकका परिवारलाई तत्कालका लागि प्रतिपरिवार दुई लाख रूपैयाँ दिने निर्णय गरेको बताइन्।

    उनले सुर्खेतलाई केन्द्र बनाएर खोज उद्धार र राहतमा एकद्वार प्रणाली अपनाउने निर्णय गरिएको बताइन्।

    उनले मित्रराष्ट्रहरूबाट प्राप्त सहयोग स्वीकार्ने निर्णय समेत गरिएको बताइन्।

    "क्षतिग्रस्त ठाउँको एकीकृत कार्ययोजना बनाएर काम गर्ने निर्णय भएको छ," मन्त्री शर्माले पत्रकारहरूसँग भनिन्।

    "सहरी विकास मन्त्रालयले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण कार्य अघि बढाउने र त्यो काम एक वर्षभित्र पूरा गर्ने निर्णय गरिएको छ।"

    त्यसैगरी घाइतेको उपचारका सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बस्नेतले पत्रकारहरूसँग भने: "हामीले सबै अस्पताललाई सूचना जारी गरिसक्यौँ… यो नि:शुल्क हुन्छ, जति महँगो परे पनि।"

    बस्नेतका अनुसार अस्पतालहरूलाई उपचार वापतको प्रतिवेदन स्वास्थ्य मन्त्रालयलाई पेस गर्न भनिएको छ।

    काठमाण्डूमा समेत वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, गङ्गालाल, त्रिवि शिक्षण अस्पताल लगायतलाई तयारी अवस्थामा राखिएको उनले बताए।

  15. भूकम्प

    शुक्रवार रात ११ः४७ मा जाजरकोट केन्द्र भएर गएको भूकम्पका सम्बन्धमा ताजा विवरणहरू हामी प्रस्तुत गरिरहेका छौँ।