तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

ब्रिटिश राजकुमार फिलिप एक महिनापछि अस्पतालबाट फिर्ता

ब्रिटिश राजकुमार फिलिप अस्पतालका स्वास्थ्यकर्मीको हेरचाहबाट एक महिनापछि मुक्त भएका छन्।

लाइभ कभरेज

  1. पचपन्न वर्षमाथि उमेर समूहका व्यक्तिलाई कोभिड खोप दिने कार्यक्रम स्थगित

    खोपको उपलब्धता सुनिश्चित भएपछि मात्रै ५५ वर्षमाथि उमेर समूहका व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराइने सरकारले जनाएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भारतबाट खरिद सम्झौता गरिएको खोप उपलब्ध भएपछि मात्रै दोस्रो प्राथमिकताको दोस्रो चरणमा रहेका व्यक्तिहरूलाई खोप दिइने बताए।

    ६५ वर्षभन्दा माथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराउने समयसीमा मङ्लवार सकिएको छ।

    उक्त समयसीमा सकिएपछि अर्को दश दिन ५५ वर्षदेखि ६४ वर्षको उमेर समूहका व्यक्तिलाई खोप दिने बताइएको थियो।

    उक्त उमेर समूहको जनसङ्ख्या लगभग १८ लाख रहेको बताइन्छ। हालसम्म १६ लाखभन्दा बढीले खोप लगाइसकेको बताइएको छ।

    नेपालले अहिलेसम्म लगभग साढे २३ लाख खोप भित्र्याएको छ।

    खोपको पहिलो मात्रा लिएका व्यक्तिलाई उपलब्धता सुनिश्चित गरेर दोस्रो खोप लिन सूचना आह्वान गरिने अधिकारीहरूले बताएका छन्।

  2. राजकुमार फिलिप अस्पतालबाट बिदा

    ब्रिटिश राजकुमार फिलिप अस्पतालका स्वास्थ्यकर्मीको हेरचाहबाट एक महिनापछि मुक्त भएका छन्।

    बिसन्चो भएपछि महारानीका ९९ वर्षीय पति राजकुमार फिलिप फेब्रुअरी १६ मा किङ एडवर्ड अस्पतालमा भर्ना भएका थिए।

    त्यहाँबाट उनलाई अर्को अस्पतालमा सारिएको थियो जहाँ उनको मुटुको उपचार गरिएको थियो।

    यसपालि अस्पतालमा बसेको २८ रात उनको जीवनकै सबैभन्दा लामो अस्पताल बसाइ हो।

    उनी किन भर्ना गरिए भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन। तर राजदरबारले त्यो कोरोनाभाइरससँग सम्बन्धित नरहेको बताएको थियो।

  3. मोजाम्बिकमा कट्टरपन्थी समूहद्वारा बालहत्या

    सेभ द चिल्ड्रनले मोजाम्बिकको उत्तरी प्रान्त काबो डेलगाडोमा मुस्लिम कट्टरपन्थी विद्रोहीहरूले बालबालिकाको पनि घाँटी रेटेर हत्या गरिरहेको बताएको छ।

    एक महिलाले सेभ द चिल्ड्रनलाई आफ्नो १२ वर्षीय छोराको हत्या भएको अन्य छोराछोरीसँग लुकेर बसेको स्थानबाट हेर्नुपरेको बताएकी छन्।

    सन् २०१७ मा विद्रोही गतिविधि सुरु भएयता त्यहाँ २,५०० भन्दा बढी मारिएको र सात लाखभन्दा बढी मानिस त्यहाँबाट भागेको बताइको छ।

    विद्रोही समूह इस्लामिक स्टेट आईएससँग सम्बन्ध राख्ने बताइएको छ।

    अन्य एक आमाले आफ्नो ११ वर्षीय छोरा मारिएको बताएकी छन्।

    सेभ द चिल्ड्रनले त्यहाँबाट भागेर आएका व्यक्तिहरूले दिएको विवरणका आधारमा आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो।

  4. लिओनेल मेसीको अर्को कीर्तिमान

    लिओनेल मेसीले बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने चाभीको कीर्तिमानसँग बराबरी गरेका छन्।

    बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल पनि गरेका छन्।

    होएस्काविरुद्धको स्पेनिश प्रीमीअर लीग खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गरेका थिए।

    बार्सिलोनाले ४-१ ले जितेको सो खेलपछि सो क्लब लीगको अङ्गतालिकामा दोस्रो स्थानमा उक्लेको छ।

    समान २७ खेल खेलेको एट्लेको मड्रिडको ६३ अङ्क छ भने बार्सिलोनाको ५९ अङ्क छ। रेयाल मड्रोड भने ५७ अङ्कमा सीमित छ।

    मेसीले सन् २००४ देखि बार्सिलोनाका लागि खेल्न थालेका हुन्। उनले १० पटक स्पेनिश लीग र चार पटक च्याम्पियन्स लीग जित्नुका साथै अन्य २० विजेता ट्रफी जितेका छन्।

  5. फेसबुकले अस्ट्रेलियामा न्यूज कोर्पलाई समाचारका लागि पैसा दिने

    फेसबुक अस्ट्रेलियामा रुपर्ट मर्डकको न्यूज कोर्पलाई स्थानीय पत्रिकाका समाचारको लागि पैसा तिर्न तयार भएको छ।

    अस्ट्रेलियाले सामाजिक सञ्जाललाई समाचारका लागि पैसा तिराउने विवादास्पद कानुन पारित गरेको केही सातापश्चात् दुई पक्षबीच सम्झौता भएको हो।

    न्यूज कोर्पले यो सम्झौताको रकम खुलाएको छैन। उसले गत महिला गुगलसँग पनि यस्तै खालको सम्झौता गरेको थियो।

    यो सम्झौतामा अस्ट्रेलियामा न्यूज कोर्पले उत्पादन गर्ने सबै सामग्रीलाई समेट्छ। फेसबुकका शेयर गरिने सबै समाचारहरूमा यो सम्झौता लागु हुनेछ।

    अस्ट्रेलियाको पत्रिका वितरणको कुल ७५ प्रतिशत भाग न्यूज कोर्पद्वारा सञ्चालित पत्रिकाहरूले ओगट्छन्।

  6. अमेरिकालाई उत्तर कोरियाका नेता किम जङ-अनकी प्रभावशाली बहिनीको चेतावनी

    उत्तर कोरियाली नेता किम जङ-अनकी प्रभावशाली बहिनीले अमेरिकालाई 'दुर्गन्ध ननिकाल्न' चेतावनी दिएकी छन्।

    किम यो-जङले अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरिरहँदा यस्तो बताएकी हुन्।

    सरकारी सञ्चारमाध्यमका अन्तर्वार्ता दिँदै उनले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको पनि आलोचना गरिन्।

    अमेरिकी सरकारले उत्तर कोरियासँग कूटनीतिक सम्पर्कका लागि हप्तौँदेखि प्रयास गरे पनि त्यो सफल नभएको बताएको छ।

    उत्तर कोरियाले अहिलेसम्म बाइडनको कार्यकाल सुरु भएको विषयमा बोलेको छैन।

    "समुद्र पारिबाट हाम्रो जमिनमा बारुदको गन्ध फैलाउन सङ्घर्ष गरिरहेको अमेरिकाको नयाँ प्रशासनलाई एउटा सुझाव: आउने चार वर्ष शान्तिपूर्वक जिउने इच्छा छ भने पहिलो चरणमै दुर्गन्ध फैलाउने कामबाट परै रहनु ठिक," उनलाई उद्धृत गर्दै रोडोङ सिन्मून पत्रिकाले लेखेको छ।

  7. शुभ प्रभात। नमस्कार।

    नमस्ते। बीबीसी न्यूज नेपालीको दैनिक लाइभ पेजमा स्वागत छ।

    यो पेजमा हामी आज मङ्गलवार दिनभरि महत्त्वपूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय घटना र समाचारहरू अपडेट गर्नेछौँ।

    आज दिउँसो १ बजे संसद्‌को तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्दै छ भने राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे समसामयिक राजनीतिबारे सर्वदलीय छलफल राखेकी छन्।