को बन्ला एनपीएलको सर्वोत्कृष्ट खेलाडी

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ५ मिनेट

नेपाल प्रिमिअर लीग एनपीएलको पहिलो संस्करण चर्चामा आउनुका थुप्रै कारण छन्।

दर्शकको खचाखच उपस्थिति, विदेशी खेलाडीको आगमन र स्तरीय भिडन्त मात्र होइन। प्रतियोगितामा सर्वोकृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले पुरस्कारमा कार पाउने घोषणा पनि खुब चासोको विषय हो।

कीर्तिपुर मैदानमा सजाएर राखिएको कार कसले पुरस्कारस्वरूप पाउला भनेर प्रत्येक खेलपछि त्यसको चर्चा र हिसाबकिताब हुने गर्छ।

नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिन लागेको कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको जनाइएको छ।

नेपाली खेलकुदमा व्यक्तिगत खेलाडीलाई प्रदान गर्न लागिएको यो अहिलेसम्मको ठूलो पुरस्कार हुने छ। नेपाली खेलाडीमध्येका उत्कृष्टलाई दिइने भएकोले विदेशी खेलाडीहरू यो पुरस्कारको दौडमा सामेल छैनन्।

कोको दाबेदार छन्?

प्रतियोगिताको एक खेल मात्र बाँकी छँदा कतिपयले दाबेदार खेलाडीको विश्लेषण गर्न थालिसकेका छन्।

यो दौडमा केही खेलाडीहरूले राम्रो प्रदर्शन गरे पनि लीगको समाप्तिसँगै सम्भावना गुमाइसकेका छन् त कोही सम्भावनाको दौडमा अगाडि छन्।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी र जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशी कार पाउने दौडमा अगाडि देखिएका क्रिकेट विश्लेषकहरू बताउँछन्।

यसको कारण के पनि हो भने कार पुरस्कारको दौडमा फाइनल खेलसम्मको गणना हुन्छ।

र यी दुई खेलाडीले अझै एक खेलमा प्रदर्शन थपेर आफ्नो दाबेदारी बढाउने मौका छ। अरू टोलीका दाबेदार खेलाडीहरूले यो मौका गुमाइसकेका छन्।

दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम रोयल्स)

कागजमा योजना बुने जसरी नै ऐरीले सही ढङ्गले प्रतियोगिताको सुरुआत गर्दै अन्त्यसम्म टोलीलाई उही रफ्तारमा दोहोर्‍याउन भूमिका खेले।

कप्तान ऐरीको प्रदर्शनमा 'इम्प्याक्ट' देखिन्छ। त्यसमा उनी उत्साहित पनि हुने गर्छन्।

क्वालिफायर वानमा जनकपुरका मुख्य खेलाडी लाहिरु मिलान्थालाई एलबीडब्ल्यूको धरापमा फसाएपछि ऐरी खुशीले कम्ता नाचेका थिएनन्।

ब्याटिङ नचले बलिङ, बलिङ नचले फिल्डिङ जताततै आफ्नो छाप छोड्ने उनको विशेषता एनपीएलमा पनि देखियो।

जारी एनपीएलमा उनी आवश्यकताअनुसार ब्याटिङमा आए। पहिलो खेलमा विराटनगर किङ्गसविरुद्ध २४ बलमा अविजित ५७ रन बनाएर उनले आफ्नो मनसाय मैदानमा पोखिसकेका थिए।

प्रतियोगितामा उनले २१८ रन बनाइसकेका छन्, जुन शीर्ष रनकर्ताको सूचीमा छैटौँ नम्बरमा छ।

त्यस्तै उनले ८ विकेट लिइसकेका छन्। उनले तीनजना खेलाडीलाई त रन आउट नै गरे।

एकै खेलाडीमा यो 'कम्बो' पाउन कठिन मानिन्छ। फाइनलमा यो रेकर्डमा थपथाप गर्ने अवसर उनलाई अझै छ।

ललितनारायण राजवंशी (जनकपुर बोल्ट्स)

एनपीएलको पहिलो खेलको पहिलो बल फ्याँक्दा राजवंशीले विराटनगरका लोकेश बमलाई बोल्ड गरिदिए।

राजवंशीको विशेषता नै हो: नयाँ बलमा उनी विपक्षी ब्याटरलाई मजाले झुक्याउने गर्छन्।

जारी एनपीएलमा उनले १६ विकेट लिएर प्रतिद्वन्द्वी सुदूरपश्चिमका स्कट कुगेलेनसँग संयुक्त रूपमा शीर्ष स्थानमा छन्।

स्पिन बलर राजवंशीको घाटा के हो भने उनी विशुद्ध रूपमा बलर हुन्। त्यसैले ब्याटिङमा उनको योगदान देखिँदैन।

तर आवश्यक परेको बेला विकेट लिने र रन खुम्च्याउने काममा आफ्नो भूमिकामा राजवंशी अत्यन्त प्रभावकारी देखिएका छन्।

ललितले सुदूरपश्चिमविरुद्धको एकबाहेक सबै खेलमा विकेट लिएका छन्। टोली फाइनलमा पुग्नुमा उनको मुख्य भूमिका छ।

काठमाण्डूविरुद्ध ४ ओभरमा ८ रन खर्चिँदै ३ विकेट लिनु एनपीएलको उत्कृष्ट प्रदर्शन थियो।

पोखरा एभर्न्जर्स र विराटनगर किङ्गसविरुद्ध पनि राजवंशीले ३-३ विकेट लिएका थिए।

फाइनलमा प्रभाव देखाउने एउटा मौका राजवंशीसँग छ। मानौँ फाइनलमा ५ विकेट लिँदै टिमलाई ट्रफि दिलाउन सके उनले कारको बाजी मार्न सक्छन्।

रोहित पौडेल र अन्य

अर्का दाबेदारको सूचीमा लुम्बिनी लायन्स तथा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नाम आउँछ।

अझै पनि नेपाली खेलाडीहरूमा पौडेल सर्वाधिक रन बनाउने खेलाडी हुन्।

दुई सय ७९ रन बनाएका उनी नेपाली खेलाडीमाझ शीर्ष र समग्रमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा छन्। उनले ८ विकेट पनि लिएका छन्।

तर टोलीलाई शीर्ष चारमा राख्न नसक्नु तथा आठ टोलीको प्रतिस्पर्धामा लुम्बिनी पुछारमा पुगेकोले यसको नमजाको असर पौडेलको दौडमा परेको देखिन्छ।

लीगको सुरुआतमा जनकपुर बोल्ट्सका कप्तान अनिल शाहले दाबेदारी देखाएका थिए।

तर केही खेलमा चल्न नसकेका उनी पछिल्लो समय चोटले मैदानबाहिर रहनुपरेपछि दौडबाट लगभग बाहिरिसकेका छन्।

नपत्याउँदो तरिकाले चितवन राइनोजका युवा कप्तान कुशल मल्ल यस दौडमा अगाडि आइसकेका थिए।

जनकपुर बोल्ट्सविरुद्ध उनको आक्रामक अर्धशतक र टोलीलाई क्वालिफायरमा पुर्‍याउन भूमिका खेलेका उनी उत्कृष्टको सूचीमा थिए।

तर इलिमिनेटर राउन्डमा उनले टोलीलाई अगाडि बढाउन सकेनन्। शुरुआती खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले सोचेजस्तो प्रदर्शन गर्न सकेनन्।

तर उनको नेतृत्वमा टोलीले गजबको कम ब्याक गर्दै शीर्ष ४ भित्र छिरेका थिए। फाइनल पुग्न सकेको भए उनको पनि दाबेदारी बलियो हुन सक्थ्यो।

समग्रमा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू नै उत्कृष्ट खेलाडीको दौडमा अगाडि रहे।

उत्कृष्ट खेलाडीको छनोट स्टार स्पोर्टसको कमेन्ट्री टीम तथा क्यानको प्राविधिक टोलीले गर्ने बताइएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।