तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

नेपाल निर्वाचनः पछिल्लो मतगणना विवरण

प्रदेश तथा सङ्घीय निर्वाचनको मतगणना परिणाम आउँदै गर्दै चर्चित निर्वाचन क्षेत्रहरूमा धेरैको ध्यान केन्द्रित भैरहेको छ।

लाइभ कभरेज

  1. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसम्बन्धी देशभरिका गतिविधिका ताजा विवरणका साथ सुरु भएको हाम्रो लाइभ अपडेट आजलाई यति नै। प्रिय पाठकहरूलाई धन्यवाद दिँदै हामी प्रत्यक्ष अपडेटबाट बिदा चाहन्छौँ।

  2. प्रदेशसभातर्फ हालसम्म को कहाँबाट विजयी भए?

    सातवटै प्रदेशसभाका लागि अधिकांश स्थानमा अहिले मतगणना जारी छ।

    हालसम्म प्रदेश-१ का पाँच वटा क्षेत्रको अन्तिम नतिजा निर्वाचन आयोगले औपचारिक रूपमा सार्वजनिक गरेको छ।

    उक्त प्रदेशमा हालसम्म तीन स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने दुई स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेदार विजयी भएका छन्।

    त्यस्तै ९ स्थानमा कांग्रेस र २० स्थानमा नेकपा एमालेका उम्मेदवार अगाडि छन् भने माओवादीका उम्मेदवार चाहिँ ५ स्थानमा मात्र अगाडि छन्।

    त्यस्तै नेकपा एकीकृत समाजवादी तीन स्थानमा अगाडि देखिएको छ।

    मधेस प्रदेशमा ८ क्षेत्रको अन्तिम नतिजा निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।

    उक्त क्षेत्रमा जनमत पार्टी तीन स्थानमा विजयी भएको छ भने कांग्रेस, जसपा, माओवादी, लोसपा र अन्य एक-एक स्थानमा विजयी भइसकेका छन्।

    जनमत पार्टी दुई स्थानमा अगाडि छ भने कांग्रेस ११, जसपा ८, माओवादी ६, लोसपा ४ र अन्य २० स्थानमा अगाडि छन्।

    वाग्मती प्रदेशमा नेपाली कांग्रेस ८ स्थानमा विजयी भएको छ भने १२ स्थानमा अगाडि छ।

    नेकपा एमाले ४ स्थानमा विजयी भएको छ भने ११ स्थानमा अगाडि छ।

    त्यस्तै माओवादी एक स्थानमा विजयी तथा ८ स्थानमा अगाडि छ भने नेकपा एकीकृत समाजवादी एक स्थानमा विजयी र चार स्थानमा अगाडि छ भने राप्रपा ६ स्थानमा अगाडि छ।

    त्यस्तै अन्य दुई स्थानमा अगाडि रहेका छन्।

    गण्डकी प्रदेशमा कांग्रेस तीन स्थानमा विजयी भएको छ भने १० स्थानमा अगाडि छ।

    त्यस्तै एमाले दुई स्थानमा विजयी र ९ स्थानमा अगाडि, माओवादी १ स्थानमा विजयी र चार स्थानमा अगाडि तथा नेपाल समाजवादी पार्टी एक स्थानमा अगाडि रहेका छन्।

    उक्त क्षेत्रमा एकजना स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

    लुम्बिनी प्रदेशमा एमाले १२ स्थानमा अगाडि छ भने दुई स्थानमा विजयी भइसकेको छ।

    त्यहाँ कांग्रेस एक स्थानमा विजयी र ११ स्थानमा अगाडि छ भने जसपा एक स्थानमा विजयी भएको छ।

    माओवादी एक स्थानमा विजयी भएको छ भने तीन स्थानमा अगाडि छ अनि एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

    त्यसबाहेक अन्य दलका ८ उम्मेदवार पनि अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ।

    कर्णाली प्रदेशमा कांग्रेस दुई स्थानमा विजयी र चार स्थानमा अगाडि छ भने एमाले दुई स्थान तथा माओवादी ६ स्थानमा अगाडि छ।

    सुदूरपश्चिम प्रदेशमा कांग्रेस एक स्थानमा विजयी भएको छ भने ६ स्थानमा अगाडि रहेको छ।

    माओवादी एक स्थानमा विजयी र चार स्थानमा अगाडि रहेको छ भने एमाले दुई स्थानमा अगाडि छ।

    त्यस्तै नेकपा समाजवादी एक, नागरिक उन्मुक्ति दुई र अन्य एक स्थानमा अगाडि छन्।

  3. काठमाण्डूमा घण्टीले चार सिट जित्नुको अर्थ के हो

    रवि लामिछानेको नेपाल स्वतन्त्र पार्टीले राजधानी काठमाण्डूमा प्रतिनिधिसभातर्फ चार सिट जित्ने देखिएको छ।

    यो परिणाम नेपाली राजनीतिका लागि एउटा महत्त्वपूर्ण प्रस्थानविन्दु बन्न सक्ने राजनीतिक विश्लेषकहरूले बताएका छन्।

    यसै वर्षको सुरुमा काठमाण्डू महानगरको मेयरमा ३१ वर्षका स्वतन्त्र उम्मेदवार बालेन शाह निर्वाचित भएका थिए।

    अहिले संसदीय चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसद्हरू निर्वाचित हुनुलाई वैकल्पिक राजनीतिक दलको उदयका रूपमा विज्ञहरूले अर्थ लगाइरहेका छन्।

  4. झापामा विश्वप्रकाश जितको एकदम नजिक

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका लागि तेस्रो पटकको प्रयासमा बल्ल प्रतिनिधिसभामा प्रवेश गर्ने मौका जुर्ने निश्चित देखिएको छ।

    २०७० सालदेखि लगातार झापा १ बाट उम्मेदवारी दिएका तर दुई पटक हारेका शर्मा तेस्रो पटकमा जित नजिक पुगेका हुन्।

    २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा उनी नेकपा एमालेका स्थानीय नेता रविन कोइरालासँग पराजित भएका थिए।

    नेविसंघको राजनीतिबाट नेपाली राजनीतिको मूलधारमा छिरेका शर्माका लागि पहिलो पटकको चुनावमा नेकपा एमालेका स्थानीय नेता 'तगारो' बनिदिए।

    देश संघीय संरचनामा गएपछिको पहिलो संघीय निर्वाचनमा पुनः उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बने।

    त्यो बेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीले उनको संसदको यात्राको बाटो छेकिदिएका थिए।

    यस पटक चाहिँ उनी नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई पराजित गर्दै संसद पुग्ने पक्का देखिएको हो।

    मतगणना सकिनुअघि नै शर्माको जित निश्चित भइसकेको छ।

    अन्तिम मतपरिणाम आउन अघि नै गन्न बाँकी मत शर्मा र खरेलबीचको मत अन्तरभन्दा कम छ।

    ११ हजार ४ सय २३ मत गन्न बाँकी रहेको अवस्थामा शर्मा एमालेका उम्मेदवार अग्निप्रसाद खरेल भन्दा १२ हजार ६ सय ८० मत अगाडि रहेका छन्।

    गगनलाई प्रधानमन्त्री प्रस्ताव गर्ने

    कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापा काठमाडौं ४ बाट निर्वाचित भएलगत्तै शर्माले सामाजिक सञ्जालमा बधाई दिँदै थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने बताए।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, "जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ।"

    थापाले पनि निर्वाचित भए लगत्तै आफू अब संसदीय दलको निर्वाचनमा लाग्ने बुधबार बताएका थिए।

    थापालाई संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्ने शर्माको बाटो अब खुलेको छ।

  5. 'देश र मधेशको राजनीति हाँक्ने दिशामा छौँ': सिके राउत, प्रतिनिधिसभाको लागि सप्तरी २ बाट निर्वाचित सिके राउतले आफ्नो जितबारे के भने?

    सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको निम्ति नवनिर्वाचित नेता चन्द्रकान्त (सिके) राउतले अब आफू देश र मधेश दुवै हाँक्ने दिशातर्फ अघि बढेको बताएका छन्।उनले आफूसँगै आफ्नो पार्टीको जितलाई “राजनीतिक परिवेशमै नयाँ युगको सुरुवात”को सङ्ज्ञा दिँदै भने,”पुराना दलहरूले मधेशका जनतालाई सेवा प्रवाह गर्ने विषयमा ध्यान दिएनन्। अब हामी नयाँ पिँढीले नयाँ तरिकाबाट ती आवश्यकताहरू पूरा गर्छौँ।”

    आफ्नो दलले शिक्षा, स्वास्थ्य, रोजगारीलाई मूल मुद्दा बनाएको र किसानका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेर निर्वाचनमा होमिएका उनको कथन छ।

    “हामीले सङ्घीय सरकारमार्फत वा प्रदेश सरकार बनाएर मधेशको मुद्दा सम्बोधन गर्छौँ।“

  6. देउवा निर्वाचित, अरू शीर्ष नेता कोही अगाडि कोही पछाडि

    प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुराबाट निर्वाचित भएका छन्।

    उनले २५५३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३०४२ मत प्राप्त गरे।

    पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ‌ओलीले झापा क्षेत्र नम्बर ५ मा फराकिलो अग्रता कायम गरेका छन्।

    सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्षपकमल दाहाल प्रचण्डले पनि फराकिलो मत अन्तर सहित अग्रता लिइरहेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि चितवन २ मा अग्रता बढाउँदै लगेका छन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिस्पर्धी कृष्ण सिटौलासँग मत अन्तर बढाउँदै लगेका छन्।

    अघिल्लो संसद्को चौथो ठूलो शक्ति नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि रौतहट १ मा निरन्तर अग्रता कायम गरेका छन्।

    यसअघिको संसदमा पाँचौँ ठूलो दलको रूपमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग निकै पछि परेका छन्।

    मधेशको दोस्रो ठूलो प्रभावशाली शक्तिमा रूपमा रहेको लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुर पनि प्रारम्भिक मतपरिणाममा पछि छन्।

  7. मतदानमा खटिएका कर्मचारी बिचबाटोमा अलपत्र

    कर्णालीको माथिल्लोडोल्पामा मतदानका लागि खटिएका कर्मचारीहरू बिचबाटोमा अलपत्र अवस्थामा परेको मतदानमा खटिएका एकजना कर्मचारी कमल बोहोराले बताएकाछन्।

    मतपेटिका हेलिकप्टरबाट डोल्पा सदरमुकाम दुनैतर्फ लगिएको भए पनि मतदानमा खटिएका १३० जना भन्दा बढी कर्मचारी डोल्पाको सालदाङ भन्ने ठाउँमा रहेको जानकारी उनले दिएका छन्।

    सदरमुकाम आउनको लागि ५००० हजार मिटरभन्दा अग्ला दुई वटा हिमाली क्षेत्र छिचोल्न पर्ने भएको र हिउँ बाक्लो परेकाले आउन नसकेको उनले बताएका छन्।

    उक्त स्थानमा ११ वटा मतदान केन्द्रका लागि कर्मचारीहरू खटिएका थिए।

    कर्मचारीलाई आवश्यक पर्ने रासन पानी समेत नभएकोर चिसोका कारणा आधा कर्मचारी बिरामी परेको हुनाले समस्या भइरहेको बोहोराले टेलिफोन मार्फत् जानकारी दिए।

    माथिल्लो डोल्पाका मतपेटिका आज मात्र सदरमुकाम ल्याएर उक्त हेलिकप्टर हुम्ला गएको हुनाले हुम्लाको मतपेटिका सदरमुकाम सिमिकोट ल्याइसकेपछि मात्र कर्मचारी ल्याउने तयारी भएको डोल्पाका प्रमुख जिल्लाअधिकारी बेधनिधी अधिकारीले जानकारी दिए।

    उनका अनुसार त्यहाँ रहेका कर्मचारीलाई बिहीवार मात्र उद्धार गर्ने तयारी भएको हुनाले नआत्तिएर एकै ठाउँमा बस्न भनिएको छ।

    हेलिकप्टरको विकल्प अरू नभएको हुनाले उनीहरूलाई ल्याउनका लागि केही पर्खनु पर्ने अवस्था आएको उनले जानकारी दिए।डोल्पा र हुम्लाको मतगणना पनि आजबाट शुरू हुने भएको छ।

    डोल्पामा ४१ जना कर्मचारी, ४४ जना नेपाल प्रहरी र ४८ जना म्यादी प्रहरी गरि जम्मा १३३ जना मानिसहरू बिच बाटोमा अलपत्र परेको बताइएको छ। त्यस मध्येका ५ जना कर्मचारी बिरामी परेकाले उनीहरूलाई छिटो उद्धार गर्न भनिएको छ।

  8. कांग्रेसपछि एमाले, तेस्रोमा प्रत्यक्ष समानुपातिक दुवै तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी, प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिनुलाई धेरैले चासोपूर्वक हेरेका छन्।

    प्रतिनिधि सभा निर्वाचनमा अहिलेसम्मको मतपरिणाममा नेपाली कांग्रेस प्रत्यक्षतर्फ सात स्थानमा जितसहित पहिलोस्थानमा छ।

    निर्वाचन आयोगका अनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने अहिलेसम्म एक स्थानमा मात्रै प्रत्यक्षतर्फ जित हासिल गरेको छ। अग्रता लिनेमा कांग्रेस र एमाले उत्तिनै सङ्ख्या ४१ स्थानमा अगाडि छन्।

    त्यस्तै एक एक स्थान जित्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन्।

    समानुपातिक तर्फ प्रतिनिधि सभा चुनावमा प्रमुख प्रतिपक्षी नेकपा एमाले करिब २ लाख ३० हजार मतसहित अगाडि रहेको छ।

    दोस्रोमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म २ लाख ७ हजार भन्दा बढी मत ल्याएको छ।

    त्यस्तै पहिलो पटक चुनावमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी १ लाख ५ हजार मतसहित तेस्रो स्थानमा रहेको छ।

    माओवादी केन्द्र ९५ हजार मतसहित चौथो र ५४ हजार मतसहित राप्रपा पाँचौँ स्थानमा रहेको छ।

    निर्वाचन आयोगको यो आधिकारिक विवरण भए पनि विभिन्न स्थानमा मतगणना सकिँदा कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू घोषणा हुने क्रम जारी छ।

  9. हेलिकप्टर नआउँदा हुम्लाका केही गाउँपालिकाका मतपेटिका अझै पुगेनन् गणनास्थलमा

    हुम्लाका चार वटा गाउँपालिकाका मतपेटिकाहरू चुनाव सम्पन्न भएको चार दिन भइसक्दा पनि मतगणनास्थल सिमिकोट पुगेका छैनन्।

    प्रदेश सभा क अन्तर्गत पर्ने चंखेली, सर्केगाड, अदानचुली र ताजाकोट गाउँपालिकाका ३४ वटा मतदान केन्द्रका १३६ वटा मतपेटिकाहरू सर्केगाड गाउँपालिकामा थन्किएका छन्।

    ढुवानीको लागि तीन दिनदेखि हेलिकप्टरको प्रतीक्षा गर्दा पनि बुधवारसम्म पनि हेलिकप्टर नपाएको एकजना मतदान अधिकृत रविन्द्र शाहीले जानकारी दिएका छन्।

    समयमै मतपेटिकाहरू सदरमुकाम नपुग्दा मतगणनामा ढिलाइ भइरहेको छ।

  10. बीबीसी नेपाली सेवाको लाइभ पेजमा स्वागत छ।

    आइतबार भएको निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक प्रक्षेपण तथा प्रवृत्ति देखा पर्दै छन्। मतपरिणाम तथा निर्वाचनसँग सम्बन्धित विभिन्न जानकारीहरू हामी यहाँ प्रस्तुत गर्नेछौँ।